सानो छँदा मलाई साइकल चलाउन असाध्यै मन पर्थ्यो तर मसँग साइकल थिएन। मेरो बुवासँग साइकल थियो वा साथीसँग मात्र साइकल थियो, यो कहानी प्रायः सबै बालकको हुनसक्छ तर मेरो साइकलको कहानी पूरै फरक छ।
मेरो बुवाको हिरो जेट ब्रान्डको २४ इन्चको अलि ठुलो साइकल थियो। करिब १५/१७ वर्ष पुरानो बुवाको त्यो साइकल एक/दुई महिना पहिले मात्रै किनेको जस्तो देखिन्थ्यो। बुवाको एक गज्जबको बानी थियो, जतन र सरसफाइ। त्यही कारण बुवाको साइकल एकदम नयाँ देखिन्थ्यो।
बुवा बिहानीपख साइकल चलाउनुभन्दा पहिले सानो बासको लट्ठीमा पुराना कपडाहरूका टुक्रा बाँधी बनेको झुप्पोले साइकलको सरसफाइ गर्नुहुन्थ्यो अनि प्रयोग गरिसकेपछि पनि। त्यो साइकल कुनै ठाउँमा ठोक्किएको वा कोरिएको थिएन। यहाँसम्म कि साइकलमा लागेका स्टिकरहरू पनि लगभग जस्ताको त्यस्तै थिए।
बुवाको साइकल जतन र सरसफाइको उदाहरण हाम्रो गाउँभरि मात्र नभई १५ किलोमिटर टाढा भारतीय सिमाना बजारसम्म थियो। कहिलेकाहीँ बुवा हतारमा भएका बेला त्यो साइकल पुछ्ने जिम्मा मेरो हुन्थ्यो तर मभन्दा करिब ४/५ वर्ष नै जेठो साइकललाई मेरो सरसफाइ मन पर्थ्यो कि पर्थेन थाहा भएन तर बुवालाई कत्ति पनि मन पर्थेन र गाली खानु पर्थ्यो।
यो त थियो बुवाको साइकलको भौतिक विशेषताहरू तर मसँग बुवाको साइकलको फरक नाता थियो, त्यो हो मानसिक। बुवाको साइकल र मेरो मानसिक नाता अचम्मको थियो। बुवाको साइकल जबसम्म घरमा देखिन्थ्यो तबसम्म म अनुशासित हुन्थेँ। खेल्न जाने समयभन्दा पहिले निस्कँदैन थिएँ, बिहान उठ्ने समयमा उठिसक्थेँ। राति सुत्ने समयमा सुतिसक्थेँ वा पहिले सुत्दिन थिएँ। किनकि बुवाको साइकल बुवासँग मात्र घर बाहिर जान्थ्यो वा भन्नु पर्दा साइकल घरमा हुँदा बुवा घरमै हुनुहुन्छ भनी बुझ्नु पर्थ्यो।
बुवाको समय सारणी गज्जबको थियो। बिहान ढिलोमा ५ बजे उठ्नु पर्ने अनि राति ढिलोमा १० बजे। यस बिचमा बिहान स्वास्थ्यका लागि २ घण्टा खेतमा काम गर्नुपर्ने, १ घण्टा जति पढ्नु पर्ने र विद्यालय जानुपर्ने हुन्थ्यो। बेलुकी विद्यालयबाट फर्केर १ घण्टा खेल्नुपर्ने, १ वा २ घण्टा कामको छाप हेरेर खेतमा काम गर्नुपर्ने, घरमा सन्ध्याकालीन अनिवार्य आरती गर्नुपर्ने र आमाले खाना नपकाउँदासम्म पढ्नु पर्ने।
बुवाको साइकल घरमा देखिनु भनेको बुवा घरमै बस्नु भएको प्रतिबिम्बित हुन्थ्यो। जब घरमा साइकल हुन्थ्यो बुवा घरमा हुनुहुन्थ्यो भन्ने बुझिन्थ्यो। विद्यालयबाट घर आउँदा बाटोबाटै मेरो पहिलो नजर बुवाको साइकल राख्ने ठाउँ तिर पुग्थ्यो। यदि साइकल घरमा हुन्थ्यो भने मन भारी हुन्थ्यो र मेरो जीउ डाल अनि छाल नै अनुशासित हुन्थ्यो। यदि साइकल नै हुन्थेन भने म प्रफुल्ल मुद्रामा फरक तरिकाले घर छिर्थेँ।
बुवाको साइकल घरमा नहुँदा हामी भाइबहिनीको समय सारणी नै फरक हुन्थ्यो। हाम्रो समय सारणीमा कुनै बन्देज हुँदैन थियो र त्यो समयअनुसार चल्थेन। बुवाको साइकल नभएको बेला समय आफ्नोअनुसार चल्थ्यो अनि हामी आफूअनुसार। जसका कारण १० बजे सुत्नु पर्ने हामी कहिले ८ त कहिले कुरा गर्दा गर्दै १२ बजे सुत्ने गर्थेँ। जसका कारण विद्यालयमा ढिला पुग्ने, गृहकार्य नगरेकोमा शिक्षकको गाली खाने, काम समयमा नहुने जस्ता धेरै समस्या झेल्नु पर्थ्यो।
वास्तवमा भन्नु पर्दा बुवाको साइकल घरमा हुनु हामी अनुशासनमा बस्नु हुन्थ्यो। बुवाभन्दा पनि बुवाको साइकल आफ्नो ठाउँमा भए हामी अनुशासित आफै हुन्थेँ। विद्यालयबाट आउँदा साइकल देखेपछि म बुवाको मुड कस्तो छ भनी दिदी दाइहरूलाई सोध्थेँ। बुवा के गर्दै हुनुहुन्छ, खेतमा हुनुहुन्छ कि कता प्रश्नमाथि प्रश्न सोधेर म बुवाको अनुसार आफूलाई ढाल्थेँ र सिकाएको कामअनुसार हिँड्ने कोसिस गर्थेँ।
अस्ति म बेलुकी घरमा विश्व कप क्रिकेट हेर्दै थिएँ र श्रीमतीज्यू भान्सामा खाना बनाउँदै थिइन् र हाँस्दै मलाई एक कुरा शेयर गर्न थालिन्, 'हजुरको छोरा घर आउँदा हजुरको कार छैन भनेर खुसी हुन्छ अनि उसको चाल नै फरक हुन्छ अनि ल्यापटप हेर्ने कुरा गर्न थाल्छ। कार देख्दा दुखी भएर घर छिर्छ।'
यो सुन्दा मलाई केही याद आएन, सिधै बुवाको साइकल देख्न थालेँ, सोच्न थालेँ। बुवाको त्यो साइकल झल्याँस्स याद आयो अनि आफूलाई १०/१२ वर्षको त्यही बालक सम्झिएँ। एकछिन टोलाएँ, कानले सुन्न छोड्यो खालि टुँको आवाज मात्र आयो।
१०/१५ मिनेट पहिले मात्रै ल्यापटप हेरिरहेको छोरालाई गाली गरी पढ्न पठाएपछि बुढीले यो कुरा बुवादेखि छोरा डराउने भनी तीर हान्ने रूपमा भनेको मैले आभास गरेँ। मेरो दिमागमा छोरा पनि मजस्तै बुवादेखि डराउने भयो कि भन्ने लाग्यो अनि खुसुक्क अध्ययन कोठातिर गएँ र छोरी र छोराको गन्थन लुकेर सुन्न थालेँ।
ऊ आफ्नी दिदीसँग बिस्तारै कुरा गर्दै थियो। भित्रबाट आवाज आउँदै थियो- 'बाबा आज याङ्ग्री मुडमा होइसिन्छ। आज त पूरा होमवर्क नगरेर बाहिर निस्कन्न पाइन्न दिदी।'
बाहिर आएर सोचेँ, कतै म छोराछोरीलाई बढी दबाबमा राख्दै छु कि! तर अनुशासित बनाउन सबैका बुवाले यत्ति त गर्नुपर्छ नै, मैले पनि गरेँ। जीवनमा पछि मेरा छोराछोरीले मेरै जसरी बुवालाई अनुशासन सिकाउन त्यस्तो गरेको हो भनी मलाई सकारात्मक रूपमा याद गर्नेछन् भनी ढुक्क भए र छु पनि।