सहरमा भएको हाम्रो जीउ पाल्न
गाउँमा धानको बिउँ राखेर
बर्खा कुरिरहेकी मेरी आमालाई
आकाश नगडगडाएसम्म निद्रा लाग्दैन
यता मलाई आकाश गडगडाएपछि निद्रा लाग्दैन।
जब गाउँमा बिजुली गएको खबर पाउँछु
तब म आत्तिन थाल्छु
भित्रभित्रै मेरो मन तातिन थाल्छ
मलाई पहिरोको चिन्ता छ
आमालाई पहेँलो धानको
उनलाई मेरो ज्यानको
मलाई उनको ज्यान र उहीँ घरको थामको।
यो सहर उज्यालो भए पनि
आकाशमा देखिएको कालो मुस्लो बादलले
यहीँ सहरमा कतै थन्किएको मसँगै मेरो मन
आजभोलि डराउन थालेको छ
यता पो मेरो कोठामाथि ढलान, ढलानमाथि छत छ
तर पनि मेरो मन उहीँ गाउँमा जस्ताले छाएको
छानो सम्झिँदै हर रात पीडाले छटपट छ
घरमा छानो त छ
छानो जोगाउन केही काठको थाम छ
तर त्यहीँ थामले कति बर्खा घर धान्छ?