बुरासे डाँडाबाट हिउँदोको पहिरोलाई छिचोल्दै पाखा पहेरा हुँदै स्याउलाका सोतरहरू सोर्दै कोटमौला झरेसी लामो सास फेर्दै, चौतारीमा चुरोटको धुवाँ मस्त तान्दै बसेका भरियालाई सोधिन्, 'ए बाबु यो श्रीनगर कता हो?' हल्का स्याँस्याँ गर्दैछिन्। हेर्दा लाग्छ ४ बीस काटेकी। कुर्कुचा मस्तै फुटेका, गाला पूरै चाउरी परेका तर हिम्मत भने अहिलेका युवाभन्दा कमी छैन है।
'आमा अझै लाग्छ २-३ घण्टा,' भरिया चुरोटको ठुटो तान्दै अगाडि बढ्यो।
'बाबु लौन राति पर्ने भयो त! आज शिविर आउने रे, काठमाडौंका डाक्टर आका छन् रे! फोक्सो हेरेर औषधि दिन्छन् रे, मलाई झट्टै सन्चो हुन्छ रे। बाबु शिविर छुट्ने भयो मेरो, लौन' भन्दै पोल्टाबाट चुरोटका ठुटो झिकी,सल्काई रफ्तार अगाडि बढे आमाका।
अरूको भर नपरिकन र सकभर अरूलाई दु:ख नदिकन बाँच्नु जीवनको ठूलो उपलब्धी हो, आमाको आन्तरिक क्षमतालाई मान्नै पर्छ।
लक्ष्य प्राप्त गर्दा धेरै बाधा अड्चन आउँछन् तर हिम्मत हार्नु हुँदैन भन्ने जल्दो उदारहण हुन् आमा।
डाक्टर भेट्नु छ, फोक्सो देखाउनु छ, छातीको ओखती लिनु नै छ, बाँच्ने आधारलाई बलियो बनाउनु नै छ। पाइला अगाडि सर्दै छन्, मनमा अनेकौं भावना आउँछन्, जान्छन्, मन न हो मस्तै कुराहरू खेल्छन्।
'बुढो भाको भए बुढेसकालमा सहारा त हुन्थ्यो! परार सालको कोरोनाले लग्यो बुवालाई। छोराहरू नभाको भने होइन। ५ भाइ छोराहरूमध्ये जेठो जन्मनासाथ बितेछ, माइलो रोजगारीका लागि मलेसिया,साँहिलो टेम्पो चालक, अरू दुई तेही त हो जुवा तास, जाड रक्सी मरेसरह भए ती दुष्टहरू!' उनी बोल्दै गइन्। चुरोट अझै सकिएका छैनन्, चुरोटको धुवाँको साथमा बुढेसकालका पाइलाहरू अगाडि सर्दैछन्।
'मरिने पो हो क्या हो, कोरोनाले मलाई पनि बुढोसँगै लगेको भए आनन्द त हुने थियो,' मस्तिष्कमा गहिरो चोट छ आमाको।
२००७ सालको प्रजातन्त्र, पञ्चायत, जनयुद्ध, लोकतन्त्र, गणतन्त्र र भूकम्प!
'दुई हल गोरु, ४-५ वटा बाख्रा र एउटा झुपडी, सत्यानास सबै लग्यो पापी भूकम्पले, म अभागी बुढी यही देख्न बाँचेको रहेछु। परिवारमा नाति भुन्टे बाहेक सबैले साथ छाडेका छन्, बुढी आमालाई भुन्टेको उज्यालो भविष्यको लागि भए पनि बाँच्नै पर्छ,' भन्दै बर्बराउँछिन्।
नाति १२ पुगेर १३ लागेको अस्ति भर्खर। आमालाई ओखति किन्न भनेर सहर पसेको १-२ वर्ष बितेछ। घर फर्कने पत्तो छैन।
सबै गाउँलेबाट अपहेलित बनेकी। आखिर छुवाछुतको सिकार पनि बनिन्। गरिबीले गर्दा न छोराहरूलाई उचित शिक्षा दिन सकिन्, न त नातिलाई पढाउन नै।
हैन हाम्रो समाज कतातिर जाँदै छ ह!
'बदाम बदाम, सुन्तला सुन्तला, सस्तो सस्तो, खाने आमा सुन्तला', श्रीनगर बजार आज निकै चहलपहल छ। आज आइतबार, हप्ताको पहिलो दिन, हाट बजार त्यहीमाथि खैराबांग भगवतीको मेला, अनेकौ ठाउँबाट जम्मा भएका छन्। आज श्रीनगरमा, कोरोनापछि चहलपहल निकै घटेको बेला, आज भने अनगिन्ती मान्छेहरू जम्मा भएका छन्, भीड कुल्चिँदै आमा लागिन् अस्पतालतर्फ!
'ऐ बाबु काठमाडौंबाट डाक्टर आका छन् रे, खोइ कहाँ छन्?'
हस्याङफस्याङ गर्दै, छिटोछिटो सास फेर्दै आइपुगिन् आमा। मस्तै ठाउँमा च्यातिएका ती चोलो, कानमा लगाइएका ती डुङ्ग्री घाँटीमा लगाइएका जन्तर, पहेंलो पोते र टाउकोमा लगाइएका पहेलो श्याड़े (टोपी) हेर्दा लाग्छ ४ बीस काटेकी, गाला पूरै चाउरी परेका, नाङ्गो खुट्टा र थाप्लोमा नाम्लो!
'डाक्टर बाबु नमस्कार। नमस्कार आमा!'
'ए बाबु लौन यो मेरो छाती फुलेको फुलेकै गर्छ, खोकी मस्तै लाग्छ बाबु, रातभरि खोक्छु, मस्तै च्यापेको छ बाबु, लौन बाबु यो मेरो रोगलाई डाँडा कटाउनु परो!'
आमा शब्द निकै बलवान छ, आमा बलिदानका प्रतीक हुन्, त्याग तपस्याका खानी हुन् आमा, सत्यता प्रेम र इमानदारीका परिभाषा हुन् आमा।
आज त्यही परिभाषामा धमिरा लागेका छन्, इच्छा आकांक्षाहरू मेटिएका छन्, संघर्ष केवल दुई छाक खानका निम्ति र बाँच्ने आधार अर्को ५-१० वर्ष।
झल्यास्स बिउझिएँ!
'आमा बस्नुस्,म छु नि! छाती जाँच गरौं त आमाको, सिस्टर एउटा एक्सरे बनाउनुस्, तुरून्त रिपोर्ट तयार पार्नुस्, लौ त आमा फोक्सोले बिदा माग्या जस्तो छ, चुरोट तुरून्त छाड्नु परो, मुखबाट तान्ने औषधि प्रयोग गर्नु परो आमा, निको हुन्छ,आत्तिनु पर्दैन, तर चुरोट भने छाड्नुस् है!'
'हो र बाबु,' निको हुन्छ भन्ने शब्द सुन्ने बित्तिकै आमाका अनुहारमा हाँसो पुन: झल्कियो।
'लु डाक्टर बाबु वचन भयो। यो चुरोट अब शारदा खोलामा फालेर मात्र गाउँ फर्किन्छु'
'हवस् त आमा,' लामो सास तान्दै म इमर्जेन्सीतर्फ लागेँ। मनमा अनेकौं कुराहरू खेलिरहेका छन्, यो समाज अनि अहिलेका युवापुस्ताहरूमा विकराल रूपमा फैलिएको अझ भनौं गड नै बसिसकेको चुरोटमा पसेको लत।
युवा पुस्ताहरूमा निकै नै चर्चित ‘एक सर्को चुरोट, तिम्रो याद र चिया’ खोई यो ट्रेण्ड कहिलेसम्म चलिरहने हो?
कथित नेपाली परिवेशसँग लड्दै पड्दै थोती बुडीका यात्रा अगाडि बढेका छन्। यिनको यात्रा विशाल महलका निम्ति होइन, घर बंगला गाडीका निम्ति होइन। बाँचुन्जेल एक/दुई छाक खान नटुटोस्, जिउमा एकसरो कपडा लाउन पाऊँ र ओखती समयमै गर्न पाऊँ, पूर्ण त मोजमस्तीको जीवनभन्दा पनि, गाँस, बास र कपासका निम्ति हो।
'अविरल बग्दछ इन्द्रावती' भनेझैं थोती बुडीका यात्रा फेरि सुरू भएको छ। यात्रा कहाँ जाने हो? कहाँ गएर टुंगिने हो न स्वयम् यिनलाई थाहा छ, न त यो समाजलाई नै!