नेताजी विदेश पटक पटक उडेकोमा
न मलाई हर्ष छ न त बिस्मात कुनै
नाप्ने वहाँले दूरी मात्र न हो
चिन्ता त केबल यही छ कि
वहाँ फर्केर आइहाल्नु हुन्छ फेरि।
नेताजीको खुबै बखान र प्रशंसा
पर्र थपडी, ताली र वाहा वाहा
हाजिर हजुरी चाकडी स्वस्ति र बा बा
कोही छैन ह्या र छ्या भन्ने निकटमा
विराजमान सदा भक्तजनले घेरी।
नेताजीको चस्मा, घडी र कोट
नयाँ-नयाँ दिनदिनै टिलिक्क,
रिटिक्क, चिटिक्क सुहाएकै छ
छैन केही ईर्ष्या डाहा आरिस
नाङ्गै देख्छु र पो त भुतुक्कै सर्माउँछु।
नेताजीका मुखारविन्दका महावाणी
ज्ञान गुन अर्ती उपदेश र आदेश
खोट लगाउने ठाउँ नै छैन कतै
भनाइ र गराइ दाँजेर पत्याइदिने छैन
कोही कहीँ कतै र पो म बरबराउँछु।