युधिष्ठिर ढुंगानडाँडोबाट तल कलकल बगिरहेको सुनकोशीलाई हेर्छ। देउरालीको बरको चौतारीमा थकाइ मार्न बसेका बटुवाहरूतिर नजर गाड्छ। सबैलाई हाँसी खुसी देख्छ। ढुंगानडाँडो जति शान्त र स्थिर छ। ठुलोबाबु उर्फ युधिष्ठिरको मन बहत्तर सालको भूकम्प अनि सयौँ पराकम्पहरूले थिलथिलो पारेको उसको घरभन्दा पनि छियाछिया भइसकेको छ।
छिमेकी रामेकी आमाको घर जानुभन्दा अन्त उसको जाने कुनै गन्तव्य छैन। कोही पागल युधिष्ठिर भन्थे त कोही 'साइको' भन्थे। ठुलोबाबु जीवनदेखि हार खाएर सुनकोशीमा अँधेरी रातमा डुब्न पुग्याथ्यो। पौडी खेल्न जान्ने ऊ तैरियो। मान्छेहरू मर्न सजिलो भन्थे तर होइन रहेछ भनेर उसले आफैसँग भन्यो।
एक रात टहटह जुनको उज्यालोमा उसलाई मदहोस पारामा बनारस पुग्ने जुक्ति फुर्यो। ऊ हिँड्न ठिक्क पर्यो तर कैली बाख्री ब्याई। ऊ साना पाठापाठीलाई दूध चुसाउन थाल्यो। उसलाई आफ्नो जिन्दगी ढुंगानडाँडोमा टक्क अडिएको जस्तो लाग्यो।
युधिष्ठिरले सुनकोशीजस्तै सुसाउँदै बग्ने वाला जिन्दगी पनि जिएको थियो। उसले सुनकोशी गडतिरको स्कुलमा पढेको सम्झ्यो। उसका दोस्तहरू आँखा अगाडि आए। त्यसपछि उसका आँखा तिमाल डाँडामा परे। उसले काठमाडौँ पुगेर स्नातक पढाइ पूरा गरेको सम्झ्यो। उसको आँखामा उसकी प्रेमिका सम्पदा उसै गरी नाचिरही।
खाँडादेवीको डाँडो हुँदै एउटा 'हेलि' काठमाडौँ उडिरहेको देख्दा ऊ पनि ठुलो हवाईजहाजमा चढेर जापानको ओकिनावा ल्यान्ड भएको सम्झ्यो। झन् ओकिनावामा उसले जापनिज तरुनी हिविका पट्याएको र नागोयामा सिमरनसँगको मायामा लपक्कै भिजेको स्मृतिहरू मानसपटलमा सलबलाए। त्यति मात्रै होइन, ऊ विश्वविद्यालय पढ्न नाखाचुगावासम्म पुगेको थियो।
युधिष्ठिर नोस्टाल्जिक भयो।
ठुलोबाबु दसैँको टीकाको दिन सिम्पानीको पँधेरोमा आठ महिना पूरा नहुँदै जन्मियो। दसैँमा माइत जान ठिक्क परेकी आमोईलाई पाँच दिनको पानीको जोहो गरेर मात्रै पुग्ने थिएन। चार वर्षकी बालख छोरीलाई हेर्न नसक्ने भन्दै आफ्नै खसमले च्याँखे थापेका थिए। आमोईले मनकारी रामेकी आमोईलाई छोरी जिम्मा लगाइन्। ठुलोबाबु पेटमा थियो। गैरीगाउँसम्म ठुलो भुँडी लिएर पुग्न दश घण्टाले पुग्दैनथ्यो। छिमेकी काउसी भुजेलको माइत उतै भए पनि आमोई रामेकी आमाको जस्तो विश्वास मान्दिन थिइन्।
निकै बेरसम्म बाउनी पँधेराबाट नफर्केपछि रामेकी आमा गाग्रो नबोकी सिम्पानीतिर लागिन्। बाटाभरि मनमा अनगिन्ती नराम्रा सोचाइहरू आइरहे गइरहे। बाहुनीलाई केही नहोस् भन्दै तिमालका भिउसिनदेखि खाँडादेवी र कुशेश्वर महादेवलाई भाकल गरिन्। टाढाका तीर्थहरू पशुपति र मनकामनालाई पनि सम्झँदै कतै गाईको दूध त कतै निक्खर कालो बोको भाकिन्। पँधेरो नजिकै पुग्दा बाउनी सुत्केरी भएको देखिन् र छोरो जन्मिएको थाहा पाइन्।
सात महिनामा नजन्मिएर आठ महिनामा जन्मिएको बालक पृथ्वीनारायण हुन नसक्ने जिकिर गर्दै धुरन्धर पण्डित रघुनाथ शास्त्रीले न्वारन गर्नु नपर्ने घोषणा मात्रै गरेनन् कि उक्त बालक महिना दिनभन्दा बढी पृथ्वीमा नरहने ठोकुवा गरिदिए। रामेकी आमाले भने रघुनाथ नक्कली शास्त्री भएको भन्दै सानो बालकको नाम ठुलोबाबु राखिदिइन्।
ढुंगानडाँडामा दिनहरू सामान्य ढङ्गले बित्दै जानुमा त कसैको चासो थिएन तर ठुलोबाबु पनि बाँचिरह्यो, यसमा सबैको चासो थियो।
ठुलोबाबु आफ्नी दिदेसँग सिम्पानी, देउराली, म्याउचीडाँडो मात्रै होइन रामेकी आमासँग फरिया समात्दै रातमाटे बजार झर्थ्यो। रातमाटे बजार आउँदा थिन आरारोट बिस्कुट र ल्याक्टो चकलेट रामेकी आमाले किनिदिन्थिन्। आफ्नी आमोईसँग गँगटे खोला र नौबिसे खेतमा ओरालो आफै झर्थ्यो भने उकालो आमोईले डोकोमा बोकेर ढुंगानडाँडो पुर्याउथिन्। ठुलोबाबुले पृथ्वीमा तीन वर्ष कटायो र आफ्नी दिदे नुनकुमारीसँग स्कुल जान थाल्यो।
स्कुलमा उसको दोस्ती बोधे, शिवे र गठेसँग भयो। दिपाकर सरले ठुलोबाबु नाउँ स्कुलमा सुहाउँदैन भनेपछि बाले उसको नाम युधिष्ठिर राखिदिए। यमराज, टिकाराम, दुर्गाराज, विजयकुमारजस्ता नाउँहरू बालाई मन परेनन्।
युधिष्ठिर रत्नाकर जस्तो डाकूँ भयो। अम्मर सरको निष्कर्षमा सबै सरहरू सहमत भए। रुञ्चे बाँडाको मकै माडेको केश होस् कि रामलालको उखु चोरिएको काण्ड होस्। युधिष्ठिरको संलग्नता हुन्थ्यो। अम्मर सर थप्दै भन्थे, 'रत्नाकर भएर पनि बिग्रिएको केही थिएन, रत्नाकर क्लास फस्ट भइरहनु चाहिँ ताजुब लागिराछ, यो मान्छे त पढाइमा उत्कृष्ट भइरह्यो, चोरी काण्डमा पनि मुछिरह्यो।'
युधिष्ठिर स्कुलको काउसो भयो। त्यसो त स्कुल छुट्टी भएपछि साँझ नपरीकन कहिले ढुंगानडाँडो फर्किएन।
जब युधिष्ठिरले प्रावि तह पढाइ सक्कायो। ऊ र प्रथम अर्थात् क्लास फर्स्ट पर्यायवाची शब्दजस्ता भए। जसरी जन्मँदै मान्छेहरू मर्छ भनेर भनिरहन्थे अबदेखि फर्स्ट हुँदैन भन्ने आवाजहरू स्कुलमा चर्को सुनिन्थ्यो।
कक्षा ६ मा थापाथुम्काकी आशा थापा स्कुलको हाम्रो मुकाममा मिसिन आइपुगी। ऊ सुनकोशीगढ तिरकी केटीहरूभन्दा तुलनात्मक रूपमा राम्री देखिन्थी। काठमाडौँको हावापानीको असर उसको रूपमा मात्र होइन स्वभावमा पनि ऊ सरल थिई। उसले गठेको आग्रहमा आसालाई एउटा लभ लेटर लेख्यो। बोधकुमारले छुट्टी भएपछि आशालाई खुसुक्क लभ लेटर दियो। लभ लेटर स्कुल पढ्न आउने सबै थुम्कालीहरूले पढे।
मुख्य अभियुक्त युधिष्ठिर ढुंगाना किटेरै गठे र बोधेलाई कडा कारबाही हुनुपर्छ भन्दै थुम्कालीहरूले होहल्ला गर्दै अफिसमा मुद्दा दर्ता गरे। थुम्केली विद्यार्थीहरूले उनीहरूविरुद्ध चर्को नारा लगाए। मुद्दाका वादी/प्रतिवादी न्यायाधीश गुरु प्रेम बस्नेतको इजलासमा हाजिर भए। हेडसर आए। अम्मर सर पनि आइपुगे।
युधिष्ठिरले लभ लेटर लेखेको स्वीकार गर्यो। प्रेम सरले ढाका टोपी मिलाउँदै जसले लभ लेटर लेखेको हो भने। 'लौ अब हामीलाई पढेर सुनाऊ' भन्दै लभ लेटर तेर्स्याइदिए। युधिष्ठिर लाजले पानी पानी भयो। हेडसर मुसुक्क हाँस्दै बाहिरिए। प्रेम सरले उक्त लभ लेटर खल्तीमा हाले। बोधकुमारले भन्या थ्यो- प्रेम सरले त्यो लभ लेटर आफ्नी प्रेयसीलाई पढेर सुनाउँदै प्रेमिकाको गालामा चुम्मा खान्छन्।
स्कुलमा युधिष्ठिरको फर्स्ट ब्वाईको यात्रा जारी राख्यो। प्रेम सरको प्रेमपूर्ण सुझाव र अभिव्यक्तिलाई समेत युधिष्ठिरले मतलब गरेन। कक्षा आठमा स्मारिका क्षेत्री स्कुलमा भर्ती हुन आइपुगी। स्मारिका क्षेत्री 'मिस सुनकोशी' जस्ती थिई। सुनकोशीगढ तिर आसपास स्मारिका जस्ती सुन्दरी सबैले पहिलो पटक देखेका थिए। उसै गरी गठेलाई लभ लेटर खिपे। स्मारिकाले प्रेम पत्र गुपचुप नै राखी। स्मारिका र कन्यासरको डिप लभ छताछुल्ल भयो। गठे मुरमुरियो। स्कुलले हामीलाई रेस्ट्रिकेट गर्यो। एक महिनापछि रेस्ट्रिकेटको निर्णय फिर्ता लिइयो।
अनेकौँ घुम्तीहरू पार गर्दै उसले फर्स्ट डिभिजनमा एसएलसी पास गर्यो। उसका दोस्तहरू फेल भए। ऊ प्रवीणता प्रमाणपत्र तह पढ्न काठमाडौँ हान्नियो।
सहरका जहरहरूसँग जुध्न सजिलो भएन। माइते ठुलाको कमरा छोडेर आफ्नै कमरा लियो। प्रत्येक बोर्डिङ स्कुलमा ढोका ढकढकायो। सातदोबाटोको स्कुलमा पढायो। सिमरन र पूजाले उसलाई लभ लेटर लेखे। पूजासँग डेट गयो। प्रवीणता प्रमाणपत्र तहमै पढाइ गान्धी डिभिजनमा उत्रियो। वाणिज्य शास्त्रमा विश्वविद्यालय टप गर्ने लक्ष्य लिएर शंकरदेव क्याम्पस भर्ना भयो।
मूल घर पर्वत भएकी सम्पदासँग प्रेमको चरम बिन्दुमा पुग्यो। युधिष्ठिरको कौशलटार भित्रको तेर्साटारको कोठामा सम्पदा र युधिष्ठिरले सयौँ औँसी र पूर्णिमाका रातहरू बिताए। लाँकुरी भन्ज्याङ र नगरकोट पुगे। वसन्तपुरमा बिताएका क्षणहरूको कुनै लेखाजोखा थिएन। सम्पदा अचानक गायब भई। उसले युधिष्ठिरलाई 'इनफ इज इनफ' भनी।
अन्धो प्रेममा परेको युधिष्ठिर प्रेम वियोगले पागल भयो र कुलतमा फस्न पुग्यो। एक दिन बिहानै रक्सी पिउँदै गर्दा उसलाई ढुंगानडाँडाको याद आयो। स्कुलको जागिर छोडिसकेको थियो। गान्धी डिभिजनका आइए र बिबिएसका प्रमाणपत्रहरू बोकेर ऊ पुनः ढुंगानडाँडो फर्कियो। उसको दैनिकी गँगटे खोला र नौबिसेका खेतका आलीहरूमा बित्न थाले। गाई भैँसीको स्याहार गर्नु र गोठालो लाग्नु युधिष्ठिरको दैनिकी भयो।
चानचुन दुई वर्ष ढुंगानडाँडोमा बस्दा चार जना केटीहरूले बेरोजगारी भन्दै युधिष्ठिरलाई रिजेक्ट गरिदिए। ग्वाल्टारकी सुललिता बराल असाध्ये राम्री लागेकी थिई। उसले काठमाडौँमै पुगेर सम्पर्क गर्ने भन्दै उसको नम्बर लिएर काठमाडौँ लागी।
सुललिताले ढिलो फोन गरी। तथापि युधिष्ठिरलाई एयरपोर्टमा अलबिदा भन्न आइपुगेकी थिई। सुललिता र युधिष्ठिर फेसबुकमा कुराकानी नियमित गर्ने र जापानबाट चाँडै फर्किएर बिहे गर्ने सहमतिका साथ छुटे।
ओकिनावामा युधिष्ठिरका सङ्घर्षका दिनहरू पुनः सुरु भए। सङ्घर्षको उच्चतम बिन्दुसम्म सङ्घर्ष जारी राख्नु पर्छ भन्ने सबक युधिष्ठिरले काठमाडौँ खाल्डोमै सिकेको थियो। दैनिक स्कुल र पार्ट टाइम जबको धपेडीले युधिष्ठिरको शरीर केही कमजोर भए पनि मन हल्लाउन सकेन। स्याम्स नामको रेष्टुरामा मज्जैले भाडा मेसिनमा हालेर मस्काउनु युधिष्ठिरको नाइट काम थियो। नाहा सहरको चोकमा उसको हिविकासँग भेट भयो। ओकिनावाको ऊमिमा युधिष्ठिर हिविकाको बिकिनी र आकर्षक शरीर देखेर लजायो र लोभियो पनि।
समय ओकिनावाको समुद्र जसरी स्थिर के बस्थ्यो र? थप अध्ययनार्थ युधिष्ठिर नागोया पुग्यो अनि बिस्तारै ओकिनावा र हिविका ओझेल पर्न थाले। रुमी मिसले कहिलेकाहीँ सन्चो/बिसन्चो सोध्थिन्। युधिष्ठिरले नागोयामा चार वर्षे सिनियर स्कुल सक्काएर नाखाचुगावामा विश्वविद्यालयको निमित्त भर्ना हुँदा नागोया इमिग्रेसनले ओभर वर्क भन्दै तिस दिनभित्र आफ्नो देश फर्कन फर्मान जारी गर्यो।
विनाशकारी भूकम्पले ढुंगानडाँडोमा युधिष्ठिरलाई परिवारमा एक्लो बनाएको थियो। उसलाई पोइल हिँडेकी आफ्नी दिदे नुनकुमारीको खुब यादले सताउँथ्यो। युधिष्ठिरले अतीत सम्झ्यो र फेरि टोलायो।
'आमा! युधिष्ठिर ढुंगानाको घर कुन हो?'
युधिष्ठिर उठेर हेर्न खोज्यो। दुवै खुट्टाहरू निदाएका थिए।
फेरि नारी स्वरले प्रश्न गर्यो, 'आमा, युधिष्ठिरले बिहे गरे कि नाइँ?'
युधिष्ठिरको आँखा अगाडि प्रश्न कर्ता हाजिर थिइन्। उसलाई फेरि जिजीविषा जागेर आयो।