जूनको महिना गर्मी ह्वात्तै बढेको छ। अब फूलहरूलाई नियमित पानी दिइएन भने सुकिमर्ने हुन्छ। अरू बेला कम्पनीको कामले व्यस्त भइन्छ। यद्यपि साँझपख, बिदाको दिन अथवा फुर्सदको समयमा फूलहरूलाई पानी दिँदा एक प्रकारको आनन्द अनुभूति हुन्छ।
'यो दुङ्नामु मर्दामर्दै बाँचेको यसपालि। बूढो र कमजोर भइसक्यो' मैले मनमनै भनेँ र त्यसको फेदमा पानीको पाइपलाई निकै बेर छोडिदिएँ। पानी मजाले फैलियो। विस्टेरिया जातको यो सेतो र बैजनी फूल मलाई औधी मन पर्छ। जब यो झुप्पा भएर झुन्डिन्छ, फूलैफूलको सानो झरना जस्तै सुन्दर देखिन्छ। कोरियनहरू यसलाई दुङ्नामु भन्छन् जसको शाब्दिक अर्थ 'बत्तीको बोट' हुन्छ।
सँगैका ट्युलिप र अन्य पुतली फूलहरू सबै राम्ररी हुर्केका छन्। सन्तोष लागेर आयो। पानी दिँदै अगाडि बढिरहेको थिएँ। तीन साल अगाडि रोपेको गुलाफको झाँगनेर पुगेँ। यो गुलाफ मैले सोचेको भन्दा राम्ररी सप्रेर आयो। हिउँदको जाडोमा कक्रेर मर्छ कि भन्ने चिन्ता लागेको थियो तर यो त झन्झन् बाक्लो र घना भएर फैलियो। बरु ती अजेलियाका दुई झाँग पो कच्रेर बढ्नै सकेनन्।
गुलाफको झाँगमा अडिएर केही बेर पानी दिएँ- धरर्र...! अचानक झाँगबाट एउटा सानो चरा भुर्र उडेर गयो। मलाई अनौठो लाग्यो- यो काँडाघारीभित्र यो चरा के गर्दै थियो? मैले यसो पातहरू पन्छाएर हेरेँ। तब देखेँ उसको सानो चिटिक्कको गुँड। गुँडमा पाँच वटा नीला अन्डाहरू। मलाई बडो गज्जब र सन्तोषको अनुभूति भएर आयो। जमिनदेखि डेढ फिट जतिको उचाइमा झाँगको एकदमै भित्री भागमा, निकै सुरक्षित तरिकाले लुकाइएको उसको गुँड। यत्रो दिनसम्म मैले समेत नदेखेको उसको त्यो सिक्रेट घर! अहो! कस्तो न्यानो भएर आयो मन। यो सानो आकारको खुसी थियो तर चराचुरुङ्गी मन पराउने म जस्ताको लागि पर्याप्त अर्थपूर्ण थियो।
सोचेँ, मानवहरू गुलाफमा कि फूल देख्छन् कि काँडा। फूललाई प्रेम, सुन्दरता या सुखको बिम्ब दिन्छन् भने काँडालाई अवरोध, धोका या दुःखको प्रतीक मान्छन्। ज्यादासे ज्यादा फूल टिप्न पर्छ भने काँडासँग नडराऊ भन्छन्। अथवा जिन्दगीलाई सन्तुलनको संज्ञा दिन फूलसँगै काँडा पनि हुन्छ है भन्छन्। अथवा हदै भए फूल झर्छ तर काँडा झर्दैन सम्म भन्लान्। हामी मानवले देख्न नसकेको यो सानो वनचरीले देख्दो रहेछ। गुलाफको झाँग कसैको घरको घडेरी पनि हुन सक्दो रहेछ। यसका काँडादार डाँठहरू बलिया खम्बा। यसका पातहरू ओत लाग्ने छाना। अहो! कस्तो मनमोहक! वनचरीले गुलाफको काँडादार बोटमा आफ्नो घर देख्दो रहेछ!
पानीको पाइपलाई भुइँमै केही बेर त्यसै छोडिदिएर गोजीबाट मोबाइल झिकेँ। त्यो गुँडको फोटो खिचेँ र 'नीला अन्डाहरू' क्याप्सनसहित फेसबुकमा पोस्ट्याएँ। अनि आफैसँग बात मार्दै भनेँ, 'कुनै पनि अवरोध गर्नु हुन्न। अबदेखि पानी दिँदा ध्यान पुर्याउनु पर्नेछ।'
त्यो चराले मलाई देखेको हुनाले बिच्किएर गुँडै छोड्ला कि भन्ने एक किसिमको झिनो चिन्ता पनि लागेर आयो। फेरि सोचेँ 'आ.. त्यति सारो त हच्किएन होला, गुँडै छोड्ने गरी।' अबदेखि जबसम्म उसले बच्चाहरू निकाल्दैन म यो झाडीको छेउछाउ जाने छैन। गुलाफलाई पानी पनि परैबाट अलग्गै दिनेछु।
भोलिपल्ट मैले टाढाबाट आलुचाको बोटमा उक्त चरोलाई देखेँ। केही बेर हाँगामा फात्राक फुत्रुक्क यताउता गर्यो। वरपर हेर्यो अनि सुरक्षित महसुस गरेपछि भुर्र गुलाफको झाडीभित्र उडिपस्यो। यो कुन चरो हो? यसको के नाम हो? यो कहाँको रैथाने हो? मलाई केही थाहा भएन। संसारका साना जति सबै चराहरूलाई म हुन्डीमुन्डीमा फिस्टा भन्ने गर्छु। यसलाई पनि फिस्टा नै मानिदिएँ। हरियो, कालो र खैरो मिसिएको त्यसको भुत्लाको रंग, पुच्छर जीउको अनुपातमा लामो, चुच्चो पनि मनग्ये लामै। भँगेरा र कुनै हरियो चरालाई एउटै साँचोमा हालेर निकालिएको जस्तो उसको आकृति।
उसको घर संसारलाई दक्खल नपुर्याउने हिसाबले मैले जोगाएर फूलहरूलाई पानी दिँदै गइरहेँ। केही दिनसम्म मैले त्यस चरालाई कामबाट आउँदा या जाँदा विचार गरिरहेँ र के थाहा पाएँ भने अहिले त्यो ओथारो बसिसकेको छ। त्यसपछि म झनै होसियारीपूर्वक फूलबारीमा काम गरेँ।
पुग नपुग दुई हप्ता जति समय बितेको हुँदो हो। म दिउँसोको खाना खाएर केही समय आराम गर्न भनी आराम कक्षतिर लम्किरहेको थिएँ। मैले गुलाफको झाडीबाट चिँ चिँ आवाज आएको सुनेँ। ती बच्चाका आवाजले मेरो मन फुरुङ्ग भो। मैले बिस्तारै गुलाफका पत्ताहरू हटाउँदै चिहाएँ र देखेँ कलिला नवजात बचेराहरू। ती माया लाग्दा प्राणीहरूलाई देखेर मेरो शारीरिक थकानै कम भए जस्तो अनुभूति भयो तर त्यो पाहुना खुसी धेरै बेर टिक्न पाएन। किनकि मलाई झ्वाट्टै रातुको याद आयो। मुटुमा चिसो पस्यो। त्रासको सिर्जना भयो। आफैसँग बोले- 'तर रातु?'
रातु टोलको साझा बिरालो हो। त्यो टोलभरि चारतिर डुल्छ तर यदाकदा बेलाबेला यही फूलबारीमा पनि आइपुग्छ। त्यसको रंग रातो भएकोले मैले रातु नाम राखिदिएको हुँ। एकदमै बलियो र बडो फुर्तिलो छ रातु। सुरुसुरुमा मसँग परपरै भाग्थ्यो। पछि उसलाई नजिक ल्याउन अनलाइनबाट क्याट फुड मगाई खुवाउन थालेँ। त्यसपछि मात्रै त्यो अलिअलि मसँग झ्याम्मिँदै गयो। म त्यसलाई 'रातुया!' भनेर बोलाउँछु। नामको पछाडि आ/या जोड्दा कोरियन भाषामा उक्त नाम मायाले बोलाइएको हुन्छ। त्यसैले रातुको पछाडि या जोडेको हुँ।
यसरी बिरालो बेस्सरी मन पराउने मान्छे म अचानक रातुलाई खतरनाक भिलेन देख्न थालेँ। अस्ति हुँदी पो गुँडमा अन्डा मात्रै थियो र रातुले केही थाहा पाएन। अब बच्चाहरू चिँ चिँ र चाँ चाँ गरेपछि रातुले जरुर थाहा पाउनेछ। रातुले थाहा पाएको दिन यी बचेराहरूको आखिरी दिन हुनेछ। हुन सक्छ माउकै पनि रातुले स्वाद लिन सक्नेछ।
यसो दाँजेर हेर्छु, त्यस्तो हट्टाकट्टा बिरालोको लागि ती बचेराहरू के हुन्? पिज्जाका चार बाइट? या मोमोका चार डल्ला? या वाफलका चार टुक्रा? फेरि सोच्छु, चराका बच्चा कसरी पिठोका डल्ला मात्र हुन सक्छन्? ती त नन-भेज हुन्। उसो भए के रातुको निम्ति तिनीहरू एक छाक स्वादिलो बर्ड स्टिक हुन्? सायद। अचानक मेरो सुन्दर फूलबारी रणभूमि लाग्न थाल्यो। सिकार र सिकारीको युद्ध मैदान जस्तो। मार्ने र मर्नेको क्रिडाभूमि जस्तो।
मेरो दिमागमा अब उक्त चराको जीवन कसरी जोगाउन सक्छु होला भनेर नानाथरी उपायहरू खेल्न थाल्यो। एउटा उपाय थियो पूरै गुलाफको झाँगलाई कुनै बार निर्माण गरेर घेरा लगाउनु तर त्यसो गर्दा उसलाई दखल या कुनै किसिमको खतरा या अवरोध महसुस हुन सक्थ्यो। जसले गर्दा ऊ गुँडमै कहिले फर्केन भने? उसको गुँड सारिदिनु अर्को उपाय हुन सक्थ्यो होला तर त्यो कामको लागि सीप खै त? घरको कुखुराको खोर समेत कहिल्यै नसारेको मान्छे चराको गुँड कुन ढङ्गले सारूँ म?
मैले निकै सोचेर हेरेँ तर खास कुनै गतिलो उपाय निकाल्न भने सकिनँ। अन्तमा मैले त्यस चरालाई उसकै भाग्यमा छोडिदिने निर्णय गरेँ। त्यति बाक्लो गुलाफको झाडी छ। डेढ फुटको उचाइ छ। उनीहरूले पक्कै पनि उपयुक्त ठाउँ खोजेरै यहाँ बस्ने निर्णय लिएका होलान्। प्रकृतिले उनीहरूलाई सिन्का सिन्का जोडेर आफ्नो बासस्थान त्यति सुन्दर बनाउन सक्ने ज्ञान र कला दिएको छ भने पक्कै पनि सुरक्षा असुरक्षा सोच्न सक्ने क्षमता पनि त प्रदान गरेकै होला। बरु मैले धेरै गर्न सक्ने भनेको रातुलाई वरपर देख्दा धपाउन भने सक्छु। कमसेकम दुई चार पटक जति अलि बेस्सरी हच्किने गरी तर्साएँ भने त कसो नभाग्ला। वरिपरि नदेखिए त भैगो नि! कि पिटूँ? तर बिरालोलाई पिट्नु लर्तरो कुरो होइन। सम्झेर आफै हाँसेँ।
यसरी तिनीहरूको परिवारलाई तिनीहरूकै कर्ममा छोडिदिने निधो गरेपछि थोरै हलुका महसुस भयो। आखिर यो सारा सृष्टि नै आहारको यस्तै शृङ्खलामा उनिएको छ। यसमा म के नै गर्न सक्छु र! जो बच्यो, ऊ बाँच्यो। नियम नै यस्तै छ। यो फूलबारीमा भेटिएका किरा फट्याङ्ग्रा र पुतलीहरू यो वनचरीको चारो हुनेछन्। ती मध्ये केही त चराको नजरबाट बच्ने पनि छन् र ती तिनै हुन् जो बाँच्ने छन्। किराहरूले पनि फूलका सबैभन्दा कलिला र नरम पातहरूबाट भोजन यात्रा सुरु गर्ने छन्। यो चक्र नै यस्तै छ। म शान्त हुँदै गएँ।
जूनको महिना गर्मी ह्वात्तै बढेको छ। आज आइतबार बिदाको दिन। यस्तो गर्मीमा नजिकै रहेको फारान बजार आएको छु। हतार हतार किनमेल गर्दै छु। मन भने सम्पूर्ण रूपले बेचैन छ। म यता हुँदा बचेराहरू बिरालोले खाइदियो भने? यही सोचका साथ फटाफट सामानहरू किनिरहेको छु- मासु, साग, लसुन,अदुवा, केरा, दूध इत्यादि। हामी मान्छेलाई पनि के के चाहिने के के!
किनमेल सकेर दुई हातमा सामानहरू झुन्ड्याउँदै ट्याक्सी स्ट्यान्डसम्म हिँडेरै जान्छु। हत्तपत्त एउटा ट्याक्सीमा चढ्छु र बिना प्रसङ्ग ड्राइभरको अगाडि बोली पठाउँछु- 'ल छिटो जाऊँ, बिरालो धपाउनु छ।'
ड्राइभर मतिर फनक्क फर्किन्छ र सोध्छ- 'के रे! बिरालो रे?'
म भन्छु ' ए..ए.. केही होइन, छिटो छिटो जाऔँ भनेको नि!'
ट्याक्सी गुडिरहेको छ। बल्ल अलिक शान्त भएको छु। सिसाको झ्यालबाट बाहिरतिर हेर्छु। फारान बजार क्रमशः पछाडि छुट्दै गइरहेको छ। म लामो सास फेर्दै सोचिरहेको छु- फूलबारीमा रातु आएको त छैन होला नि? बचेराहरू जिउँदै त छन् नि? कि निलिसक्यो रातुले? अहो मेरो फूलबारी आज तनावग्रस्त छ।