भर्खर उठेर बिहानको नित्यकर्म सकेर यत्तिकै बसिरहेको थिएँ। त्यसै बेला एलिसाको फोन आयो। मैले भनेँ, 'आज त यति छिटै पुन्टुलाई मेरो याद आएछ।'
उनले भनिन्, 'तपाईंसँग एउटा कुरा गर्नु छ।'
'के हो भन न त।'
'हिजो म चिना देखाउन रम्भा गएकी थिएँ अनि त्यहाँ चिना हेर्ने मान्छेले तिम्रो बिहे त अस्ट्रेलिया वा अमेरिका भएको केटासँग हुन्छ भनेको छ।'
म विदेश नै नजाने सोच बनाएको मान्छे कहिले अस्ट्रेलिया जाने भएँ? फोन राखिसकेपछि म गहिरो सोचाइमा परेँ। विदेश जाने सोचै गरेको छैन मैले। हुन त के थाहा, भाग्यमा अस्ट्रेलिया जान पो लेखेको रहेछ कि! अमेरिकातिर सेटल हुन लेखेको पो रहेछ कि! अहो! रमाइलो पो हुने भयो त भनेर मक्ख परेँ। अनि दिउँसो ड्युटीतिर लागेँ। हप्तामा १/२ पल्ट भौतिक रूपमा भेटघाट पनि हुन्थ्यो। फोनमा त हाम्रो दिनमा ५/७ पल्ट जसो कुरा भइरहन्थ्यो।
उनको र मेरो सम्बन्ध सुरुआत त्यस्तो फिल्मी थिएन। स्नातक अध्ययनमा तानसेन बस्दा मसँग एक जना श्याम दाइ बस्नुहुन्थ्यो। त्यही त हो केटाहरू सँगै बस्दा, उहाँले आफ्नो प्रेमिकासँग कुरा गरिरहनु हुन्थ्यो। उहाँका प्रेमिल गफबाट लोभिएको मैले कुरैकुरामा एक दिन मलाई पनि मिलाइदिनु न एउटी भनेको थिएँ।
दाइले भन्नुभयो, 'मेरी एउटी बहिनी पर्ने छ, कुरा गर्छौ र राम्रो सम्बन्ध राख्छौ भने ठिकै छ, फोन नम्बर लिग।' मैले उहाँसँग फोन नम्बर लिएँ। म अलि सोझो थिएँ। फोन नम्बर लिएको दुई/तीन दिनपछि एकपल्ट फोन गर्नका लागि फोन उठाएर डायल अप्सनसम्म त पुगेँ तर त्योभन्दा अगाडि बढ्ने हिम्मत भएन। ह्या के भनेर फोन गर्नु भनेर बसेँ।
एक दिन श्याम दाइ घर जानुभएको थियो, कोठामा म एक्लै थिएँ। एलिसालाई मिसकल गरेँ, केही रेस्पोन्स आएन। भोलिपल्ट फेरि मिसकल गरेँ। दुई दिनसम्म लगातार मिसकल गरेपछि कल ब्याक आयो। मैले उठाइनँ। त्यही दिन बेलुका हिम्मत जुटाएर फोन गरेँ, 'बिहान यो नम्बरबाट मिसकल आएको थियो, को बोल्नु भएको होला?'
'यो त मैले सोध्नुपर्ने, अस्तिदेखि लगातार मिसकल आइरहेको थियो। त्यसैले गरेकी।'
'तपाईं प्रतिमा होइन र?'
'होइन म एलिसा हुँ।'
'नम्बरमा अलिकति दुबिधा थियो, अन्तिमको नम्बर ४ कि ५ भनेर, प्रतिमालाई गर्न खोजेको हजुरलाई गएछ। तर जे भयो राम्रै भयो। हजुरको बोली साह्रै मिठो रहेछ। कुरा गरेर धेरै खुसी लाग्यो।'
दुई दिनपछि फेरि फोन गरेँ, 'मिठो बोली फेरि सुन्न मन लाग्यो। कुरा गर्न सक्छु?'
'भन्नोस् न त।'
'खाना खानु भयो? के गर्दै हुनुहुन्छ नि?'
लगभग पन्ध्र दिनपछि त अनलाइनबाट पनि हाई हेल्लो सुरु भयो। उनको फोटोमा लभ रियाक्ट गर्नु, शुभ प्रभात र शुभ रात्रिका सन्देश पठाउनु सामान्य हुन थाल्यो।
उनीसँग कुरा हुन थालेको लगभग तीन महिनापछि उनले नै फोन गरिन्।
'अहो! आज त अचम्म भयो त। कहिल्यै फोन नगर्ने मान्छेले पनि फोन गरे त। तपाईंलाई पनि मेरो माया लाग्न थाल्यो क्या हो?'
उनले भनिन्, 'सुन्नु न, तपाईंको विद्यार्थीलाई मैले तपाईंको बारेमा सोधेकी थिएँ नि! मेरो बेस्ट टिचर भन्दै थिए।'
सायद यो घटनापछि उनी मसँग अलि बढी प्रभावित हुन थालिन्। म्यासेजको पनि रिप्लाई नगर्ने उनी बल्ल आफै म्यासेज गर्न थालिन् र कहिलेकाहीँ उतै बाटो फोन पनि। उनको घरनजिकको एउटा निजी स्कुलमा मैले अध्यापन गर्दथेँ। उनको घरनजिकका विद्यार्थीहरू मैले अध्यापन गर्ने विद्यालयमा पढ्न आउँथे। उनले बेलुकामा ट्युसन पढाउँदी रहिछन्। उनले त्यस्तै अवसर पारेर मेरो बारेमा पनि सोध्दी रहिछन्। कस्तो पढाउनुहुन्छ? के गर्नुहुन्छ भन्ने कुरा पनि गर्दी रहिछन्। एक दिन कक्षामा विद्यार्थीले मलाई पनि सोधे, ‘सर, एलिसा दिदी तपाईंको को पर्नुहुन्छ?’
यस्तैमा होली आयो अनि म त्यो दिन उनलाई फोन पनि नगरी सिधै उनको घरनजिकै गएर फोन गरेँ। टीका लगेको थिएँ, गालामा दुवैतर्फ टीका लगाइदिएँ। त्यसपछि होलीको शुभकामना दिएर भेटको लागि आभार प्रकट गर्दै खुसीसाथ कोठामा फर्किएँ। यही नै हाम्रो पहिलो भेट थियो। यसको भोलिपल्ट नै हो मैले उनलाई प्रस्ताव गरेको।
त्यति बेलादेखि नै हाम्रो भेट बाक्लिएको थियो। कहिले मेरै कोठामा, कहिले श्रीनगर र टुँडिखेलका चौरहरूमा त कहिले उनको कलेज र घरको बाटोमा। मैले उनको घरका अरू सदस्यहरूको बारेमा र उनले मेरो घरका अरू सदस्यको बारेमा कुराकानी गर्न थाल्यौँ। यस्तैमा उनले मेरो ममीसँग र दिदीहरूसँग पनि कुराकानी गर्न थालिन्। उनले मेरो ममीसँग र दिदीसँग कुराकानी गरेको दिनदेखि म उनीसँग पूर्ण विश्वस्त भएको थिएँ। उनले मलाई माया नगर्ने भए उनले मेरो ममी र दिदीहरूसँग कुरा गर्ने चाहना पक्कै पनि राख्ने थिइनन्।
ख्यालख्यालैमा जोडिएको सम्बन्ध जीवनको एउटा उत्कर्षमा थियो। उनकै मायामा बाँकी जीवन बित्नेमा म ढुक्क थिएँ। उनीसँग अनगिन्ती सुखद पलहरू जोडिएका थिए। हाम्रो कुरा हुन थालेको करिब दुई वर्षपछि हो उनले मलाई मेरो बिहे त अस्ट्रेलिया भएको केटासँग हुन्छ रे भनेको।
'त्यस्ता ज्योतिषले जे पनि भन्छन्, अब एक वर्षमा म पनि सेटल्ड भइसक्छु अनि बिहे गर्नुपर्छ,' यही भनेको थिएँ।
सम्बन्धका बारे सम्झेर पनि मक्ख हुन्थेँ। उनले मेरा बारे राख्ने चासो र केयरले गर्व लाग्थ्यो। भेटेर र फोनमा कैयौँ घण्टा बात मारिन्थ्यो। भविष्यको सुखद कल्पनामा रमाइन्थ्यो। उनीमाथि भुलेर पनि शङ्का गरिएन।
ज्योतिषीलाई देखाएको घटना सुनाएपछि लगभग तीन महिनापछिको कुरा हो। हाम्रो भेट भएको तीन दिन पनि बितेको थिएन। उनले मलाई टुँडिखेल नजिकैको क्याफेमा भेट्न बोलाइन्। यसपालि उनको साथमा उनकी साथी अञ्जली पनि थिइन्। उनको मुख मुद्रा अलि गम्भीर थियो। केही बेरको प्रेमालापपछि उनले प्रसङ्ग बदलिन्।
'मेरो दाइ र मम्मी हिजो चिना देखाउन जानुभएको थियो। तपाईंको बारेमा पनि सोध्नु भएको थियो। मैले सबै बताएकी थिएँ। तर ज्योतिषले हजुर र मेरो नाम, जन्म मिति हेरेर यिनीहरूको बिहे हुँदै हुन्न, तपाईंहरूले जबरजस्ती गरिदिनुभयो भने एउटाको अवश्य मृत्यु हुन्छ। यी दुईलाई छुटाउनुमा नै दुवैको हित हुन्छ भनेको छ रे!' उनले मेरो हात समाएर रुँदै भनेकी थिइन्।
'के त? त्यस्ता ज्योतिषले के-के भन्छन् भन्छन्,' मैले हल्का रूपमा लिएँ।
'कहाँ हुन्छ? त्यो ज्योतिषले पहिला यस्तै धेरैको पुर्याएको छ रे। मम्मीले र दाइले यस्तो जान्दा जान्दै पनि मानिनस् भने हामीलाई मम्मी, दाइ केही भन्नुपर्दैन। जे गरे नि गर् भन्नुभएको छ। माफ गर्नुहोला, सम्बन्ध राखेर पछि हजुरलाई नै केही अप्ठ्यारो भयो भने। कृपया हामी अलग हुनै पर्छ।'
त्यसपछि के जवाफ दिएँ, कसरी कोठामा पुगेँ केही थाहा छैन। सम्झिएँ, यो घटना त दोस्रो प्रहार पो थियो। अस्ट्रेलिया भएको केटासँग मेरो बिहे हुन्छ रे भन्ने पहिलो। सायद म विकल्पको पनि अन्तिम प्राथमिकतामा थिएँ। अस्ट्रेलियाको पिआरवाला छोडेर कसले गाउँले मास्टरलाई रोज्छ र!