लाग्न त लाग्छ नि
आमाको खाली खाली गला गहनाले पुरिदिऊँ
बाबाको रित्तो रित्तो खल्ती रुपैयाँले भरिदिऊँ
मेरो असफलतामा खुच्चिङ मच्चाउनेहरूको मुख बन्द गरिदिऊँ
तर सफलताको प्रतीक्षामा एउटा युगै बितिसक्यो
पछि आको भाइले पनि अब मलाई जितिसक्यो।
रोपेको वर्षौँ भयो मेहनतको बिरुवा
अझै लाग्न सकेन त्यसमा सफलताको फल
थिचिएको वर्षौँ भयो अभावको भुमरीमा
अझै गर्न सकिएन हलचल
मारेको वर्षौँ भयो निद्राको मोह
अझै आउन सकेन सुनौलो बिहानी
नदेखेको वर्षौँ भयो सुखको मुहार
अझै हट्न सकेन दुःखको मोहनी।
आजभोलि गाउँमा कुरा चल्दो हो-
फलानोको छोरोले खासै केही नाप्न सकेन
आफैँले हासिल गरेको डिग्रीको इज्जत राख्न सकेन
न गर्न सक्यो बिहे न खान सक्यो सरकारी जागिर
खेत बेचेर पढाएको पनि काम लागेन आखिर ।
जसै कल्पिन्छु
त्यस बखतको बुवाको लज्जित अनुहार
अनि आमाको झुकेको शिर
कसम! निदाउन सक्दिनँ।
सुन्दा सुन्दै थाकिसकेँ अर्ति र उपदेशहरू
कुर्दाकुर्दै आत्तिइसकेँ सुखका सन्देशहरू
जब सुनाउँछु मित्रहरूलाई मेरा असफलताका कहानीहरू
खिल्ली उडाउँदै ताली पिट्नेहरू धेरै भेट्छु
जसै खोल्छु निराशाका पोकाहरू आफन्तको माझमा
तिनका मुहारमा आनन्दका धर्साहरू देख्छु
मान्छे त आजभोलि मेसिन भइसकेछ
त्यसैले मनका भाव पोख्न कविता लेख्छु।
मेरो असफलता देखेर
मेरो निराश अनि हताश मुहार देखेर
मेरा भावुक स्ट्याटसहरू पढेर
खुसी हुन हतार नगर न मित्र
म हारेँ हुँला जरुर तर अझै थाकेको छैन
बिझे होला काँडा पैतालामा तर हिँड्न छाडेको छैन
शून्य नै हात लागे पनि सङ्घर्षको मैदान छोडेर भागेको छैन
असफलता, छटपटी अनि निराशाको बिच
बाल्दै बसेको छु आशाको दीप
अँध्यारो मेरो जिन्दगीमा पक्कै उज्यालो छाउला
कसो एक दिन मेरो पनि पालो नआउला?