बोकेर अव्यक्त दुखाइका गुच्छाहरू
तिमी छुट्नु पूर्व नै म आइपुग्नेछु
उही आदिम गन्तव्यमा
जहाँबाट खेल्न सुरु गरेथे हाम्रा
आँखाहरूले एक चञ्चल लुकामारी
हिँड्दै हिँड्दै जाँदा भासिन सक्छन्
आफैँले टेकेका डोबहरू
निस्सारताको भुमरीभित्र
त्यसैले मागेर हिमालसँग
अलिकति उन्मुक्त हाँसो
झरीसँग झरिजानुको हलुङ्गो
हावासँग सुस्केराको सङ्गीत
नदीसँग गतिशीलताको लय
ल्याइदिनेछु तिम्रा निम्ति यी सबै सबै
हृदयमा सँगालेर।
छुट्ने बेला
भत्कन सक्छ मभित्रको धैर्यताको बाँध
त्यसको तिमीले चिन्ता नगर्नू
आफैलाई गाँठो पार्दै फुस्काउँदै गरिरहेको
समयको दुखान्त मफलर हुनेछ मसँग
आफैलाई लेखिरहेको, केरिरहेको
केरिरहेको, लेखिरहेको
कागजका छरपस्ट पन्नाहरू हुनेछन् मसँग
जहाँ म लेख्नेछु गन्तव्यमा पुग्न हतारिएका
अनि आफैभित्रको शून्यतामा हराएका
दुई जोर पाइतालाहरूको कहानी।
हुनु मात्र सबथोक होइन, हुनुको अनुभूतिमा
आफूलाई उत्खनन गरेर म लेखिरहनेछु
दफनाइएका आफ्नै सीमान्त कथाहरू
काँडाको आत्मसात् गरेर आफैँभित्र
फुलिरहेका गुलाबहरू
तिमीले भनेझैँ तिम्रो अनुपस्थितमा पनि
मैले तय गर्नु नै पर्ने छ अस्तित्वको अनवरत यात्रा।
कसले भन्यो प्रेम सीमातीत छ?
छ भने किन फरक हुन्छन्
वर्गीयता सवार प्रेमका किस्साहरू?
किन होइनन् हाम्रा जीवनका अँध्याराहरू
क्यान्डल लाइट डिनर?
किन लाग्दैनन् हामीलाई झरीहरू 'रोमान्टिक'?
किन बग्छ प्रेमको अम्खोराबाट सुनपानी?
किन छुट्टाउँछ मन्दिर र मस्जिदले आ-आफ्नो प्रेम?
किन रामहरू लिइरहन्छन् अग्नि परीक्षा?
किन? किन?
हो, तिमी छुटेपछि पनि
म बाँचिरहनेछु यस्तै यस्तै
प्रश्नवाचक चिन्हहरूमा अल्झिएर।