पूर्व पश्चिम राजमार्गमा ढल्केबरभन्दा करिब १० किलोमिटर दक्षिणतिर महेन्द्रनगर चोकको पश्चिमतर्फ कटिया हाउसमा हामी साथी बसेर भेटघाट गर्ने योजना थियो। तर म त्यो दिन अरू साथीभन्दा अगाडी त्यहाँ पुगेकोले म एक छिन बाइकको डिस्क ब्रेकमा समस्या भएकोले मोटरसाइकल वर्कसप तिर लागेँ। वर्कसपमा जाँदा एउटा सरकारी नम्बर प्लेटको बुलेट गाडी पनि देखेँ।
मैले सुरुमा खासै ध्यान नदिई आफ्नो बाइकको पालो कुरिरहेँ तर एक छिन बुलेट लिन आएको कर्मचारीलाई देखेर मेरो ध्यान त्यतातिर मोडियो। बुलेट लिन आएकी ती कर्मचारी स्थानीय सरकारको इन्जिनियर थिइन्। हेर्नमा २८/३० वर्षकी ती कर्मचारी शारीरिक अवस्थाको हिसाबले दुब्ली देखिन्थिन्। बुलेट मैले पनि धेरै चलाएकाले यो आफैमा तौलको हिसाबले भारी मात्र नभई अलिकति पनि सन्तुलन बिग्रियो भने लड्ने प्रबल सम्भावना हुन्छ भन्ने कुरामा कुनै दुबिधा छैन। त्यसमाथि पनि एक शारीरिक रूपमै दुब्ली महिलाले यो गाडी किन चलाएको होला भनेर मेरो मनमा प्रश्न उब्ज्यो।
त्यही भएर मैले ती कर्मचारीलाई 'यतिको दुब्ली भएर यत्रो भारी गाडी किन चलाएको?' भनी जिस्केर सोधेँ। यसको अर्थ महिलाले भारी बाइक चलाउनु हुन्न भने मेरो तात्पर्य होइन। त्यसपछि ती कर्मचारीसँग कुराकानीको सिलसिला सुरु भयो। कुरा गर्दै जाँदा ती मभन्दा एक ब्याच जुनियर इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकबाट स्नातक उत्तीर्ण गरी करिब ४ वर्षदेखि स्थानीय तहमा इन्जिनियरको रूपमा कामकाज गर्दै गरेको पाइयो। पछि उनको र मेरो ८/१० साझा साथी रहेको थाहा भएपछि उनी अलिकति खुलेर कुरा गर्न थालिन्।
ऊसँग कुरा गर्दै जाँदा मेरो धेरै मान्यताप्रति उसले तिखो प्रहार गर्दै कतिपय मान्यतालाई निस्तेज पार्दै थिइन्। उनले जागिर गर्दाको तितो अनुभवबाट आफूले बुलेट पाएको भनिन्। जागिरको पहिलो पोस्टिङमा १० महिनासम्म जिम्मेवारी नै नदिएको भनी सुनाइन्।
'सिभिल इन्जिनियर भएपछि साइटमा काम गर्नै पर्छ। मलाई सबैभन्दा टाढाको साइट दिए तर त्यहाँ जानलाई कार्यालयबाट सवारीको व्यवस्था गरिएन। मैले पटक पटक सवारीको लागि अनुरोध गरे पनि कोही सुनिदिने थिएन। मलाई सवारीको सुविधा नदिने तर साइट भने टाढा दिनुको अर्थ मलाई त्यहाँ काम गर्न नदिने वातावरणको निर्माण गरिएको थियो। एक दिन कार्यपालिकामा यो प्रश्न गर्दा त्यसको भोलिपल्ट मलाई बुलेट दिइयो। म महिला भएर राम्री चलाउन सक्दिनँ भन्ने खराब मनसायले नै यो गरेको रहेछ। मैले एक हप्ता लगाएर राम्ररी चलाउन सिकेँ अनि मात्र कार्यालय गएँ। मैले अहिले पनि मलाई स्कुटी दिनु भनेर भनेको भनै छु तर यहाँ कसले सुन्छ? सकेसम्म स्थायी कर्मचारीले काम नगरोस् नै अधिकांश जनप्रतिनिधिको चाहना हुन्छ। यो बुलेटले मलाई सङ्घर्षको बाटोमा सुरक्षित यात्रा गराउँदै छ। तर मेरो संस्कारमाथि प्रश्न उठाउने यो पाखण्डी समाजमा म के भनूँ? यहाँका जनप्रतिनिधिले छोरी मान्छेले बाइक चलाउनु राम्रो संस्कार होइन भनेर पछाडि कुरा काट्ने गर्छ। अब भन्नु, यो पाखण्डीहरूलाई मैले के भनूँ? मलाई पनि रहर छैन कि एकपल्ट लडेपछि उठाउन २/३ जनालाई बोलाउनु पर्ने गाडी लिएर हिँडूँ तर यहाँको जनप्रतिनिधिको भ्रष्टाचारी सोच म कसरी परिवर्तन गरूँ? बुलेट एक बाध्यात्मक परिस्थितिको उपज मात्र हो।'
उनले अझै अगाडि थपिन्, 'महिला हरेपछि जिस्किने हाम्रो समाज कहिले सुध्रिन हो। मलाई पनि तार्किक छलफल गर्ने विचार हुन्छ तर प्रायजसो सबै जिस्किने मात्र गर्छन्। म अहिले तपाईंसँग बसेको छु, तपाईंको कुनै साथी आयो भने तपाईंलाई ब्रो भनेर बोल्छ तर मसँग जिस्किन खोज्छ। तपाई उसको ब्रो हुनुभयो तर तपाईंको साथीको म कसरी जिस्काउने नातामा परेँ? मलाई पनि मन छ तार्किक बहस गरूँ तर प्रायः साथीभाइ जिस्काउने पात्र मात्र ठान्छ। यो समाजले महिलालाई कहिले स्वीकार गर्छ?'
उनको यस्तो तर्कले मेरो पनि पुराना धेरै मान्यता फेल हुँदै थियो। यति कुरा गर्दै गर्दा मेरो साथीको कल आउन थाल्यो र मैले अर्को पल्ट उनको कार्यालयमै भेटेर थप विस्तार रूपमा कुरा गर्ने वाचासहित त्यहाँबाट घर फर्किँदा जनकपुरको सहिद प्रवेश द्वारमा एक छिन बसेर सहिदलाई सोधेँ- 'यो सङ्घीयता कसका लागि हो? तपाईं कसका लागि ८४ योनीबाट जन्म भएपछि मानिसमा जन्म मिल्ने जीवनलाई त्याग्नु भयो?'