गाउँबाट उच्च शिक्षा अध्ययनका लागि राजधानी काठमाडौं छिरेका नीलप्रसाद पढाइ सकेर चौथो प्रयासमा बाइस वर्षअघि लोक सेवा परीक्षा उत्तीर्ण गरी आयोगको सिफारिस अनुसार हुलाक कार्यालयमा नायब सुब्बा पदमा बहाली गरेका थिए।
गरिब परिवारमा जन्मिएका अर्का एक जना बृखबहादुर पनि राजधानी काठमाडौंमा मजदुरी गर्न छिरेका रहेछन्। बृख बहादुरले मजदुरी गर्दागर्दै भन्सार कार्यालय परिसरमा क्यान्टिन सञ्चालन गर्ने अवसर पाएका थिए।
उनको क्यान्टिनमा भन्सारमा सामान छुटाउन आउने सेवाग्राहीहरूको भीड लाग्थ्यो। उनले एक जना सहयोगी राखेकाले खाजा र चिया बनाउनबाट फुर्सद पाएपछि सेवाग्राहीहरूको प्रज्ञापनपत्र भरिदिने, सामान छुटाउन सेटिङका कामहरू गर्ने र आएको पैसा भन्सार अधिकृत, जाँचकी, भन्सार एजेण्ट र लेबरहरूलाई दिने काम गर्न थाले।
कार्गोमा विदेशबाट सुन ल्याइएको भएता पनि प्रज्ञापनपत्रमा बृख बहादुरले घडी र तीनका पार्टपुर्जा भनेर उल्लेख गर्ने गर्दथे। बृख बहादुरको सक्रियतामा गोप्यताको गहिराइमा तमाम तस्करीका कामहरू हुनथाले। क्यूरियोका सामान भन्दै लागूपदार्थ विदेशमा पठाउने काममा पनि बृख बहादुर निकै सक्रिय भएका थिए। उनले कार्गो र कुरियर कम्पनीहरूका मालिकहरूसँग नियमित उठबस गर्न थाले। बृख बहादुरले भनेपछि भन्सार कर्मचारीहरूले विश्वास गर्दै भन्सार पासको क्रममा आवश्यक कागजातमा दस्तखत गर्दथे। बृख बहादुरले केही वर्षमै राजधानीमा महँगो घडेरी किनेर आलिसान महल बनाउन सफल भए। लगत्तै सुविधायुक्त गाडी पनि सजिलै किन्नसके। साथै महँगो निजी विद्यालयमा छोराछोरी पढाए।
बृख बहादुरका तीनथान मोबाइलमा पालैपालो कहिले कसको त कहिले कसको फोनको घण्टी बजिरहन्थ्यो। उनको मोबाइलमा धेरैजसो तस्करहरूको फोन आउँथ्यो भने कसैकसेले मेसेजमा लेखेर पठाउँथे- तस्करीका सामान आयात र निर्यातका सम्बन्धमा। धेरै नपढेको भए पनि बृख बहादुर कामको अभ्यासले गर्दा अंग्रेजी शब्दहरू पनि बुझ्दै गएका थिए। त्यसैले उनलाई मेसेजमा प्रयोग गरिने अंग्रेजीका साधारण शब्द र वाक्यहरूको जवाफ दिन्थे।
बृख बहादुरलाई तस्करहरूले कहिले डान्सबारमा त कहिले क्याफे अनि महँगा खालका रेष्टुरेण्टहरूमा जम्मा हुनको लागि निम्तो आइरहन्थ्यो। उनको सम्पर्क तल्लोस्तरका नेताहरूसँग पनि बढ्दै गएको थियो। जसले गर्दा उनलाई तस्करीका सामान आयात र निर्यात गर्न झन् ढुक्क भैरहेको थियो। बृख बहादुरको चालढाल ऐयासी भैसकेको हुँदा उनको श्रीमतीसँग भेट्न उनका साथीहरू आइरहन्थे। किनकि कसैकसैले बलेको आगो मात्र ताप्ने गर्छन् हाम्रो समाजमा। उनीसँग सम्पत्ति बढ्दै गएपछि साथीहरू बढी नजिकिनुखोज्नु सामान्य जस्तै थियो। छोराछोरीहरूले पनि टोलका अन्य साथीहरूलाई गन्दैनथे। धन सम्पत्तिले गर्दा केटाकेटीमै अहंकारले बास गरिसकेको थियो उनीहरूमा।
उता नीलप्रसाद भने साथीहरूले भने बमोजिम सञ्चय कोषबाट ऋण लिएर काठमाडौंमा घर बनाउने विचार गर्दैथिए। तर घर बनाउनका लागि चाहिने घडेरी उनले किन्न सकेका थिएनन्। इमानदारीपूर्वक काम गर्ने कर्मचारी भएकोले नील प्रसाद सधैं आर्थिक अभावको परिधिभित्र रहेर दैनिकी गुजारिरहेका थिए। पत्नी र छोराछोरीहरूलाई राम्रा लुगाहरू समेत किनिदिने क्षमता उनमा थिएन। राजधानीको महँगीबाट नराम्रोसँग गाँजिएका र पिल्सिएका नील प्रसाद सधैं चिन्तामै देखिन्थे। एकदिन नीलप्रसाद कार्यालय जाने क्रममा बसस्टपमा बस कुरिरहेका थिए।
उत्तरतर्फबाट एउटा टिलिक्क टल्केको र छुँदा दाग लाग्नेजस्तो देखिने एउटा गाडी नील प्रसाद उभिएको छेउमा रोकियो। बृख बहादुरले आफ्नै गाउँका मान्छे नील प्रसादलाई नचिन्ने कुरा थिएन। नील प्रसाद अधिकृतमा बढुवा भएको बृख बहादुरले कतैबाट थाहा पाइसकेकाले 'बधाई छ नील प्रसादजी!' भनेपछि एकछिन उनले बृख बहादुरलाई चिन्न समय लाग्यो।
गाउँमा हुँदा र विद्यालयमा पढ्दा टालेको कमिज लगाउने उही बृख बहादुरको अनुहार चिनिएता पनि उसको ठाँटबाट देखेर नील प्रसाद तीनछक परे। गाडीमा बस्न आग्रह गरेपछि नील प्रसाद बृख बहादुरको गाडीमा चढे। सीसाबन्दी गाडीभित्र जडित एयरकण्डिसनरले वातावरण शितल बनाइदिएको थियो। बृख बहादुरले नील प्रसादको कार्यालयसम्म पुर्याउने काम गरे र फेरि भेट्ने वाचा गर्दै दुबै जना त्यहाँबाट छुट्टिए।
केही दिनमा कसैको सुराकीमा अख्तियारको टोली भन्सारमा पुगेर कैफियत देखिएका मामिलामा अनुसन्धान गर्ने क्रममा भन्सार अधिकृत, जाँचकी, भन्सार एजेण्टका साथै करोडको गाडी चढ्ने भन्सार परिसरको क्यान्टिनका भान्से बृख बहादुर तत्कालै पक्राउ परे।
भोलिपल्ट सञ्चार माध्यमहरूमा तस्करीबारे समाचार फैलियो। तस्करीको काममा बृख बहादुरको नाम पनि जोडिएको खबर थाहा पाएपछि नील प्रसाद आफू इमानदार भएकोमा गौरव महसुस गरे। हुलाकका हाकिम भएर भन्सारका भान्सेभन्दा गरिब भए पनि नील प्रसाद सन्तुष्ट देखिन्थे। इमानदारिता नै ठूलो हो भन्ने कुरा उनले धेरै पहिलेदेखि नै थाहा पाइसकेका थिए र नियुक्ति लिँदा खाएको उहिलेको शपथ पनि बिर्सिएका थिएनन् उनले।
बृख बहादुरको सम्पत्ति रोक्का भई उनलाई मुद्दा पनि चलाइयो। बृख बहादुरकी श्रीमतीलाई डिप्रेसन सुरू भयो र छोराछोरी पनि निराश हुनथाले। बृख बहादुरका नातेदारहरूले बृख बहादुरका सबै खबर पाइसकेकाले सबैले बृख बहादुरलाई धिक्कार्न थाले। बृख बहादुरको प्रगति देखेर वा थाहा पाएर अचम्म मानेका गाउँलेहरू पनि अहिले आएर छक्क पर्न थाले।
धन सम्पत्तिकै लागि मरिमेट्ने र समाज सेवाको नाममा सिन्को पनि नभाँच्ने बृख बहादुरले जेलको हावा खानपुगेको थाहा पाएपछि गाउँमा हल्ला फैलियो र उनको श्रीमतीलाई कसैकसैले फोन गरेर सान्त्वना दिने पनि गर्दथे। बेइमान र भ्रष्टलाई सान्त्वना दिनु सरासर अज्ञानता र गलत कार्य थियो। तै पनि गाउँलेहरूले 'चिन्ता नगर्नू, बृख बहादुर जेलमुक्त भैहाल्लान् नि' सम्म भनिदिन्थे।
गाउँलेहरूमा बेइमानी गरेर धन कमाउने काम राम्रो होइन रहेछ भन्ने चेतना जागृत भयो। सबै गाउँलेहरूमा इमानदारिता नै ठूलो कुरा हो भन्ने महसुस भयो। धरौटीमा छुटेता पनि बृख बहादुर सहितका भन्सारका कर्मचारीहरू तारेखका लागि अदालत धाउँदै गए। मनोविज्ञानमा नकारात्मक असर परेको कारण बृख बहादुरका छोराछोरीको पढाइ पनि बिग्रिँदै गयो। बाउको चरित्रमा दाग लागिसकेपछि छोराछोरीको विवाह पनि अनिश्चित बन्यो। यसरी भन्सारका भान्से बृख बहादुरको चुरिफुरी खहरे खोलाझैं सुक्यो भने हुलाकका हाकिम नील प्रसादको इमानदारितालाई सबैले तारिफ गर्न थाले।