अहो!
हेर त हाम्रो राष्ट्रियता
कहाँ छलिएछ
कहाँ बिलाएछ
कहाँ लुक्न पुगेछ
मलाई बडो पिर छ
तिम्रो मनले केही भनिरहेको छैन?
ए हो र?
मलाई त थाहा नै पो भएन
मेरो मन त खै कता कता
आफैँभित्र पो हराइरहेछ।
एक टुक्रा रोटीको आसमा
एक गाँस पिठोको अपेक्षामा
रोइरहेको मेरो पेटले
कहाँ राष्ट्रियता बुझ्थ्यो र
भोकलाई सम्बोधन गर्दै
पेट भित्रैबाट न्याउली कराइरहँदा
आवाजले त शून्यता छर्दै छ यहाँ!
अभावले
धुमिल बनिसके आशाका किरणहरू
मरिसके तीव्र महत्त्वाकाङ्क्षाहरू
ढलिसके मर्यादाका सीमाहरू
सपनाका चिहानभित्र
आफै सल्किनै लाग्दा
तिमी शोकलाई बुझ भनेर
मलाई प्रश्न गर्छौ भने
म उत्तर दिन्छु
म त केवल भोक बुझ्छु
शोक बुझ्दिनँ
किन कि मेरो पेट भोको छ
तिमी टन्न अघाएर
भोकको कविता लेख्छौ
भोकको भाषण गर्छौ
भोकाहरूको बारेमा सोच्छौ
उस्तै परे भोकलाई बिकाउँछौ पनि
बिक्ने र बिकाउनेको बिचमा
भोक आफै शोक बनिसक्यो
फेरि तिमी भन्छौ
भोको पेटले सबै बुझ्छ
तिमी किन बुझ्दैनौ?
अहँ!
म त्यो बुझ्न कहाँ सक्छु र?
म आफै भोको बसेर
भोकलाई नै तमासा बनाउन सक्दिनँ
म
काँचो सान्त्वना पचाउन सक्दिनँ
दूषित सिद्धान्त निल्न सक्दिनँ
झुटो आसलाई स्विकार्न सक्दिनँ
भ्रमका गाँठोहरू खोल्न सक्दिनँ
छोड
यी बेस्वादको परिकार
किन पस्किन्छौ?
एक टुक्रा सुक्खा रोटीको आसमा
बरालिएको मनले
रातको निद्रालाई
स्वागत गर्न सकेको छैन
बेचैन मनलाई
सान्त्वना दिन सकेको छैन
खै कसरी भनौँ
मनलाई डोरीको गाँठोजस्तै गाँठो पारेर
मलाई चिन्तनले चितामा पुराइसक्यो!
बरु
विनम्रताको ढोका खोल्छु
एक टुक्रा रोटीको जोहो गरिदेऊ
खाली पेटले
राहतको सास फेर्ने छ
एउटा
श्रमको ढोका खोलिदेऊ
यी हातहरूले ठेलाहरूलाई
स्वागत गर्नेछ!
किनकि
म
श्रम बुझ्छु, भ्रम बुझ्दिनँ
भोक बुझ्छु, शोक बुझ्दिनँ
जसरी पेट भरिएका तिमीहरू
सबै सबै बुझ्छौ
तर
भोक पटक्कै बुझ्दैनौ।