म त्यो उत्तरको
तयारी गर्दै छु
जहाँ एउटा
अङ्कुर बैँसले सोध्ने छ-
ए बुढा बा
जीवन के हो?
खोक्दै, ऐया भन्दै
म थोरै सङ्केत दिनेछु
र भन्ने छु-
जीवन अङ्क होइन
जीवन गति हो-
छोटो बसाइँ हो
कसैको लागि चञ्चल
त कसैका लागि
उदासीन पर्खाइ हो
कसैलाई औडाहा
कसैलाई ऐश्वर्य-
कसैलाई ओथारो अनि न्यानो
कसैलाई भिजेको जिन्दगी बिरानो
कुनै अड्डा अदालतले इन्साफ नगर्ने
बाबु! जीवन एउटा अन्याय हो ।
के भनूँ बाँकी?
भोग गर्नु आफैँ!
याद राख्नु
जीवन दुई छ
एक पर्दा अघि
अनि अर्को पर्दा पछि
जुन पर्दा पछाडिको दुःख
रोदन अनि पीडाको
छायाङ्कन हुँदैन
त्यही पर्दा पछाडि
तिमीले आफूसँग
गर्ने प्रेम जीवन हो।
जीवन बचत हो
पश्चात्तापको
छुटेका अनुभवहरूको
त्यसैले जीवन एउटा
बुढोसँग मात्रै होइन
प्रत्येकबाट बुझ्नु-
तर बाँच्नु- आफैँसँग
गुनासो नरहने जीवन।