जब भर्खरकै युवाले केही व्यवसाय गर्यो भने सारै खुसी लाग्छ।
रामु मेरो छिमेकी हुन् उमेर २४ वर्ष पुगे होला। ऊ किराना पसल चलाएर बसेको रहेछ। राम्रै कारोबार हुन्छ भने सुनेको थिएँ। घरका लागि केही सामान किन्न म उसको पसल गएँ।
लिस्ट हातमा दिँदै भने, 'यति सामान प्याक गरेर राख्देऊ म साथीहरूसँग चिया खाएर आउँछु है, अँ! बिल बनाउन नबिर्सिनु नि है' भन्दै हिँड्न लाग्दा अचम्म हुँदै रामुले सोध्यो- दाइ, बिल रे?
'हजुर बिल,' जवाफ दिएँ।
'दाइ, बिल त हुन्छ तर सामान्य बिल मात्रै छ मसँग, यसले हुन्छ नि?,' आदरभावमा सोध्यो।
'भइहाल्छ यार भाइ, मलाई प्यान, भ्याट बिल चाहिँदैन,' भन्दै हिँड्न के लागेको थिएँ उसले भन्न थाल्यो।
'हैन क्या दाइ, तपाईंलाई थाहा नै छ मेरो नागरिकता छैन, जसले गर्दा पसललाई दर्ता गराउन सकेको छैन।'
उता सरकारी कार्यालय देखाउँदै 'उताबाट पनि सामानको माग आउँछ तर बिल नभएर दिन सकेको छैन, उनीहरूलाई प्यान भ्याट बिल नै चाहिन्छ आफ्नो पसल दर्ता छैन।'
उसको कुरा सुन्ने बाहेक मसँग केही विकल्प थिएन।
मलाई राम्रोसँग थाह थियो। रामुको नागरिकता छैन भनेर, अंकल आन्टीको जन्मसिद्ध नागरिकता भएर उसको नागरिकता बन्न सकेको छैन।
नागरिकता नभएर ऊ सफल व्यवसाय त बन्न सक्यो, तर नागरिक भएन कतै न कतै सरकारलाई राजस्वबाट पनि योगदान पुर्याउँदै छ तर सरकार ऊप्रति जिम्मेवार छैन।
मेरो रामुको घर नजिकै छ। घर आउँदा भेट्न साथ 'दाइ मेरो नागरिकता बन्दैन?' प्रश्न गर्छ।
म जवाफविहीन हुन्छु। के जवाफ दिऊँ? कि, नागरिकता तिम्रो भविष्यका आधार छ तर सरकारको राजनीतिकको आधार मात्रै छ, शासन गर्नेलाई नौटकी शैलीमा अध्यादेश ल्याएर केही मिनेटमै प्रमाणीकरण गराउँछ तर न्यायपालिकाले रोक्छ। अन्य अन्य अरू कति कुरा छ।
'ल, सामान प्याक गर्दै गर म आएँ है,' भन्दै हिँडेँ।
चिया खाँदै गर्दा साथीहरूलाई भाइको कुरा सुनाएँ।
सबै जना एकोहोरो भएर सुनिरहे किनकि न कसैले प्रतिक्रिया दिए न कोहीले चाहेर पनि नागरिकता बनाउने विकल्प दिन सके।
रामुको पसल नजिक मेरो साथी बिकुको घर छ।
'तिमीलाई थाहा छ? रामुको बिहे हुँदाहुँदै रोकियो नि,' बिकुले भन्यो।
'ह? हुँदाहुँदै राकियो रे?,' अचम्म हुँदै जवाफ दिइहालेँ।
'तिमी देश घुम्दै काम गर्दै बस्ने, छिमेकको कुरा कसरी थाहा हुन्छ?,' अलि गालीको शैलीमै भन्यो।
'के भयो? कुरा के हो?,' छिटो भन न यार।'
'त्यो पम्पापुर (नाम परिवर्तित) गाउँ की केटीसँग प्रेममा थियो। एकतर्फी हैन दुईतर्फी नै थियो। दुई तीन वर्षदेखि एकअर्कालाई माया गर्थे। रामु सेटल भएपछि बिहे गर्ने सोचेको थियो र ऊ हुन पनि लाग्यो। अब बिहे गर्ने भनेर उनीहरूले योजना बनाए तर भागेर हैन। परिवारको सहमतिमै गर्ने भनेर। एउटै जात भएर, परिवारलाई मनाउन सहजै भयो। सबै कुरा मिल्यो, अब बिहेको मिति तोक्न बाँकी थियो। त्योभन्दा अगाडि अर्कै खबर आयो।
बिहे हुँदैन रे। कारण चाहिँ रामुको प्रेमिकाको बुवाले भने रे 'नागरिकता नभएकासँग बिहे गराउँदिनँ छोरीको, नागरिकता बन्ने हो कि नाइँ थाहा छैन, म आफ्नो छोरीको भविष्य अन्धकार होस् भन्ने चाहदिनँ भने रे।
रामुले यो कारण सुनेपछि चिच्याउँदै भन्न थाल्यो 'कस्तो मेरो भाग्य यतिसम्म खराब छ बाँच्नका लागि व्यवसाय गर्दैछु तर सबैलाई बेच्न सकेको छैन, फोन त किनेको छु आफ्नो नामको सिम प्रयोग गर्न सकेको छैन, जीवन जिउन जीवन साथी खोजे जसोतसो बिहे हुने जस्तो भयो तर त्यो पनि भएन, म यो देशको नागरिक छु भने त्यसको केही प्रमाण नि छैन आखिर यो संसारमा रहनु या नरहनु कुनै कारण नै रहेन।'
यो कुरा सुनेर सबैले रामुलाई सम्झाए, केही दिन त रामुले पसल पनि खोलेन।
अहिले ठिक छ।
म केही बोल्न सक्ने स्थिति नै भएन, केहीबेर अक्कवक्क भएँ। चिया खाएर रामुको पसल गए सामानहरू लिँदै गर्दा उसले फेरि सोध्यो जहिले सोध्ने प्रश्न तर आज उसले फरक कुरा गर्यो।
'दाइ, मलाई लाग्छ हाम्रो देशका शासकले नै हाम्रो नागरिकता नहोस् चाहन्छ। 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' सम्मानीय राष्ट्रपति ज्युले एकपल्ट हैन दुई दुई पल्ट प्रमाणीकरण गर्नु भएन।'
'अँ यार त्यस्तै भान हुँदैछ तर तिमी भरोसा राख्न एक न एक दिन पक्कै बन्नेछ।'
'तिमीलाई थाहा छ रामु नागरिकता विहीनले अस्ति भन्दै थिए 'राष्ट्रपतिज्यू हाम्रो भविष्यमाथि राजनीति नगरिदिनु। नागरिकता नभएको पीडा भोग्नेलाई थाहा छ। नागरिकता नपाएर न पढ्न पाएको छ, न जागिर खान। एउटा सिम कार्ड पाउने अवस्था छैन, न बैंक खाता खोल्न मिल्छ,’ उनलेअघि भने, ‘यतिसम्म कि हामीलाई गाउँबाट काठमाडौं आएर होटलमा बस्नको लागि पनि नागरिकता देखाउनुपर्ने हुन्छ। हामीले के गरेर बाँच्ने?'
'सही हो नि दाइ, नागरिकता नभएर कुनै बेला बाँच्न पनि मन लाग्दैन तर भरोसाले बाँचेको छु। मेरो बारेमा अझै केही कुरा त थाहा पाउनु नै भयो होला है,' रामुले भन्यो।
'थाहा पाएँ हिरो, सरकार जिम्मेवार नभए पनि तिमी नागरिकताविहीन जिम्मेवार छौ। पक्कै एक दिन तिमी नागरिकताधारी नागरिक बन्नेछौ। ल म गएँ है अनि सुन छिट्टै भोज खान पाऊँ है' भन्दै घरतिर लागेँ।
ऊ पनि हाँस्दै 'हस् दाइ' भन्दै काममा व्यस्त भयो।