छोरा!
तेरी आमा बिरामी छे ,
खाली खोक्छे
बिहान खोक्छे,
दिउसो खोक्छे, रात भरी खोक्छे
तर खै कसरी हो
तेरो फोन आउने बित्तिकै रोक्छे
त्यसले अचेल नाटक गर्छे,
तैले फोन गर्दा प्रत्येक पटक गर्छे
यही खोकिले त्यसलाई ढलाउछ कि क्या हो!
तेरै पिर लिन्छे,
कतै त्यसैले गलाउँछ कि क्या हो!
तेरी आमालाई प्रत्येक फोन खास लाग्छ,
त फर्कने खबर हो कि भन्ने आश लाग्छ ,
आकास तिर तेरो बाटो हेर्छे अनि डराउँछे,
सायद,
जहाज कतै उसलाई काठको बाकस लाग्छ
कहिले छाती चर्चरायो भने
कहिले आँखा फर्फारायो भने
बिहानै भञ्ज्याङको मन्दिर जान्छे
आफ्नो आयु तलाई दिँदै अशिर्वाद माग्छे
कहिले एक्लै के के भन्छे भन्छे
सबै थियो त्यो किन गयो भन्छे
बस्नलाई एउटा टहरो थियो
खानलाइ कमसेकम पखेरो थियो
कहिले काहीँ कान का लोती छाम्छे
सायद त जाँदा बेचेका ढुंग्री सम्झन्छे
त्यो पनि पाहुना भयो भन्छे
हामी पनि पाहुना हौं अब भन्छे
हामी गए पछी मात्रै त्यो आउँछ होला भन्छे
सास भैइन्जेल त यही कुरौँला भन्छे
लास भए पछि दोभानमा कुराउलान् भन्छे
उतै बाट भेट्न आउँला त्यो भन्छे
उस्कै हातको दागबत्ती त पाउँला भन्छे
तेरी आमा अचेल के के भन्छे भन्छे
तेरी आमा अचेल के के भन्छे भन्छे