'ए साइली, ह्या आइजा तो!' आफ्नै घरमा भित्र बाहिर गरिरहेकी माथ्लाघरे ठुली घर अगाडिको बाटोबाट हिँडिरहेकी आफ्नै उमेरकी छिमेकी साइँलीलाई हातको इसाराले आफूतिर बोलाइन्।
'किन हए दिदी?'
'आज बिहानै नुवाएको थिएँ, त्यही पनि टाउको चिलाएर हैरान बनायो, आइजा तो साइली यति जुम्रा हेर्दे तो!' भुइँमा लत्रिएको सारीलाई एक हातले माथि तान्दै एक हातले टाउको कनाउँदै, मुख बिगार्दै माथ्लाघरे ठुलीले बिन्ती बिसाइन्।
'भैँसीको साँडि कराएर हैरान बनाएर घाँस लिन जान लागेकी दिदी, चायाँले हो के हजुरको टाउकोमा जुम्रै हुँदैनन्,' साइली केही उम्किन खोजिन्।
'कति काम काम भन्छौ ए साइली, कहिलेकाहीँ त दिदीबहिनी बसेर दुःखम सुखम गरे नि हुन्छ नि, कसको लागि यत्रो दुःख गर्दिने हो र,' भन्दै टाउको कनाउँदै घरभित्र प्रवेश गरिन् र मकैको पोस्करबाट बनेको एउटा गोलो चकटी र काठको पिर्का लिएर साइँलीलाई बस्न अनुरोध गरिन्।
'यो दिदीले मलाई फसाइहालिन् नि, ल ल छिटो आउनु त फेरि रमेशको बाबा आउने बेला हुन लाको छ। उनलाई खाजा हुनै पर्छ नत्र फेरि रडाको मच्चाउँछन्।'
माथ्लाघरे ठुलीले कपाल फुकालिन् र साइँलीको अघिल्तिर टाउको ढल्काउँदै चकटीमा बसिन्। काठको पिर्कामा बसेर साइँलीले जङ्गल भित्रका ससाना जनावरहरूलाई खोजेर सिकार गर्न थालिन्।
'यता... यता..' साइली कपालको झाङभित्र सिकार खोज्दा खोज्दै केही माथि पुगेकी थिइन्। माथ्लाघरे ठुलीले हातको औँलाले टाउकोको देब्रे साइडतिर इसारा गरेपछि साइँलीका हात पनि सिकार गर्न केही ओरालो झरे।
'साइली तँलाई एउटा कुरो थाहा छ, त्यो रामकृष्णेको छोरो छ नि। हो, त्यसले त विवाह गरेछ नि,' माथ्लाघरे ठुलीले भनिन्।
'उम् दिदी मलाई पनि राइलीले भन्थिन्, मलाई फेसबुक हो कि के भन्छन् नि दिदी त्यसमा फुटो नि देखाइथिन्,' माथ्लाघरे ठुलीको हातमा माउ सिकारी राखिदिँदै साइँलीले भनिन्।
'हो यही साँडिले हो मलाई दुःख दिने, अलि तल तल पनि हेर त साइली आज त अल्लि आनन्दले सुत्छु कि!'
हातको जुम्रालाई दुई बुढी औँलाको क्यापमा राखेर मारिन् अनि औँलामा भएको अलिअलि रगतलाई ढुङ्गामा पुछ्दै माथ्लाघरे ठुलीले आफ्नो कुरो अगाडि बढाइन्।
'त्यही त, अस्ट्रेलिया हो कि कुन ठुलो देशमा भएर पनि विवाहमा गाउँलेलाई भोज खुवाउन पर्छ भनेर गाउँको घरमा पनि भित्राएन छ। उतै बुटवल तिर राखेको छ रे।'
'त्यस्तै हो के दिदी, धेरै पैसा हुनेहरू झन् लोभी हुन्छन् के। अझ त्यो बुढीको कान घाँटी सबै खाली थियो, आफ्नी बुढी लई गहना समेत नबनाइदिनेले के गाउँलेलाई पार्टी खुवाउँथ्यो! ह्या दिदी जुम्रा छैनन् के मैले त्यतिकै ठुङ मात्र मार्देको।'
'तँलाई केको हतार हो के साइली, यता हेर्दे त यता' ठुलीले यस पटक हातको औँलाले पछाडिको भाग तिर इसारा गरिन् अनि आफ्नो कुरा थपिन्, 'अनि उता बुटवलतिर त खुवाएको होला नि। यता बुढीलाई गाउँमा लिउन लाज लागेर हो कि?'
भर्खर केही दिन मात्र भएको हुनुपर्छ माथ्लाघरे ठुलीको कुखुराले चल्ला निकालेको। गोठ तिरै आमाको वरिपरि आमाले दिएको चारो खाँदै आमासँगै चरिरहेका थिए। पोथी कटकट.. कटकट.. गर्दै केही चारोको आसमा घरको आँगनतिर लम्कियो। आमाको पछि पछि लागेर साना चल्ला पनि आँगनतिर नै ओर्लिए। ठुलीले कपाल साइली तिरै ढल्काएकी थिइन्। हलचल नै नगरी हा हा भनेर धपाउन खोजिन्। तर उनको आवाजले पोथी रोकिए पनि त्यहाँबाट भाग्न मानेन। पोथीले त्यही बिस्टाइदियो। त्यो देखेपछि साइँलीको हात र काखबाट उम्किएर ठुलीले रिसाउँदै कुखुरालाई चप्पलको झटारोले हानिन्। उनको झटारोले चल्लालाई जोगाउँदै पोथी गोठ तिरै लाग्यो तर चल्ला भने तितरबितर भए।
'यिनलाई दान, मरिहाले नि' भन्दै फतफताउँदै आँगनको डिलमा रहेको पिँडालुको पात चुँडाइन् र त्यही पातको सहाराले कुखुरोले बिस्टाएको फोहोरलाई समाती गोठ तिरै जोडले मिल्काइन। अनि पुनः चकटीमा बसेर साइली तिरै मुन्टो ढल्काइदिइन्।
'यो कुखुरो भन्ने पाल्ने जात त हैन। अँ साँच्चै, बुटवलतिर भोज खुवायो होला नि रामकृष्णेको छोराले,' उनले जिज्ञासा राखिन्।
'ह्या दिदी पनि, केको खुवाउस् त नि त्यो लुइँचाले! केही पनि हैन रे। त्यही भोज भतेर, जन्ती नगर्ने भनेर त रामकृष्णेले यता नभित्राएको अरे। त्यसको फेरि छुट्टै छाँट छ, छोराको त्यस्तो। छोराले त हाम्रो गाउँमा भोजभतेर खर्चको पैसा दुई तीन लाख रुपैयाँको गाउँमा केही सहयोग गर्ने हो रे मैले सुनेकी,' साइँलीले मुख र हात एकै चोटि चलाइन्।
'सहयोग रे! त्यस्तै हो के साइली धेरै पढेपछि मान्छे बहुलाउँछ भन्छन्, जे भए पनि एक पटक गर्ने बिहेमा भोज भतेर त गर्नुपर्छ भो,' ठुलीले भनिन्।
'अझ त्यो रामकृष्णेको चुरीफुरी बेग्लै छ। छोरो अस्ट्रेलिया अमेरिका छ भन्दै धाक लाउँथ्यो, गाउँलेकोमा कसरी मुख देखाउने रहिछ,' साइँलीले टाउकोमै साना जुम्रालाई दुई बुढी औँलाको सहाराले मार्दै भनिन्।
'रामकृष्णेले त धूमधामसँग बिहे गर्ने भनेर चार वटा खसी नै पालेको थियो नि तर त्यही छोराले नै नमानेको अरे। लाजले होला गाउँमै निस्केको छैन रामकृष्णे।'
'अ साँच्चै दिदी, हजुरको छोराको विवाहमा कति खर्च भयो कुन्नि?'
'ए साइली यता हेर त यता खुरखुर गरिराको छ,' टाउकोमा हतार हतार आत्तिँदै हातले कनाउँदै साइँलीको प्रश्नको उत्तर दिइन्।
'भयो नि गहना, जन्ती भोजभतेर गर्दा त १५ लाखै भेट्यो होला। १० लाख त अझै ऋणै छ। एक पटकको विवाहमा नि के कन्जुस्याइँ गर्ने के साइली! मरिलानु के नै छ र एक बारको जुनीमा!'
'ओ दिदी तीन बज्न लागिसकेछ। म जान्छु। अहिले रमेशको बाबा आउने बेला भयो। फेरि खाजा भएन भने उफ्रिन्छन्,' माथ्लाघरे दिदीको टाउकोबाट आफ्नो हात हटाइन् र हतार हतार उठ्दै भनिन्।
'ए साइली, च्या खाएर जालिस्। के त्यसै जान्छेस्!'
ठुलीले आग्रह गरिन् तर उनको आग्रहले साइँलीलाई रोक्न सकेन। 'भो भो दिदी' भन्दै आफ्नो घर तिर लागिन्।
***
'भाइ कति पैसा भयो?'
'त्यस्तै सात लाख पचास हजार जति भयो अन्टी।'
यो संवाद माथ्लाघरे ठुली र सुन पसले बिचको हो। सधैँ घाम लागेको एकदम सफा र हँसिली ठुली अहिले केही तुवाँलो लागेको जस्तो अनुहार लिएर हिँडिरहेकी छिन्।
विवाह गरेको एक वर्षमै बुहारीलाई ठुलो रोग लाग्यो। हस्पिटलले बिस लाख रुपैयाँ जति लाग्छ भनेको छ। खाडीको कमाइले के नै पो हुन्छ र! ठुलीको छोराको साथमा दुई/तीन लाख थियो होला। त्यसमा बाह्र लाख जति ऋण खोजेर विवाह उम्कायो।
ठुली र उनको छोराले धेरै आफन्त साथीसँग गुहार मागे तर विवाह गर्दा धेरैसँग पहिल्यै नै ऋण लिएकोले सबैले बहाना निकाले। अहिले बल्ल आएर ऋण खोजी खोजी विवाह गरेकोमा माथ्लाघरे ठुली पछुताउँछिन्। त्यही भएर आफ्ना र बुहारीका सबै गहना बेच्न बाध्य हुन पर्यो।
गहना बेचेर फर्कँदै थिइन्, यत्तिकैमा ठुलीको मेसेन्जरमा कल आयो।
'हेल्लो!'
'हजुर आन्टी नमस्ते, म प्रदीप बोलेको।'
'को प्रदीप, रामकृष्णको छोरा?'
'हजुर हजुर, अहिले कस्तो छ बुहारीलाई?'
'के हुनु, ठिकै छ बाबु। पैसाको अभाव छ।'
'मैले विवाहको भोजभतेरको पैसा समाजमा लगाउने सोचेको थिएँ। त्यो तीन लाख रुपैयाँ हजुरलाई दिने निर्णय गरेँ। त्यो मदनलाई खाता नम्बर पठाउन भन्नू होला है।'
यति भन्दै रामकृष्णेको छोराको फोन कट भयो।
यसैबिच माथ्लाघरे ठुलीले मनमनै भन्न चाहेको कुरा मुस्कानसहित फ्याट्ट बाहिर निस्कियो, 'मोरो बहुत दानी छ, छोरा सबैका यस्तै भए त...'