'लौन सर मेरो एक्लो छोरो हो सनिस! डाक्टर बनाउनु छ भविष्यमा यसलाई। ठूलो मान्छे बनाउनु छ एउटा! खाली कपडाको डल्लो बनाएर मुङ्रोले कोठामा हानी रहन्छ। फ्याँली दिन्छु मुङ्रो; फेरि ल्याई पुर्याउँछ कताबाट! तपाईं सरहरू होमवर्क पनि दिनु हुन्न कि क्या हो? अलि सम्झाउनु पर्यो। कुटेर भए नि पढाइ दिनु परो। केही भन्दिन म! 
सनिसकी आमा मात्र होइन प्राथमिक तहको शिक्षक  हुँ म। उपत्यका बाहिर छ मेरो  जागिर।  म्याथ र साइन्समा अब्बल बनाई जसरी हुन्छ; डाक्टर बनाउनु छ छोरोलाई। दु:ख उसैको लागि हो! मर्न मन छ डाक्टर बनाएर।' स्कुलमा गएर भनेकी थिएँ मैले।
शुक्रबार अतिरिक्त क्रियाकलाप हुने स्कुलको रूटिन छ। अरू दिनभन्दा शुक्रबार विशेष खुसी देखिन्छ सनिस। हाउभाउ र फूर्ति नै बेग्लै; उसको त्यो दिन। पढाइ हुने दिनमा खास कसैसँग बोल्दैन ऊ! पछिल्लो बेन्चमा बस्छ। हाई गर्छ! निदाउँछ! साथीहरूले निदाएको बेला कागजको पुच्छर पछाडि बाँधिदिन्छन्। छुट्टी भएर निस्कँदा पुच्छरसहित निस्कन्छ बाहिर। मुर्छा पर्छन् साथीहरू हाँसेर। सनिसलाई थाहा हुन्न! हिँड्छ आफ्नै तालमा ऊ। साथीहरूले बताएका थिए यो कुरा एकदिन।
सबैको भन्दा ठूलो  झोला हुन्छ सनिसको! झोलामा के छ भन्छन् सरहरू। तर ऊ भन्दैन;  देखाउँदैन। मरे बोल्दैन! ट्वाइलेट गएको मौका पारी एक दिन साथीहरूले झोला खोतलेछन्।  
झोलामा खाजा-साजा केही होला भनेको त ;पारस खड्का, शक्ति गौचनका फोटोहरू पो रहेछन्! काठको मुङ्रो रहेछ एउटा! कपडाको बल पनि रहेछ। खाजा होला र  खाउला भनेर खोतल खातल बनाउने साथीहरू जिल्ल परेछन्! हाँसेछन्...! काठको मुङ्रो सरलाई देखाई दिएछन्। साथीहरूसँग रिसाएछ सनिस!
उपत्यका बाहिरबाट पनि  हेडसरसँग बेला बेलामा कुरा गरिरहन्थेँ म। हेडसरलाई  छोरोको पढाइबारे चासो राख्थेँ। पढाइबारे प्रश्न गर्थें। दिन यसरी नै बित्दै थिए। बल्ल तल्ल एसइई पास गर्यो सनिसले। ट्युसन पढाएको कामै लागेन। मन अमिलो भो; ग्रेड कम आएकोमा! स्कुलबाट त्यो बेला फोन आएको याद भो मलाई!   
'तपाईंको बाबु आज पनि स्कुल आएन!' छोरोले हैरान बनायो। छोरोले पढेन भनेर चिन्ताले भुट्भुटिएँ म! पढाइ सुधार गर्न सकिएला कि  भनेर सरूवाको लागि भनसुन गरेँ नेतालाई! 
स्थानीय नेतादेखि कर्मचारीसम्मलाई चियापान गराएँ। जिल्लाको हाकिमलाई ५० वटा हजारको बिटो थमाई दिएँ। सरूवा भो, आल्छिएन! २० वर्ष उपत्यका बाहिरपछि राजधानी खाल्डो छिरेँ म पनि! अब भने छोराको पढाइ सुधार गर्छु भन्ने लाग्यो मलाई। छोरो डाक्टर बनेर बिरामीको उपचार गरेको कल्पना गरेँ मैले!
छोरो सनिसलाई नाम चलेको साइन्स स्कुलमा भर्ना गरिदिएँ एसइईपछि। म भने त्यसलाई कलेज भन्छु। कलेज नजिक पुर्याएर मेरो  स्कुल  जान्थेँ।
बेलुका लिएर फर्कने रुटिन हुन्थ्यो मेरो। एकदिन टिभीमा  युएईलाई हराउँदै नेपाल फाइनलमा भन्ने समाचार आयो। समाचारले उद्देलित भएँ म पनि। समाचार हेरेँ.... आफ्नै छोरोलाई  टिभीमा हर्षित मुद्रामा देखेँ। होइन यो केहो?? प्रश्न आफैले आफैलाई गरेँ। 
मैले त छोरोलाई कलेज पुर्याएको थिए! यो कसरी?
कलेज गएँ। छोराकोबारे अलि बुझ्नु पर्यो भनेर। प्रिन्सिपललाई समय मागेँ। प्रिन्सिपलले सनिस धेरैजसो कलेज नआउने बताए। छाँगाबाट खसेझैं भए म। अभिभावककको भनी  दिएको फोनमा कहिल्यै सम्पर्क हुन्थेन। अभिभावकको नम्बरमा आफ्नै  नम्बर राखेको धेरैपछि  मात्र पत्ता  लाग्यो। सनिससँग सकिन्न भनेर छोडिदियौं! तपाईं आउनु भो!  ठिक गर्नु भो! प्रिन्सिपलको कुरामा सहमति जनाएँ!
प्रिन्सिपलले काम सोध्नु भो।
'के गर्नु हुन्छ तपाईं?'
उत्तर दिएँ, 'म  पढाउँछु। २० वर्ष भो पढाएको।' 
प्रिन्सिपल हाँस्नु भो! छोरा सनिसलाई भर्ना गर्दा डाक्टर बनाउने भनेको कुरा बल्ल याद आयो क्यारे उनलाई!
प्रिन्सिपलले कुरा सुरू गर्नुभो बल्ल।
'तपाईं एउटा शिक्षक!! वर्षौंदेखि पढाउँदै हुनुहुन्छ!  रूचि र मन परेको क्षेत्र कहिल्यै सोधिखोजी गर्नु भो विद्यार्थीको? मनोविज्ञान बुझ्न खोज्नु भो?? सनिस, तपाईंको छोरा डाक्टर कहिल्यै बन्दैन।ऊ क्रिकेटर बन्न सक्छ बरू।  झोला खोतल्नुस् उसका; कपिका पाना हेर्नुस्... हर ठाउँमा ऊ क्रिकेटप्रति क्रेजी छ......।' 
बल्ल सानोमा मलाई उसको कोठामा कपडाको बल र मुङ्रो राखेको याद आयो! २० वर्ष  शिक्षक भएर के पढाए होला मैले अरूका छोराछोरीलाई? आफ्नै छोराको रूचि पत्ता लगाउन नसक्नेले अरूका छोराछोरीको भविष्य के बनाए होला? घोत्लिएँ!   
गम्भीर भएर गमेँ म विद्यार्थीको रूचि र मनोविज्ञान पहिचान गर्न नसक्ने हुस्सु शिक्षक!! आफैलाई आफैप्रति ग्लानि भो!