हरेकले जस्तै हामी पनि धेरैजसो भविष्यकै कुरा सोच्ने गर्थ्यौँ। जहिले जसरी सोचे पनि सधैँ सँगै हुने, देशमै बस्ने अन्तिम निष्कर्ष हुन्थ्यो। एसएलसी दिँदाको प्रेम धेरैजसो कुरा काँचा नै हुन्थे। उहीँ सधैँको सबैको जस्तो म तिमीबिना त बाँच्नै सक्दिनँ। तर केटाकेटी उमेरमा पनि अलिक पाकी थिई ऊ, मलाई सम्झाउँथी पनि।
म अलिक चन्चले ठट्यौली पाराको, ऊ अलि शान्त, गम्भीर अनि भविष्यमुखी थिई। हरेक परिस्थितिलाई म उडाएर लैजान्थेँ, ऊ भने सबै पाटा केलाउन लाग्थी। कति पटक त मैले 'भागेर बिहे गरौँ' भनेर जबरजस्ती पनि गरेँ। तर ऊ सधैँ इन्कार गर्थी र भन्थी, 'अझै १२ सकेको छैन, यति चाडै बिहे गरेर के गर्ने हो? मुगलान पस्ने? मलाई नेपाल छोडेर आफू साउदी जाने? राम्रोसँग पढेर नेपालमै बस्नु पर्छ दुई जना सँगै। बिहे गर्न किन हतार गर्न पर्यो?'
१९ वर्षमै यस्तै यस्तै कुराले सम्झाउँथी। अनि म पनि हो त है भन्दै सहमति जनाउँथेँ।
म १२ उत्तीर्ण गरिसक्दा उसको मेडिकल कोर्स सकिएको थिएन। उसलाई दुवै जना नेपालमै बस्नुपर्छ भन्ने मात्र थियो जसरी हुन्छ। मलाई भने सरकारी जागिरमा आकर्षण थियो। म अब लोक सेवा तयारी गर्ने निधो गरेँ। ऊ भने पहिला पढाइ सक्छु, त्यसपछि आयोग पढे पनि पढम्ला, व्यापारतिर लागे पनि लागम्ला भन्थी।
मेरो लोक सेवा तयारी सुरु भयो। मन, तन लिएर पढ्न लागेँ। बेला बेला यत्रो प्रतिस्पर्धा देखेर आत्तिन्थेँ। ऊ सम्झाउँथी- सक्नुहुन्छ, पढ्नुस्, बल्ल तयारी गर्दै हुनुहुन्छ। अनि आँट आउँथ्यो मलाई, म अध्ययनमै लाग्थेँ।
एक दुई परीक्षामा अनुत्तीर्ण हुँदा मबाट लोक सेवा हुँदैन, म सक्दिनँ भनी हार खान्थेँ। ऊ मलाई आँट, भरोसा र हिम्मत दिन्थी।
केही समयपछि उड्डयन क्षेत्रको लोक सेवा पास भएँ। म के खुसी थिएँ र जति ऊ थिई। हतपतिँदै फेसबुकमा पोस्ट गरेकी थिई- 'बधाई छ माई बोय, किप इट अप।'
अझ भन्दै थिई, 'मेरो बाबाले पोस्ट देखेर छोरी भन्दै मुस्कुराउनु भयो। अब त बाबा पनि रेडी हुनुहुन्छ होला हाम्रो बिहेको लागि।'
खुसीको सीमा थिएन।
समय बित्दै गयो, ऊ मबाट टाढिन लागी। झगडा नभएको दिन हुन छाड्यो, सधैँ झगडा। केही कुरा भयो सम्झाउन खोज्यो कि भन्थी- 'तेरै अफिसमा राम्रा केटी होलान् नि, म नराम्री भएँ, बढी बोल्ने भएँ...' यस्तै यस्तै। बेला बेला त लाग्थ्यो खाएको जागिर पनि छोडौँ उसको लागि, प्रेमको लागि।
यस्तै चलिरह्यो, दुई मिनेट नबोल्दा आत्तिने ऊ दुई दिन नबोली बस्न सक्ने भई, दुई हप्ता नबोली बस्न सक्ने भई।
बिस्तारै कुरा पातलिँदै गयो। एक दिन ब्लक नै गरिछे। फोन हान्न खोजेँ, त्यो पनि ब्लक। नयाँ सिम लिएर फोन हानेँ, हेलो नभन्दै चिनिसकी र भनी, 'कल हान्नु पर्दैन अबदेखि मलाई, केही नाता छैन तिमीसँग, ए साँची म तिमीलाई चिन्दा पनि चिन्दिनँ।'
यो सुन्दा आँसुको खोला बग्यो, सिरानीको खोल बिना गल्ती भिज्यो, शरीरको टिसर्ट बिना गल्ती च्यात्तियो। त्यो रात १ वर्षभन्दा लामो भइदियो। समयले पनि मेरै विरुद्ध लाग्यो, सर्दै सरेन। जनतन बिस्तारै आफूलाई सम्हाल्दै गएँ। सहज थिएन उसको यादबाट टाढा रहन, हरेक घटनासँग ऊ जोडिएकी थिई। अब त पढाइ पनि बिग्रिसक्यो।
अफिसमा गल्तीहरू बढ्न थाले, हाकिमका गाली पनि बढ्दै गए। एक दिन त निलम्बन गर्ने सम्मकै गल्ती गरेछु। कुरा उठेको थियो धन्न जनतन कुरा मिल्यो, एक पटकलाई माफी पाएँ। तर आफूलाई कन्ट्रोल गर्न भने गाह्रै परेको थियो। दिन बित्दै गयो, बिस्तारै उसको यादबाट मुक्ति पाउँदै गएँ।
एक दिन उसको साथीको मेसेज आयो, 'संगम सन्चै छौ?'
'उम् ठिकै छ, तिम्रो के छ सुनाऊ न,' जवाफ फर्काएँ।
'के हुनु सबै ठिक छ, तिमी पो जागिरे भयौ। आफ्नो हालत यस्तै छ दिक्क लाग्छ,' केही असफलताको बिम्ब झल्काउँदै भनिन्।
'न आत्तिऊ न, समय सबैको आउँछ। मेहनती नै छौ, एक दिन पक्कै सफलता मिल्ने छ,' सान्त्वना दिँदै भनेँ।
'उम हो त्यो त, अनि सुन न तिमी एउटा कुरा थाहा पायौ?' प्रश्न गरिन्।
'खै के कुरा हो भन न, नयाँ केही थाहा पाएको छैन,' मधुर स्वरमा जवाफ फर्काएँ।
'हो र, तिम्रो भूपूको त बिहे हुने भयो रे नि। निम्तो आएन?' जिस्काउँदै भनिन्।
'ए ए हो र, साँच्चै? कोसँग हुने भएछ? कहिले रहेछ? केटा के गर्नी रहेछ?' प्रश्नमाथि प्रश्न गरेँ।
'उम् हो, तिमीसँग किन झूट बोल्नु, असोजको १३ गते हो रे बिहे त, केटा युरोप बस्छ रे, पिआर छ रे,' थाहा पाएको जति जानकारी दिइन्।
'ए हे भनेपछि पिआर वाला काकासँग हुने भयो बिहे? पहिला त नेपालमै बस्ने भन्थी, विदेश पो जाने अब,' निराशापनलाई लुकाउँदै जवाफ फर्काएँ।
'खै के के हो, उसको भाग्यमा तिमी थिएनौ होला सायद, पछि पछुताउँछे होला पक्कै,' ऊ मेरै पक्षमा थिइन्।
'खै के हो, जे होस् राम्रै होस्,' मैले भनेँ।
'निम्तो आउँछ होला तिमीलाई, आशीर्वाद दिन जानू ल,' जिस्काउन थालिन्।
'हाहा बिहे भाँड्छ भनेर बोलाउँदिन होली, ठिकै छ राम्रै सुन्न पाइयोस्, तिमीलाई पनि धन्यवाद है खबर पुर्याएकोमा,' यति भन्दै ऊसँगको कुराकानी टुङ्गाएँ।
भूपू नै भए पनि मन परेकी थिई, आत्मैदेखि रोजेको थिएँ, बिहे हो रे भन्दा कता कता नरमाइलो त लाग्दो रहेछ तर के गर्नु, चित्त बुझाउनै पर्यो।
एक दिन काम गरिरहेको थिएँ, एउटा नयाँ नम्बरबाट फोन आयो।
'हेल्लो संगम, चिन्यौ म फलानी (मेरी भूपू),' उताबाट आवाज आयो।
'उम् चिनेँ, के छ सन्चै छौ? कताबाट सम्झियौ आज?' जवाफ फर्काएँ।
'ठिकै छ अनि तिमी काम गर्नी एयरपोर्टमा हो है?' आत्तिँदै सोधी।
'उम् हो एयरपोर्टमै, किन नि?' प्रश्न गरेँ।
'मेरो टिकटको नाम मिस्टेक परेछ जानै दिएन के, मिलाइदेऊ न है प्लिज,' रिक्वेस्ट गरी।
एक मनले गर्दिनँ भने पनि उसको प्लिज काट्न कहाँ सक्थेँ र? ऊ जाने एयरलाइन्सको स्टाफलाई रिक्वेस्ट गरी नाम सच्चाउन लाइदिएँ।
उसको काम बन्यो। ऊ खुसी हुँदै भनी, 'धन्यवाद संगम, धन्न तिमी थियौ र काम बन्यो।'
ऊ अङ्गालो मार्न आई तर मलाई मन थिएन। अनि 'धन्यवाद तिमीलाई नै। हो, तिमी नभएको भए म यहाँ हुँदिन थिएँ सायद। सबै कुराको धन्यवाद पाउँछौ तिमीले, विगतमा जे भयो वर्तमान र भविष्य सुखद रहोस्' भन्दै शुभकामना दिएँ।
ऊ गई चेक इनतर्फ।
मनमनै भनेँ- धन्यवाद भूपू माया, तिमीलाई धेरै धन्यवाद।