कविता
प्रेम हुनु नहुनु आफ्नो कुरा
प्रेम गर्नु नगर्नु आफ्नो कुरा
म त भन्छु प्रेम अनुभूति नगर्नु पनि आफ्नै कुरा
जीवन प्रेमले चलेको छ कि प्रेम जीवनले?
स्वीकार्नु प्रेम हो?
के अस्वीकार प्रेम हुन सक्दैन?
स्वीकार र अस्वीकार बीचको यो लडाइँ कस्तो?
हामी बाँचेका छौ नि, आफ्नै लयमा, आफ्नै भाषामा, आफ्नै परिप्रेक्ष्यमा
अनि फेरि यो उल्झन किन?
कहिलेकाहीँ उल्झनहरूमा अल्झिएर त हेर
कहिलेकाहीँ आफ्नै अस्तित्वहरूमा रूमल्लिएर त हेर
हामी जिएका छौ नि, आफ्नै भरमा
कहिलेकाहीँ केही पाउने आशमा
अनि कहिलेकाहीँ केही गुमाउने डरमा
बाँच्नु अनि जिउनुमा फरक होला कि नहोला?
जिउन पाउनु भाग्य हो सायद।
जिउन पाउनु खुसी हो सायद।
जिउन पाउनु संघर्ष हो सायद।
जिउन पाउनु उपलब्धी हो सायद।
जिन्दगी अनौठो हो कि, हाम्रा सोचहरू ?
कतै जिन्दगी भ्रम त होइन नि?
प्रेम भ्रम हुन सक्ला त?
भ्रम प्रेम जस्तै सुन्दर हुन सक्छ,
भ्रम जिन्दगी जस्तै जटिल हुन सक्छ
भ्रम हाम्ले सोच्ने सोच जस्तै पागलपन पनि त हुन सक्छ।
आफैलाई नै कयौं पटक अपरिचित मानेर हेरिरहँदा
कयौं पटक आफैलाई त को होस्? भनी प्रश्न गरिरहँदा
ऐना सामु उभिएर आफैले आफूलाई नै सुम्सुम्याई रहँदा
घरिघरी आँखाका परेला झिम झिम गर्दै मुस्कुराउँदा।
मेरा मानसपटलमा प्रेम, स्वीकार्यता र भ्रम एकआपसमा दौडिरहन्छ।
अनि मेरो मनले फेरि भनिरहन्छ...
दोहोराइहन्छ
विचार बाहेक गरिने सबै 'तत्व' भ्रम हुन् भनेर।