दर्जनौँ दिन, दर्जनौँ पल्ट रटिसकेपछि पनि
परीक्षामा बसेर
सम्झिनै सकेको थिइनँ-
नौ एकान नौ
नौ दुना अठार...
नौ साता?
त्यो परीक्षाको नतिजामा
'नौ'को गुणान तालिकाको जुन असर रह्यो
सोचेँ-
कास एक पटक फेरि पढ्थेँ त्यो तालिका।
डाक्टरी पढ्न दिएको प्रवेश परीक्षामा
गल्ती लगाएँ
केही बहु उत्तर प्रश्नहरूको जवाफ
जब डाक्टर पढ्ने विद्यार्थीहरूको नाममा मेरो नाम अटाएन
सोचेँ-
कास एक पटक अझैँ पढेको हुन्थेँ
भएका सबै नोट, पुस्तकहरू।
लोक सेवाको परीक्षामा
नआउला भनेर छोडेको प्रश्न आइदिएपछि
आउला भनेर सोचेको नाम आइदिएन
सोचेँ-
कास त्यत्ति एउटा प्रश्न नछोडेको हुन्थेँ।
दुई बल, दुई रन
अगाडि इतिहासले कुरिरहेको थियो
पछाडि अनुभवले तानिरहेको थियो
अनुभवले जित्यो,
इतिहासले हार्यो
सोचेँ-
कास त्यो एक मिनेट मेरो श्वासले फुकेर
गुल्सनलाई थोरै धकेलिदिन सक्थेँ।
जसलाई जति माया लागे पनि
जसले जति ख्याल राखे पनि
असफल भएपछि असफल हुनेहरू जसरी दुख्छन्
दुखेको देख्नेहरू त्यसरी दुख्न सक्दैनन्।
गुल्सन,
तिमी जसरी दुख्यौ, दुखिरहेछौ
तिमी जति अरूले दुख्न सक्दैनन्
नेपाली टिम,
तिमी चर्किए जति अरूले चर्किन सक्दैनन्।
अब गुल्सनहरू मात्रै किन?
खेलहरू मात्रै किन?
हामीले पनि हाम्रो जिन्दगीको लागि त्यही सिक्नुपर्नेछ
जे खेलाडीहरूले खेलको लागि सिक्नेछन्
असफलताले जहाँ दुखाएको छ
त्यही ठाउँ समातेर उठ्नु पर्नेछ हामीले
जिन्दगीको परीक्षामा त्यसरी उठ्नु पर्नेछ
जसरी उठेपछि फेरि नलागोस्-
कास यसरी नउठेको हुन्थेँ।
डियर जिन्दगी,
म तैँले फेरि लडाउनै नसक्ने गरी आउँदै छु
आई एम कमिङ फर यू।