हिउँचुलीको काखमा छ रङ्गीचङ्गी फूलबारी
ढकमक्क फुलेका छन् फूलहरू थरी थरी
यही बारीमा रम्दै बस्ने हामी सबै यसका माली
एकताको रूप हामी एउटै माला हौँ नेपाली।
फूल जस्तै सुवास छर्छौँ हामी सबै जातजाति
उन्नतिले पुर्याउँछौँ यो देशलाई माथि माथि
हिमालदेखि तराईसम्म हामी सबै यसका माली
एकतामा बाँधिएका एउटै माला हौँ नेपाली।
हाम्रो कला हाम्रै भेष सबैभन्दा प्यारो लाग्छ
आफ्नै जन्मभूमि नेपाल सबैभन्दा राम्रो लाग्छ
विकासको लक्ष्यसँगै देशको रक्षा गर्ने माली
जाति भाषा क्षेत्र जोड्ने एउटै माला हौँ नेपाली।
भिन्न भिन्न प्रतिभाले सजिएका छौँ नेपाली
आफ्नै मौलिकतासँग गर्व गर्ने हौँ नेपाली
सिमानाका प्रहरी हौँ सबै जना हामी माली
एकताको मालाभित्र गाँसिएका छौँ नेपाली।
मानवताका पुजारी हौँ धर्म भिन्नै भए पनि
नाम हाम्रो नेपाली हो जो जो जहाँ रहे पनि
चन्द्र सूर्य अङ्कित झन्डा फरफराउने हामी माली
अनेकतामा एकताको सुन्दर माला हौँ नेपाली।