साथी शब्द सुन्दै ती
स्कुल पढ्दाका साथीहरूको याद आउँछ
उनीहरूसँग बिताएका प्रत्येक क्षण सम्झँदा
ओठमा त्यसै मुस्कान छाउँछ
जीवनका सबैभन्दा रमाइला दिनहरू
उनीहरू साथमा हुँदा बिताए जस्तो लाग्छ
त्यसैले त आज उनीहरू नहुँदा
जीवनको रमाइलोपन पनि
उनीहरूसँगै गए जस्तो लाग्छ
स्कुलमा छँदा कहिले हस्पिटल जाने निहुँमा
काफल खान गइन्थ्यो
कहिले स्कुल बङ्क हानी भकिम्लो खान पुगिन्थ्यो
त्यति बेला कुनै कुराको वास्ता थिएन
न त कसैको डर नै थियो
उनीहरू साथमा भएपछि
सरलाई जिस्काउन पनि पछि परिँदैनथ्यो
अझै ताजै छन् तिनी यादहरू
जब रातिसम्म ट्युसन हुन्थ्यो
अरू पढ्नमा व्यस्त हुन्थे, हामी गफ गर्नमा
कहिले पढ्ने समयमा खाजा खाँदै हुन्थिम्
कहिले नाच्दै, त कहिले भूतका कुरा गर्दै
दिउँसो सरले पढाउने समयमा
साँझ कसको खाजा के आउँछ भन्ने सोच्दैमा बित्थ्यो
वर्षभरि कहिल्यै ध्यान दिएर पढिएन
त्यहीँ पनि परीक्षामा अङ्क
अरूको भन्दा राम्रो नै आउँथ्यो
स्कुल छोडेसँगै साथीहरू पनि छोडिँदै गए
लाग्थ्यो स्कुल छोडे पनि
साथीहरू त छोडिन्नन् होला
तर सहर फेरिएपछि मान्छे पनि फेरिए
स्कुल फेरिएपछि साथीहरू पनि
सायद भविष्य बनाउने दौडमा धेरै अगाडि बढिसकेछन्
त्यसैले त होला न त उनीहरूको सम्झनामा अटाउन सक्यो
न त म्यासेज गरी बोल्न खोज्दा
उनीहरूको समय नै पाउन सक्यो।