तिमीलाई म कसरी नजाऊ भनूँ
मुगलान जाँदैछौ
खाडी जाँदैछौ
विरानो देश अर्थात्
सात समुद्रपारि जाँदैछौ
घर परिवार छाडेर
समाज र राष्ट्रलाई छाडेर
पढ्नलाई हो कि?
रोजगारलाई हो कि?
लाउरे हुने रहरले हो कि?
सेनामा भर्ति हुन हो कि?
तिमी जाँदैछौ त्यसैले म
तिमीलाई म कसरी नजाऊ भनूँ।
भोको पेट सम्झेर गयौ
बाढी पहिरोले बगाएको खेतबारी सम्झेर गयौ
नांगो आङ भएको परिवार हेरेर गयौ
सिटामोल र जीवनजल खान नपाई
आमा मरेको सम्झेर गयौ
बाको निधारमा नाम्लोको डोब हेरेर गयौ
ऋणको भारी बोकेका कैयौँ
दाजुभाइ आत्महत्या गरेको देखेर गयौ
साहुको ऋण सम्झेर गयौ
त्यसैले म कसरी तिमीलाई नजाऊ भनौँ!
जान त गयौ
हातखुट्टा उतै बिसाएर आउँछौ कि भन्ने डर छ
अपांग भएर फर्कन्छौ कि भन्ने डर छ
बन्द बाकसमा फर्कन्छौ कि भन्ने डर छ
तिमी खाडीको दलदलमा भासिन्छौ कि भन्ने डर छ
युरोप र अमेरिकामा भासिन्छौ कि भन्ने डर छ
अष्ट्रेलिया र क्यानडामा हराउँछौ कि भन्ने डर छ
ताप र राप सहन नसक्ने तिम्रा कोमल हातखुट्टा
तातोले डडेर र चिसोले निल्ला कि भन्ने डर छ
हो मलाई थाहा छ तिमी फर्कन्नौ
त्यसैले
तिमीलाई म कसरी जाऊ भनूँ!
हो, गतिहीन लक्ष्यहीन देशमा
मतिहीन नेताहरू
सत्तालिप्साका लागि इमान बेचे
जमान बेचे,
दशकौँ दशक नेताहरूको कर्कशा सुन्दा
कान टट्टाए, आँखा रसाए
नेताहरूले मिठो सपना सुनाउँदा
केही होला कि भन्ने रहर जाग्ने
आशै आसमा हजुरबा बिते
बा बिते
म पनि अन्तिम सास फेर्दैछु
यो कोलाहाल सहरमा
बाबुनानीहरू, तिमीहरू त गयौ गयौ
अब भावी पुस्ताहरूलाई के भन्छौ भन
यस्ता नेताहरूबाट
मुलुक बन्छ कि बन्दैन?
बन्छ भन्ने लाग्छ?
बस् बन्दैन भन्ने लाग्छ भने
आफूसँगै लावालस्कर लगाएर जाऊ
तर फर्कने दृढ संकल्पसहित जाऊ
त्यसैले आज म रोकौँ?
तिमीलाई म कसरी नजाऊ भनूँ।