एकाबिहानै चोकतिर देखिन्छ एउटा अनुहार
धुमिल-धुमिल, मैलो
सेतो र कालो मिश्रित दारी
त्यो दारीसँगैको उसको जिम्मेवारी
सन्तान पाल्नुको
वृद्धावस्थाको बा-आमाको हेरचाह गर्नुको
यो देश कहाँनेर पस्यो थाहा छैन उसलाई
जिम्मेवारीको तातो पन्यूले उसलाई कहाँ डस्यो थाहा छ
उसलाई यो देश कहाँनेर फस्यो थाहा छैन
ऊ पासपोर्टसँगै कहाँ फस्यो थाहा छ
हेर उसका सुकेका हातका नसाहरू
फुकेका आँखीभौँहरू
सेता र काला सर्लक्कै छुट्टिएका उसका टाउकाको कपालहरू
तिर्खाको प्यास मेटिन्जेलसम्म पनि उसले पानी पिएन कि
गर्तमा फसेपछि उम्कन नसकेको बिचरो ऊ हात्ती हो
लामा-लामा पाइला चाल्दै चाल्दै ऊ हिँडिरहन्छ, कुदिरहन्छ
ऊ हिँडिरहँदा, कुदिरहँदा सम्झँदो हो बिग्रिएको गत
अझ धेरै बिग्रँदै गएको वर्तमान, अन्योलको भविष्य
देशमा नदेखेको भविष्य विदेशमा कहाँ देखिँदो हो
देशमा नसकेको कर्म विदेशमा कहाँ सक्दो हो
देशमा नसकेको आँट विदेशमा कहाँ सक्दो हो
झिमिक्क आँखा झिम्क्याउँदा कहाँ घरदेश बिर्सिन सक्दो हो
थकित भएर बिस्तरामा ढल्किँदा पनि उसले सम्झँदो हो यतैयतै
'छोडी जाऊ पन्छी हेर मेरो यादको खबर कतै
पर्खी बस्ने परिवार विचलित नहुन मझैँ'
यही भनी सुसाइरहँदो होला मनका गीतहरू
उसका उमेरका प्रीतहरू
प्रेमिल प्रेमिकाहरू
कठै भाग्यसँगको पौठेजोरी गर्दा गर्दै
थाकेका उसका हातका नङ्ग्राहरू
चिसिएका निधारहरू
बिग्रेको निद्राहरू
एकाबिहान झस्कँदो हो
हरेक साँझ टोलाउँदो हो
घामसँगै उदाउँदो होला
घामसँगै डुब्दो होला
चिन्तनदेखि चितासम्म
सँगसँगै जीवनसँगै
सङ्घर्षसँगै
अनि यतै कतै यस्तै-यस्तै
सबैसँगै
आफैसँगै
माटोसँगै
जाने बाटोसँगै।