यो फोटो तिम्रै हो आमा
‘ढिलो होस्, छोरै होस्’ भन्दाभन्दै छोरी जन्मिएकी तिमी
‘छोरी मरी, बडा घर परी’ भन्दाभन्दै कसो कसो हुर्किएकी तिमी
तिमी अहिले जस्ती पहिले कहाँ थियौ र!
मोटी घाटी थियौ
उज्याली र राम्री थियौ
जे लगाए पनि सुहाउँथ्यो
मिठो/नमिठो जे जस्तो पनि खपाखप खान्थ्यौ
र, पचाउँथ्यौ
तिमीले ल्याएको घाँसको भारी
पल्टाउन सक्दैनथे मान्छेहरू
तिमी दाउरा चिर्थ्यौ
र भारी हाल्थ्यौ
तिम्रो दाउराको उरुङ भारी देख्दा
जिब्रो टोक्थे लाठ्ठेहरू
हलो जोत्न पाएको भए कसरी जोत्थ्यौ कुन्नि!
समाजले गोरुलाई धरि तिम्रो अधीनमा देख्न चाहेन र पो
त्यही उमेरमा
त्यही रूपरंगमा
कसैले खिचिदिएको फोटो हो यो तिम्रो
यो फोटो तिम्रै हो आमा!
विवाहपछि तिमी परिवारको कठोर साँचामा पर्यौ
अनि बुहारीका अनेकन् बुहार्तनका बिच
न पर्याप्त खान पायौ
न बेलामा सुत्न पायौ
मनमा खेल्ने अनेकन् रहरका फूल
तिम्रा लागि तत्क्षण फुट्ने पानीका फोका जस्तै भए
सन्तान जन्माउने साँचोमा रूपान्तरित भयौ तिमी आफै
र बर्सेनि सन्तान जन्मायौ
गर्भधारण विशेष अवस्था हो
र यति बेला विशेष खानपान, हेरचाह र आराम चाहिन्छ भन्ने कुरा
तिमीले त सुन्न पनि पायौ कि पाइनौ
पहिलो सन्तान काखमा लिँदा
तिमी अठारकी थियौ
छब्बिसकी देखिन थाल्यौ
वर्ष दिनपछि दोस्रो जन्माउँदा
तिमी चौँतीसकी भइसकेकी थियौ
र उमेर फेदीमै हुँदा
तिमी रोगायौ र जीवनका भन्ज्याङमा पुग्यौ
र बैँसमै बुढी भयौ
यो फोटो तिम्रै हो आमा!
फोटामा हेर त
नाक तिम्रै हो
निधार तिम्रै हो
यी ओठ, यी आँखा र यो हिस्सी तिम्रै हो
हेर त तिम्रो गालाको कोठी
यो फोटामा कति स्पष्ट देखिएको छ
गालाको हड्डी, चिउँडो र घाँटी काटिकुटी तिम्रै हो
यो फोटो तिम्रै हो आमा।