वर्षौंदेखि बनेको स्कुल रियुनियन प्रोग्राम पूरा हुन सकेको थिएन। स्कुल छुटेको १५ वर्षपछि सबै साथीभाइ भेट हुने आशले एकदमै खुसी थिएँ।
गोरूले चरेर बाँकी रहेको खेत जस्तै कहीँ कतै दाह्री जुंगाको रेखिने १६/१७ वैंशको उमेरमा साथीहरूसँग छुटि्एको थिएँ।
साथीहरूसँग छुटेको पनि १५ वर्ष भइसकेछ। यो अवधिमा सबै साथीहरूको बिहे भइसकेको थियो। अल्लारे उमेरका साथीहरू समयसँगै परिपक्व भइसकेका थिए।
सिस्नेरी गाउँपालिकाको उत्कृष्ट माध्यमिक विद्यालय जनक शिक्षा भएता पनि त्यो समयमा एसएलसी दिने विद्यार्थी मसहित सात जना थिए।
मलाई अझ पनि ती छ जना साथीको पूरै नाम याद थियो तर एसएलसीको बधाई कार्यक्रमपछि भेट्ने समय नै मिलेन।
त्यही भएर नि होला भोलि हुने रियुनियनका लागि एकदमै उत्सुक छु। साथीहरू अभिमन्यु, फुर्वा, नैना, सुवण, एलिना र जेकेको सल्लाह बमोजिम भोलिको लागि होटल पनि बुक गरिसकेको थिएँ।
नेपालमा नै भएको हुँदा रियुनियनको सबै चाँजोपाजो मैले नै मिलाएको थिएँ। सबै साथीहरू विदेशबाट आइसकेका थिए।
कदमा सानो देखिएता पनि पढाइमा अब्बल थियो अभिमन्यु। गहुँगोरो अभिमन्यू बोल्नलाई एकदमै लजालु थियो। उसको सपना डाक्टर बन्ने थियो त्यसैले पटकपटक असफल भएपछि ऊ बंगलादेश गयो। त्यसपछि उच्च शिक्षाका लागि डेनमार्क।
कालो वर्णित अग्लो कद भएको कम बोल्ने फुर्वा १२ पछि वैदेशिक यात्रा गएको थियो। उसले भने सोचेको जति पढ्न सकेन।
मध्यम परिवारमा जन्मेको फुर्वा परिवारको जिम्मेवारी सम्हाल्न युएई गएको थियो। उसले उतै होलसेलको व्यापार सुरू गरेको थियो। टाढा भएर पनि परिवारलाई राम्रोसँग हेरचाह गरेको थियो।
नैना सानैदेखि नक्कली थिई। नाटकमा रूचि भएकी नैनाले नायिका बन्ने सपना बुनेकी थिई। त्यसैले पढाइ सकेपछि अमेरिकाको यात्रा तय गरी। अहिले मार्भलको सुपरहिरो फिल्ममा काम गर्दै छिन्।
अर्कातर्फ हँसमुख र अंग्रेजीमा समेत दख्खल भएकी सुवर्ण गुरूहरूको प्रिय थियो। किनकी ऊ क्लास क्याप्टेन थियो। कक्षाको क्याप्टेन भएको ऊ साँच्चिकै क्याप्टेन बन्ने सोचमा थियो। त्यसैले सपना पूरा गर्न ऊ पनि सिंगापुर गयो। पाइलटको पढाइ सकेपछि बेलायत सिफ्ट भयो।
रूपसँगै बोलिचालीमा पनि निपूर्ण भएकी एलिनाको प्राविधिक क्षेत्रमा एकदमै रूचि थियो। रूचिका कारण गरेको मेहनतको गर्दा आज नासामा काम गर्दै छिन्।
कुरा हुँदा बारम्बार नेपालमा बसेर केही काम छैन, तिमी पनि यतै आऊ भन्थी। हुन पनि छ जना साथीमध्ये सबैभन्दा बढी मनले खाने साथी थिइ ऊ।
जेके हिसाबकिताब राख्नमा पोख्त थियो। मंगोलियन फेस भएको उसको अनुहार भरी कालो तिल कोठीले भरिएको थियो। ऊ हेर्दा पनि फूर्तिलो देखिन्थ्यो। ऊ पनि राम्रो भविष्यको लागि विदेशिएको थियो। अहिले जर्मनको बैंकमा काम गरिरहेको छ।
छ जना साथीहरूलाई सम्झिँदा आफ्नैबारे पनि धेरै कुराहरू सम्झिरहेको थिएँ। सबै जना विदेशमा थिए यता म मात्र नेपालमा। डिग्रीपछि राष्ट्रिय अनुसन्धान आयोगमा नाम निकाल्दा सबै साथीहरूले घर घडेरी गाडी लिइसकेका थिए। त्यतिबेला म भने गाडी भाडाको लागि घरमा पैसा माग्दै थिएँ।
हजुरबा र हजुरआमाको स्वर्गलोक भएपछि गाँउमा आमाबा बस्न सक्नुभएन। गाउँमा भएको जग्गा जमिन बेचेर काठमाडौंमा घर बनाउने निर्णय गर्नुभएको थियो। अपुग पैसा बैंकबाट झिकेर घर बनाउँदा सबै साथीहरूको छोराछोरी समेत भइसकेको थियो।
आफ्नो भने बिहे समेत भएको थिएन। सम्पूर्ण जवानी पढाइमा लगाएको थियो। बिहे गर्न खोज्दा नेपालमा बसेको केटोलाई के दिनु भन्ने सुन्दा साह्रै नमज्जा लाग्ने रहेछ। सरकारी जागिर, बाबाको चिना परिचय, कुल कुटुम्बकै भरमा मैले जिन्दगीभर कोसिस गर्दा नि नपाउने जीवनसङ्गिनी भने पाएको थिएँ। अझ राम्रो कुरा त उनी पनि नेपालमै बस्न रूचाउने साहित्यकार र परराष्ट्र मन्त्रालयमा सरकारी जागिरे।
अबेरसम्म नसुतेको देखेपछि श्रीमती पर्वतनन्दिनिले भनिन्- 'सुत्नु पर्दैन के सोचिरहेको, भोलि सबेरै उता नि जानुपर्ला नि, भोलिको लागि तयारी गर्नु पर्ला सुत्नुस्।'
त्यति भनेपछि उनी सुतिन्। तर म भने निदाउन सकिरहेको थिइनँ। घडीको सुइँले १२ बज्न लागेको देखाइरहेको थियो। साथीहरूको बारेमा सोच्दा-सोच्दै कतिखेर निद्रा लागेछ पत्तै पाइनँ।
भोलिपल्ट बिहान अबेरसम्म निदाएछु। श्रीमतीले उठाएपछि मात्रै निद्रा खुल्यो। फ्रेस भएर श्रीमतीले तयार पारेको खाजा दुई जनाले मिलेर खायौं।
म कार्यक्रमको लागि तयार भएर गाडी स्टार्ट गरे अनि होटल माउन्टतिर लागेँ। बाटोमा मनमा अनेक कुरा खेलेँ।
पैसादेखि हरेक हिसाबले मेरा साथीहरू मभन्दा अगाडि थिए। एक मनमा लाग्यो म पनि विदेश गएको भए अहिलेभन्दा धेरै पैसा कमाउन सक्थेँ होला। नेपालको घिनलाग्दो राजनीति सहन पर्दैन थियो होला। धुलो धुँवाबटा टाढा बस्न सक्थेँ होला।
मैले पनि उच्चस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य उपचार पाउँथेँ होला भन्ने कुराहरू खेल्दै थिए। त्यसपछि फेरि सोचेँ संसारको सबैभन्दा मूल्यवान् आमाबा मसँगै हुनुहुन्छ जुन मेरा साथीहरूसँग छैन।
यो कुराले मनलाई असाध्यै शान्ति दियो। हुन त मैले मेरो साथीहरूको डाहा गरेको थिइनँ न त इर्ष्या नै। नेपालको अवस्था, राजनीतिको गति, नेपाली जनताले पाएको दुःख देख्दा यी सबै मनमा आएको भावना मात्र थियो।
होटलमा साथीहरूसँग भेटेँ। खुसी साटासाट सँगै रमाइलो पनि गरेँ। तर पनि मनमा एउटै प्रश्नले सताइरहको थियो- नेपाल बस्नु गल्ती भयो!