करिब सात वर्षपछि म मेरो गाउँ गएको थिएँ। गाउँ रित्तै थियो। म हुँदा गाउँ भरिभराउ थियो, अहिले त गाउँमा कोही पनि थिएनन्। गाउँमा अलिअलि घर बाँकी थिए। त्यो देखेर अलिकति खुसी भने छाएकै थियो।
लामो समयपछि आफ्नो गाउँ फर्किएको थिएँ। गएको दिन गाउँकै एउटा घरमा बास बसेँ। शरीर पूरै थाकेको थियो। मलाई निद्रा लागेको महसुस भयो। म आफ्नो ओछ्यानमा पल्टेर यसो मोबाइल हेरेँ। सुरुमा नै समाचार आयो- 'करिब नब्बे हजार मानिसले मङ्सिरमा देश छोडे।' समाचार पढेर बल्ल अलिअलि मेसो पाएँ, गाउँ खाली कसरी भयो भनेर।
थाकेको शरीर थियो, त्यही समाचार पढ्दा पढ्दै म निदाएछु। बिहान घामको किरणले मेरो आँखा खुल्यो। चिया पिएर गाउँको हालखबर बुझ्न निस्किएँ। जाँदा जाँदै बाटोमा एक जना व्यक्तिसँग भेट भयो। उहाँको ड्रेस र हिँडाइले थाहा हुन्थ्यो उहाँ एक शिक्षक हुनुहुन्थ्यो। मलाई उहाँसँग कुरा गर्न मन लाग्यो। उहाँलाई नमस्कार भनेर आफैँले कुराकानी सुरु गरेँ।
'सर नमस्कार!'
उहाँले उताबाट 'नमस्ते' फर्काउनु भयो।
'मलाई चिन्नु हुन्छ?' उहाँले प्रश्न गर्नु भयो।
मैले जवाफमा भनेँ, 'चिन्न त चिन्दिनँ, तपाईंको कपडा देखेर शिक्षक जस्तो लागेर बोल्न खोज्या मात्र।'
उहाँले मुस्कुराउँदै भन्नु भयो, 'यो गाउँमा यसरी मसँग बोल्न खोज्ने तपाईं मात्र होला। तपाईंलाई योभन्दा अघि यहाँ कतै देख्या थिइनँ। हजुरको परिचय नि?'
मैले भनेँ, 'म पहिला यही गाउँमा जन्मेर हुर्केको, हाल तराई तिरै छु। पढ्दै छु ब्याचलर।'
'ओहो! नेपालमा पढ्दै हुनुहुन्छ,' उहाँले आश्चर्य हुँदै भन्नु भयो, 'नेपालमा प्लस-टु सकेर बस्ने त तपाईं मात्र होला।'
उहाँको कुरा सुन्दा मजाक लागेता पनि उक्त कुराले गहिरो अर्थ लगाइरहेको थियो।
मैले भनेँ, 'ब्याचलर मात्र यता गर्ने अनि म नि बाहिर नै जान्छु कि।'
उहाँले 'त्यस्तै लाग्यो' भन्नु भयो।
मैले सोधेँ, 'तपाईं कता पढाउनु हुन्छ नि?'
'म यहीँ तलतिर धनेश्वर प्राथमिक विद्यालयमा सामाजिक विषय पढाउँछु,' उहाँले जवाफ दिनु भयो।
'म पनि पहिला त्यही विद्यालयमा पढेको, अहिले कस्तो छ विद्यालय?' मैले थप प्रश्न गरेँ।
'म त भर्खर भयो आएको त्यति थाहा छैन। आफै गएर हेर्नुस् मलाई भन्दा तपाईंलाई नै अलिक थाहा होला कि,' उहाँले नम्र भएर भन्नु भयो।
मैले 'हुन्छ' भनेर उहाँसँगै उक्त विद्यालयतिर लागेँ।
केही समयपछि विद्यालय पुगियो। चार जना शिक्षक हुनुहुँदो रहेछ। म हुँदा ८ जना हुनुहुन्थ्यो अहिले घट्नु भएछ। विद्यालयको हालत पनि पहिलाको जस्तो थिएन, सबै संरचना भत्किएर यता त्यता अव्यवस्थित जस्तो देखिन्थ्यो।
सबै सरहरूलाई नमस्कार गरेर अफिसभित्र गयौँ। बाटोमा भेट्नु भएको सरको नाम सोध्न बिर्सिएछु, अरू सरहरूले 'सुजन सर नमस्कार' भन्दा बल्ल याद आयो नाम सोध्न बिर्सिएछु भन्ने।
सुजन सरले नमस्कार गर्दै अरू सरहरूलाई चिनाउनु भयो, 'उहाँ पहिला यही स्कुलमा पढ्नु भएको रे, बाटोमा भेट भएर गफ गर्दै आएका।'
सबै सरहरूले मलाई नमस्कार भन्नु भयो। मैले नमस्कार फर्काएँ।
बाँकी कुरा केही गर्न आएन। सिधै मैले प्रश्न गरेँ, 'स्कुलको त बेहाल छ त सर, किन कसरी यस्तो भयो यो स्कुल?'
जाने बित्तिकैको मेरो प्रश्नले असहज भएको महसुस मैले आफै गरेँ।
उहाँहरूले पालैपालो भन्नु भयो, 'गाउँमा कोही छैन, भएका केही मान्छे तराई झरिहाले। बाँकी सामान्य परिवारका मान्छे मात्र छन्। स्कुल चलाउन त्यसै गाह्रो भइहाल्छ नि।'
उहाँको कुरामा दम थियो, अब विद्यार्थी नभएको स्कुलमा भवनको आवश्यक किन पर्यो र? एउटा भवनमा सबै अटेका थिए।
मैले मुस्कुराउँदै जवाफ दिएँ, 'ठिकै कुरा गर्नु भयो अनि हेडसर खै त?'
हेडसर नयाँ आउनु भएको रहेछ, शम्भु विष्ट। उहाँको बारेमा यसो कुरा सुन्दा उहाँ स्कुलमा भन्दा धेरै राजनीति कार्यक्रममा सहभागी हुन रुचाउनु हुँदो रहेछ। अनि गाउँबाट अलिक पर राम्रै बजार छ। त्यहाँ बस्ती बाक्लै छ। उहाँले अर्कैको नाममा बोर्डिङ सञ्चालन समेत गर्नु भएको रहेछ।
त्यो कुरामा थप टिप्पणी गर्नु पर्ने आवश्यक थिएन, सबै छर्लङ्ग देखिन्थ्यो। सहरकै विद्यालयमा राजनीति मौलाएको बेला गाउँका प्राथमिक विद्यालयमा राजनीति हुनु ठुलो कुरा नहोला।
थोरै कुरा भए पनि त्यहाँ गरिएका गफहरू निकै सोच्नु पर्ने खालका थिए। गाउँ खाली हुँदै छ। गाउँका मान्छे सबै विदेश पलायन। शिक्षाको अवस्था यस्तो छ। मलाई चिन्ता बढ्न थाल्यो गाउँबाट फन्को मार्दै बजारतर्फ लागेँ। बजारमा १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय सञ्चालनमा थियो। म त्यसै गरी घुम्दै नै थिएँ, बजार सुरु भएपछि विभिन्न बोर्डहरू देखिन थाले- यहाँ कोरियन भाषा सिकाइन्छ। यस्ता बोर्ड ४/५ वटा थिए।
मलाई लाग्थ्यो सहरमा मात्र यस्तो हुन्छ तर गाउँमा पनि यो प्रक्रिया सुरु भएको रहेछ। त्यहाँ भाषा सिक्ने मानिसको भिड थियो। गाउँमामा खेत बाझिएको देखेर मन रोइरहेको थियो अनि देशको सीप बाहिर जान खोजिरहेको देख्दा म झनै चिन्तित भएँ।
त्यहाँ आउने सबैको समस्या भनेकै रोजगारी रहेछ। उत्पादन त हुन्छ हरेक कुरा तर त्यसको बजार व्यवस्थापन नभएपछि उत्पादन सबै खेर जाने कुरामा त्यहाँका मानिसहरू चिन्तामा रहेछन्। त्यही कारणले घर चलाउन नसकेपछि यसरी बाहिर जान बाध्य भएको उनीहरूको भनाइ थियो।
मलाई गाउँको त्यो समस्या देखेर त्यहाँ बस्न मन फिटिक्कै लागेन। म तुरुन्त बस चढेर यता घर आएँ। घर आएर सोचेँ सबै कुरा। देश, शिक्षा अनि हाम्रो र मेरो भविष्य सोच्दा कहाली लागेर आयो। म किन छु यहाँ? आफैँलाई प्रश्न गरेँ।
देश रित्तिँदै छ, जनशक्ति बाहिरिँदै छन्। रोजगारी नभएर गाउँमा बस्ने वातावरण छैन। म एउटा विद्यार्थी देशमा केही गर्छु भनेर बसेको अनि देश नै रित्तिँदै गएको मलाई थाहा भएन। मैले देश बनाउने भन्दा पनि देश जोगाउने कसरी भन्ने कुरामा ध्यान दिनु पर्ने रहेछ। मलाई याद भएसम्म म पाँच कक्षामा पढ्दा पनि नेपाल विकासोन्मुख देश भनेर पढेको जस्तो लाग्छ र अहिले पनि त्यही भनेर पढाइन्छ। खै त परिवर्तन? सोच्दा सोच्दै टाउको दुख्छ। यो अवस्था कसरी सिर्जित भयो? सिर्जित भएको कि सिर्जित गराइयो?
पहिला पाहुनाको घर जाँदा पढेर डाक्टर हुनु, इन्जिनियर हुनु भनेर आशीर्वाद दिइन्थ्यो। आजभोलि अस्ट्रेलिया र क्यानडाको भिसा लागोस् भनिन्छ। के यो सब हुनुमा राजनीतिक पार्टी अनि पदमा बसेका मानिसको हात छैन होला? नेताहरू सिंहदरबारमा बसेर शिक्षामा बजेट विनियोजन गर्छन् तर उनीहरूलाई थाहा हुँदैन शिक्षा रित्तिँदै गएको।
केही मन्त्री केही नेतालाई यस्तो लाग्छ कि देश भनेकै काठमाडौँ मात्र हो। काठमाडौँभन्दा बाहिर त केही अस्तित्व नै छैन। काठमाडौँका एक दुइटा स्कुललाई अवलोकन गरेर देशको शिक्षामा सुधार हुँदै छ भन्नु नै मूर्खता हो। गाउँमा पढेको एउटा कलिलो विद्यार्थीले १२ कक्षा पास गरेपछि त्रिभुवन विश्वविद्यालय भन्नुको साटो कोरिया भन्छ भने त्यो शिक्षामा सुधार भएको हो?
काठमाडौँ बाहिर जानुस्, अरू ठाउँ हेर्नुस्। देशमा ७७ जिल्ला छन् एउटा मात्र हैन त्यहाँको अवस्था बुझ्नुस्। केबल भाषण गरेर परिवर्तन हुँदैन सम्माननीय ज्युहरू, काम गर्नुस्। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी ल्याउन सकिने तवरले काम गर्नुस्।
धक्का दिन्छु भनेर मात्र हुँदैन, हामीलाई परिवर्तन चाहिएको छ। देशमा जन्मेको बच्चाले क्यानडा र अस्ट्रेलिया नभनोस्। यस्तो वातावरण सिर्जना गर्नुस् अनि मात्र भाषण गर्नुस्।