भोलिपल्ट बिहान ११ बजे लोक सेवाको परीक्षा थियो। प्रदेश लोक सेवा आयोगले लिने परीक्षा काठमाडौँबाट पोखरा पुग्नु पर्ने। दिनमा भन्दा रातिको यात्रा अलिक सहज ठानेर रात्रि बसको टिकट बुक गरेँ। साँझ लगभग आठ बजेतिर बस कलङ्कीबाट छुट्यो।
बिहान पोखरा पुग्न गाडीमा ३० मिनेटको बाटो बाँकी थियो, अघिपछि खासै जाम नहुने पोखरामा त्यो दिन भने निकै जाम। मात्रै दुई पाङ्ग्रे सवारी पास भइरहेका थिए। बाटो खुल्ने आशा गर्दागर्दै घडीमा ९:३० भयो तर अवस्था भने यथावत्। त्यसपछि मेरो मन छटपटिन थाल्यो। म आत्तिएको देखेर पछाडिको सिटमा बसेको दिदीले सोध्नुभयो, 'केही समस्या भयो र नानी?'
मैले आफ्नो परीक्षा भएको र १०:३० मा परीक्षा केन्द्रमा पुग्नु पर्ने बताएपछि दिदीले बाइकमा लिफ्ट मागेर जाने सल्लाह दिनुभयो। सोही अनुरूप म गाडीबाट झरेर एउटा बाइक रोकाएँ। मेरो प्रस्ताव स्वीकार गरी उहाँले पछाडि बस्न आग्रह गर्नुभयो। केही अगाडि पुगेपछि मेरो परिचयसँगै कुन विद्यालयमा सेन्टर रहेको सोध्नु भयो। मैले जवाफ फर्काएँ।
विद्यालयको गेटमा पुगेपछि मैले धन्यवादका शब्दहरू प्रकट गर्न नपाउँदै आफूले लगाएको हेलमेट र मास्क खोल्दै पुनः प्रश्न गर्नुभयो, 'मलाई चिन्नु भयो त?'
त्यो उहीँ अनुहार थियो जोसँग त्रिभुवन विश्वविद्यालयको लाइब्रेरीमा पटक पटक आँखा जुधिरहन्थे।
'हजुर कसरी यहाँ?' मैले प्रतिप्रश्न गरेँ।
'अहिले दुवैलाई हतार छ फेरि कुरा गरौँला,' उहाँले बाइक अगाडि बढाइहाल्नु भयो। म परीक्षा सकाएर काठमाडौँ फर्किएँ।
डेरामा पुगेर नेट अन गर्ने बित्तिकै फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्टको नोटिफिकेसन आयो। प्रोफाइल खोलेर हेरेँ, तस्बिर उहाँको नै थियो। बायो हेरेँ जहाँ सबैभन्दा माथि शाखा अधिकृत एट नेपाल सरकार लेखिएको थियो।
हत्तपत्त साथी बन्ने प्रस्ताव स्विकार्दै म्यासेज बक्समा एउटा म्यासेज छाडेँ, 'बधाई छ अनि मलाई यति ठुलो सहयोग गर्नुभयो, धेरै धेरै धन्यवाद पनि।'
हामी लोक सेवाको तयारी गर्ने क्रममा लाइब्रेरीमा लगभग सँगसँगै हुन्थ्यौँ तर बोलचाल भएको थिएन।
रातिको लगभग १० बजेतिर म्यासेजको रिप्लाई आयो, 'मलाई धन्यवाद दिइरहनु पर्दैन। बरु म एउटा प्रस्ताव राख्छु मान्नुहुन्छ?'
मेरो मनमा कता कता डर लागेजस्तो भयो तैपनि 'हुन्छ भन्नुस् न कस्तो प्रस्ताव?' उहाँलाई बोल्नका लागि बाटो खुला गरिदिएँ।
उहाँले मसँग भेटेर कुरा गर्ने चाहाना व्यक्त गर्नुभयो। त्यसमा मैले पनि सहमति जनाएँ र भोलिपल्ट उहाँ काठमाडौँ फर्किएपछि नयाँबजारको एउटा क्याफेमा कफी खाने सल्लाह भयो।
हामीले तोकेकै समयमा दुवै जना पुग्यौँ। फर्मल सेतो सर्ट र कालो पेन्टमा हुनुहुन्थ्यो उहाँ। अग्लो पातलो ज्यानमा खुब सुहाएको थियो त्यो पोसाक। कफी खाँदै गर्दा हाम्रा केही औपचारिक कुरा मात्रै भए। साँझ झमक्कै परेकाले हामी क्याफेबाट निस्कियौँ। उहाँले मेरो हातमा प्लास्टिकले र्याप गरेको सामान थमाउँदै बिदा हुनुभयो।
म अचम्मित भएँ र हतार हतार डेरामा पुगेर त्यो खोलेँ। त्यहाँ एउटा पुस्तक थियो। साहित्यकार सुविन भट्टराईको उपन्यास 'प्रिय सुफी' सँगसँगै एउटा सेतो पेपरमा कालो अक्षरले लेखिएको प्रेम पत्र।
मेरो मुटुको धड्कनले असामान्य गति लिन थाल्यो। केही बेरमा त्यो प्रेम पत्र पढ्ने साहस बटुलेर पत्र खोलेँ जसमा उहाँले साथीको माध्यमबाट धेरै अगाडिदेखि नै चिनेको र मलाई देख्नैका लागि लाइब्रेरी गइरहने, आफू एकतर्फी प्रेममा रहेको कुरा व्यक्त गर्नुभएको थियो। अन्तिममा लेखिएको थियो- 'सरकारी जागिर नखाएसम्म तिमी सामु मनको कुरा राख्ने दुस्साहस गर्न सकिनँ, त्यसको लागि सरी।'
म नतमस्तक भएँ, सङ्घर्षको समय बिरानो सहर एउटा मन मिल्ने साथीको अभाव त आखिर मलाई पनि त खड्किरहेकै थियो। साँच्चिकै मेरो जीवनमा अब मैले चाहेजस्तै साथीको आगमन भएकै हो त? यस्तै कुरा सोच्दासोच्दै रातभर खासै निद्रा परेन। बिहान ५ बजेतिर उहाँलाई म्यासेज छाडेँ, 'साँझ एकैछिन भेटौँ न।' उति बेलै सहमति जनाएको प्रतिक्रिया आयो।
साँझ ७ बजेतिर हामी पाँगा दोबाटोमा भेट्यौँ र माथि उमा महेश्वरीको मन्दिरतर्फ लम्कियौँ। उहाँ अलिक असहज महसुस गर्नु भएको थियो, सायद त्यो प्रेम पत्रको प्रतिक्रिया नपाएर पो हो कि!
मन्दिरमा पुगेपछि हामी छेउतिर बस्यौँ, कीर्तिपुरको दृश्य देखिने गरी। उहाँको हातमा स्पर्श गर्दै भनेँ, 'हजुरको प्रस्ताव मलाई पनि मन्जुर छ।'
यत्ति भन्दै गर्दा हामी दुवैका आँखामा आँसु भरिइसकेको थियो। सायद हामी दुवैले एउटा सहारा पाएका थियौँ, आफ्नोपन पाएका थियौँ।
त्यसपछि उहाँले आफू शाखा अधिकृत पदमा पोस्टिङ हुँदासम्म गरेको सङ्घर्ष सँगसँगै लामो समयदेखि नियाल्नु भएको मलाई शब्दमा उतार्दै गर्दा मैले आँसु रोक्न सकिनँ। उहाँले मेरा आँखाका आँसुहरू पन्छ्याउनु भयो र हामी एकअर्काको अँगालोमा कसियौँ।
म झसङ्ग ब्युँझिएँ। बाहिर चकमन्न अँध्यारो, यताउता कोठाको भित्तो अनि म ओछ्यानमा थिएँ हत्तेरी! सपना पो रहेछ। कस्तो सपना देखेछु!
उठेर छेउमा भएको बोतल खोलेर पानी खाएँ। साँच्चिकै सपनामा देखिएका उहाँलाई बिपनीमा भेट्ने सौभाग्य प्राप्त होला त?