(प्रेम त नभनूँ क्यारे प्रेममा त लिने मनसाय केही हुँदैन, केवल दिन सकूँ हुन्छ। हामीबिच प्रेम नभएको रहेछ क्यार! किनकि हामी हिसाब किताबमा धेरै अल्झिएका हौँ। बरु माया रहेछ। मायाकै कारण मप्रतिको मेह छ क्यारे! मायाका अवशेषहरू मज्जाले छुपेर बसेका रहेछन्।
पहिलोपल्ट देखिएको दिनकै अवसर पारेर अब उप्रान्त उसका कुनै पनि अवशेषहरू शेष नरहुन् वा नराखूँ भनी इमेल खोलेँ। उसका सबै मेसेज र हामीबिच विभिन्न समयका आदानप्रदान तथा सँगै काम गरेका दुवैका डकुमेन्ट जति थिए आँखा चिम्लेर डिलिट गरेँ। ह्वाट्सएप, इमो, भाइबर, मेसेन्जरका सबै मेसेज डिलिट गरेँ। फेसबुक, ट्विटर र इन्स्टामा अन्फ्रेन्ड नै त गरिनँ, तर अनफलो गरेँ।
२६० जिबीको एसएसडी राखेपछि कम्प्युटर छिटो चल्न थालेको हो। पुरानो हार्ड ड्राइभ पुरानै झोलामा रहेछ। खोतलेर हेरेँ। ऊ खुसी भएका पल खित्का छोडेर हाँसेका भिडिओ कलहरूका स्क्रिन सर्ट भिडिओ त कतै स्क्रिन सट फोटो रहेछन्। बुढेसकालमा हाँस्ने र जवानी सम्झने बहाना होस् भनेर जतन गरिएको हो खासमा। समय आएर पनि गइसकेको हो, मनमा कतै न कतै माया शेष रहनाले रहिरहेको थियो। यसपालि फोल्डरलाई अप्सन लगाएँ डिलिटका लागि तर यसपालि पनि डिलिट थिच्नै सकिनँ।
'बाबा, यो डकुमेन्ट राखिदिनु है। हजुरले जतन गर्नुहुन्छ, खोज्दा झट्ट पाइयोस् मेरो त केमा राख्ने।'
उसका केही डकुमेन्ट, केही पुराना फोटा, सर्टिफिकेटहरू रहेछन्। दश बाह्र त गजलहरू पनि। हेर्दै गएँ। एकछिन त सोचेँ, सम्बन्ध सकिएर धुलो माटो भयो। सम्झना दिलाउने यस्ता चिजहरू राखेर के भोलिका समय बरबाद पार्ने! कठोर बनेँ र पुनः अप्सन लगाएँ, आँखा चिम्लेर डिलिट गरिदिएँ। आफैँभित्र पनि दुई मन रहेछ। एकले गर् भन्छ अर्कोले नगर्।
यसो हेरेँ, उसैले दिएको भेस्ट शरीरमै छ। उसैले किनिदिएको सिरानीको खोल सिरानीमै छ। यिनलाई के गर्ने त? कस्तो फन्टुस आइडिया आयो, जलाइदिने? आ.. मरेका मान्छेका पो कपडा जलाउँछन्, आफूले लाएको कपडा पनि किन जलाउनु र! कि कसैलाई दिऊँ, या फालिदिऊँ? एकछिन यतिकै अलमल्ल परेँ। म यति निष्ठुरी किन भएँ एकाएक? एउटा आफैँभित्रको मन सोध्छ।
***
फेरि रिसाइकल बिन खोलेर उसका सबै डिलिट भएका जे जति चिज थिए, रिस्टोर गरेँ। ऊ खुसी भएका दिनहरू सम्झिएँ। बटुकाको मास्क बनाएर भिडिओ कल गरेकी थिई। खुट्टो भित्तामा ठड्याएर आफू जमिनमा पल्टेर नाचेकी थिई। एउटा बाहुलालाई पछाडि लुकाएर त्यो सानो ज्यानलाई एउटै बाहुलामा अटाएर ग्ल्यामर फोटो पठाएकी थिई।
'म लोक सेवा पास गर्छु। तिमीले कमाउनु पर्दैन। बच्चा हेर। पढ। तिमीले आफ्नो पढाइ पूरा गर। लेख। अलिक राजनीतिक विषयमा अध्ययन बढाऊ।' यस्तै भन्दै उसले सिरानी बनाएकी थिई मेरो छातीलाई। अनि लोक सेवाको किताब पढिरहेकी थिई खुट्टा हल्लाउँदै।
सोध्थी, 'बाबा, पशुपतिको मन्दिर कसले बनाएको हो?'
'जीवन कोमलता र भावुकताले चल्दैन,' उसले बारम्बार भन्थी। मेरो यस्तै यस्तै भावुकता र ऊप्रतिको बेस्वादिलोको माया किन यसरी उस्तै होला? किन नघटेको होला? किन नररत नभएको होला?
थाहा छ, बरु ढुङ्गा मान्छे बनेर बोल्ला तर ऊ सम्बन्धमा फर्किन्न। फर्किन्छ कि भन्ने आस त कति गरियो कति तर फर्किन्न, ऊ भनेर आफूले पनि धेरै कुरामा फाइनल गरेको हो। खै के कुराको आसमा अल्झिएको हो म यति धेरै! सम्बन्धमा सम्झनाको फाइनल गर्न कहिल्यै सकिँदैन रहेछ। कतै कम्प्युटरमा झैँ एसएसडी हालेर छिटो चलेझैँ पो हुन्थ्यो कि। उसलाई हार्ड ड्राइभ मान्ने हो भने एसएसडी अझै जीवनको बजारमा आएको छैन। बारबार जान्छु भन्दै गएझैँ गर्दै फर्किने म र एकै पटक गएर नफर्किने उसमा फरक यही रहेछ।
जीवनमा राम्रो कहिल्यै भएन। कहिल्यै केही सपना देखिनँ। ऊ भेटिई। ऊ नै सपना बनेकी हो। अब न सपना छन् न ऊ छ। ऊ भएको कल्पना गर्ने बित्तिकै सपनाहरू सलबलाउँछन्। उसकै तस्बिर भएको सिरानीको खोलले बिझाउन थाल्छ।
अस्ति निकैपछि कोठाका साथीसँग घर व्यवहारका कुरा भए। भन्दै थिए, 'तपाईंहरूको जोडी त कस्तो मिल्दो हुने थियो। दुवैको एउटै काम, एकै फिल्ड पनि। दिनभरि आफ्नै मान्छेसँग फिल्डमा एक अर्कालाई चिन्ता नहुने। अनि साँझमा एउटाको काखमा अर्को गरीकन दिनभरिको कामको सम्पादन अनि सम्बन्धमा चुम्बनको वर्षा।'
मेरो सपनाले एकछिन त थप उडान भर्यो। आहा! साँच्चै, यस्तो सोच, सपना, काम एकै भएका जोडी त कमै पो हुन्छन् होला। पुनः सोचिरहेँ। मानौँ, उसले 'फर्कनुस् है अब' भनी भने म त तयार भएको समयले पनि तीन वर्ष बितेछ। उसले फर्कनुस् भनेकै बेला फर्कने तयारी बिहेका लागि थियो। त्यो यही मे महिना हो। फर्केको भए। प्लानबमोजिम बिहे गरेको भए!
कल्पना त हो। फर्किन्थेँ, बिहे गर्थ्यौँ।
उसैले भनेकी हो, आमाबाबुसँग भन्दा पनि बच्चाहरू बाजे बज्यैसँग हुर्किए भने सांस्कारिक वा विचारवान् हुन्छन् रे। शून्यको मूल्य पुस्तकमा पनि यो कुरा मजाले लेखेका छन् लेखकले। हामीले पनि उमेरमै अझै हजुरको आमाले बच्चाको स्याहार गर्न सक्ने हुँदा नै बच्चाको प्लान गर्ने हो। उसको कुराअनुसार बिहेकै साल बच्चाको प्लान भएको भए यति बेला दुई वर्षको बच्चा पनि हुन्थ्यो।
उसले एक्लै कति कमाएकी छ कुन्नि तर म एक्लैले जति कमाएको छु, दुवैको जोड्दा घर जग्गा बन्न सक्थ्यो। घर, जग्गा, बिहे, बच्चा। यति भएपछि बाँच्न त दुवैसँग सिप छँदै छ। तर यथार्थमा म एक्लैलाई अझै समय लाग्छ। लागोस् कति लाग्न पर्ने हो।
एकताका सञ्जालमा खुबै भाइरल भएको थियो कमिलाको कथा। 'के तपाईंलाई थाहा छ? यदि तपाईंले १०० कालो कमिला र १०० रातो कमिलालाई भाँडोमा राख्नुभयो भने, केही हुँदैन? तर यदि तपाईंले जारलाई जोडले हल्लाउनुभयो भने, कमिलाहरू एक अर्कालाई मार्न थाल्छन्। रातो कमिलाले कालो कमिलालाई आफ्नो शत्रु र कालो कमिलाले रातो कमिलालाई आफ्नो शत्रु ठान्छन्। साँचो शत्रु भनेको भाँडो हल्लाउने हो। मानव समाजमा पनि यस्तै हुन्छ। त्यसैले, हामीले एक अर्कालाई आक्रमण गर्नुअघि, हामी रहेको कसले जार हल्लाउँदै छ भनेर सोच्नुपर्छ जान्नुपर्छ।'
कहिलेकाहीँ सम्बन्ध आआफ्नो ठाउँमा ठिकै ठाकै हुँदा हुँदै पनि कुनै एकको जीवनमा तेस्रो व्यक्तिको आगमनले र उसले ठाउँ बनाउन पाएको खण्डमा सम्बन्धको तहसनहस हुन्छ। हरेकले सहन्छन् लडाइँ, झगडा तर मन अलिकति कतै लोभिने बित्तिकै आफ्नो सामुन्नेको त केही कामको देखिन्न, देख्दा पनि रिस उठ्न सुरु गर्छ। आवाज कतै दूर सुने पनि रिस उठ्न थाल्छ।
आखिर किन तानातान हुनु परेको होला। जो अन्तिम हुँदै भने ऊ सुरु किन हुनु परेको होला। कति कतिखेर त, जोबाट सुरु गरेको हो उसैबाट अन्त्य गर्छु भन्ने। गुनासो गरौँ लाग्छ तर...
मे महिना मेमोरी बन्यो, जुन मुनकोजस्तै शीतल होस्। जुलाई, जहाँ रहे पनि फलाइरहोस् समयले सफलताको फूल। उसको जिन्दगीमा। यता त बरु कोभिडले घाँटी कोतरेर घाँटी र छातीले बेलाबेला बल्झिरहन्छ। उसका स्पर्शहरू त हराउँदै हराउँदै गए डुङ्गाको पाइला जसरी। डुङ्गा तैरिएको ठिक, सम्बन्ध गहिरिएको ठिक तर सम्बन्ध सम्बन्ध
मे मेमोरी उता पनि बाँचेको होला या नाइँ, बाँचेको मेमोरीले घोचेको होला या नाइँ। सम्बन्धमा आफ्नो गल्ती कहाँनिर भयो होला उभ्या पाउन सकेको छैन। सम्बन्ध एउटाको गल्तीले सकिने चिज हैन रहिछ। गल्तीको प्रकृति र गल्तीमाथिको दृष्टिकोणले भर पर्ने रहेछ।
एक दिन कसैले भनेको थियो, 'फेरि जिरोबाट सुरु गर्न मन छ।' तर मिल्दो हो त? प्रारब्धको खेल कस्तो होला अनजान मान्छे अनजान नै बन्नु थियो भने बिचका यतिका बिघ्न बाधा, भनावैरी, तँछाडमछाड, आरोप प्रत्यारोप?
शरीरमा चिह्न हुनु र त्यही चिह्नलाई लेख्नु ठिक हैन भनेर लेखेको छैन। जसले लेख्यो उसले तिमीलाई सर्वाङ्ग देखेको छ। तर जसले तिमीलाई हेर्ने छ उसले यो डायरी पढ्न पाउने छैन। कस्तो रचयिता सम्बन्धको तर...)
***
रस मानेर सुनेको कथा वाक्य पूरा नहुँदै नू'को आवाज हरायो। उनले डायरीको देब्रे पाना फेरि फेरि नियालिन्। आधा पाना लेखिएको डायरी मतर्फ देखाइन्। हताशजस्तो गरी बाँकी पाना पनि पल्टाइन्। यसअघि यस्तो कहिल्यै गर्दिन थिइन्। जहाँ रोकियो त्यहाँ आफ्नो फोटो चिह्नको रूपमा राखेर डायरी बन्द गरेर राख्थिन्। यसपालि मुहारको मुद्रामा पानाहरू पल्टाइरहिन्। डायरीको ७५% लेखिएको र बाँकी २५% खाली पाना रहेछ। यो कुरा पनि पहिलोपल्ट थाहा थियो।
आत्तिँदै उनले डायरी देखाइरहिन्। मानौँ डायरीको कथासँग उसको भव्य प्रेम भएको छ। डायरी लिएर म बसेको सोफामा आइन्। बाँकी केही नलेखिएको पृष्ठहरूलाई 'केही लेखेको छैन' भन्ने भावमा सररर पल्टाइरहिन्।
साँच्चै, यो डायरीवाला को हो? कसको कथा लेखिरहेको छ। आफ्नै कि अरू कसैको? 'म फर्किएँ बाबा' भन्दै डायरीको पात्रले प्रेम गरेको पात्र फर्कियो होला कि नाइँ? जीवनको घुमाउरो गोरेटोमा नचाहँदा नचाहँदै भेटिए होलान् कि नाइँ? डायरीको म पात्रको जीवन कता मोडियो होला कि उसैलाई पर्खिएर बित्यो होला।
अनेकन् रहस्यमय प्रश्नहरूसँगै डायरीको लिखित पृष्ठ सकियो। यस्तो लाग्छ हाम्रो जीवनबाट 'पृष्ठ नम्बर' पात्र सदाका लागि हरायो। हो डायरीका पृष्ठमा अब कथा छैनन्। यो डायरी नू र म बागलुङ जाँदा गाडीको सिटमुनि फेला परेको निलो डायरी हो। डायरी देखेकै नू'ले हो। उनैले टिपेकी हुन्। उनैले साथमा राखेकी हुन्। जतनले दराजमा राख्ने र बेलाबखत पढेर उनैले सुनाउने हुन्।
डायरी लिएर अस्वाभाविक आएकी उनी मेरो काखमा अस्वाभाविक तरिकाले बसिन्। एकोहोरो हेरिन्। डायरीलाई ह्वात्त म पछाडि फ्याँकिन्। सोफापछाडि खस्यो। मेरो दुवै साँप्रोमाथि बसिन्। एक्कासि निधार चुमिन् मेरो। काखीमुनि हात राखेर बेस्सरी कसिन्। के भयो उनलाई खै, लामो समय चुम्बन गरिन्।
आमाले डायरीकै कथा नू'को आवाजमा सुन्दै चकटी बुनिरहेकी थिइन्। म कथा सुन्न टिभी अफ गरेर रिमोट हातमै लिएर बसेको थिएँ। उनको यो अस्वाभाविक हरकतले कान्छी जुरुक्क उठेर बाहिर फतफताउँदै गई। भन्छे, 'घरमा को को छन् ख्याल पनि छैन।'
'सम्बन्ध सम्बन्धजस्तै रहन एक अर्काप्रति सम्मान त हुनै पर्छ।' सगरमाथाले के कुरासँग के जोडेकी हो, यत्ति बोलेर चुप बसी।
'हाम्रो स्वभाव कस्तो छ त्यस्तैको सङ्गत गरिन्छ; त्यस्तै स्वभाव भएकाहरू सङ्गतमा आइपुग्छन् तर कहिलेकाहीँ दुवै समान देखिनेजस्तो भए पनि चुम्बकले समान ध्रुवलाई आफूतिर तान्दैन।' ताराबाजी लैलैले पनि के बुझेर सासै नफेरी यत्ति भनेर आमाको नजिकतिर गई। यतिन्जेल के के भयो आमालाई केही थाहा छैन।
चुम्बनबाट नू हट्दै हटिनन्। अस्वाभाविक ममाथिको बसाइँले भाइले पनि 'भाउजूलाई एक्कासि के भयो? छोरी नै आठ वर्षकी भइसकिन् है भाउजू' भन्दै किचनतिर गए।
***
लेखक को हो? पात्र को हो? कथाले तानिरहेको हो। लगभगै यो अपूरो डायरी पूरा पढ्न चार वर्ष लाग्यो। छोरी आठ वर्षकी भइन्, बिहे गरेकै आठ वर्ष भयो। डायरीको पृष्ठ पनि सकिनु, नू यस्तो अस्वाभाविक हरकतले त कस्तो नजानिँदो कताकति शङ्का पनि गरिने पुरुष मन न हो।
१४ वर्षको प्रेम, पछिल्लो समय दुवै जना परदेशमा थियौँ। म घर फर्किने र उनी त्यतैबाट फिनल्यान्ड जानु परेकाले हामीले बिहे अगाडि नै बेबी प्लान गरेका हौँ। तर एक वर्षमै उनी फिनल्यान्डबाट फर्किएपछि हामीले बिहे गरेका थियौँ छोरीलाई काखमा राखेर।
***
जेठ २२ गतेको दिन हो। आआफ्नै व्यस्तताका बाबजुद पनि भाइ, ताराबाजी लै लै, सगरमाथा, मेसेन्जर युजर र कान्छी घर आएका थिए। निकै सालपछिको एक जम्बो भेट थियो। भेटको कारण नू'सँग सुहागरात भनौँ या हनिमुन मनाउन रारा ताल जाने सपना थियो। यो उनैले देखेको सपना थियो। मैले उनको सपनामा सपना थपेको थिएँ। साउनमा जनैपूर्णिमा मेलाका लागि बाजुराको बडिमालिका मन्दिर जाने। उनीसँगको पहिलो पश्चिम यात्रा गर्ने। बडिमालिकाबाट फर्किँदै रारा ताल घुम्ने।
उनी र म मात्रै किन? हामी सबै जाऊँ। के कसरी जाने सल्लाहका लागि जम्मा भएका थियौँ। नरमाइलो कुरा जेठ २२ गते पृष्ठ नम्बर एक पात्र जीवनबाट सदाका लागि अस्तायो।
चुम्बनमा झुन्डिएकी नू'ले त आँखाभरि आँसु गरेकी रहिछन्। उनी बल्लबल्ल छुटेपछि आँसु पुछिदिएँ। उनको निधारमा चुमिदिएँ। आमा चिच्याउनु भयो, 'कहीँ नभाको तिमीहरू मात्रै नबन है, घरमा को को छन् ख्याल पनि गर।'
उनलाई उचालेँ। उनी सानो बच्चाझैँ घाँटीमा झुन्डिइन्। कोठामा लगेर खाटमा राखेँ। फर्किएर डायरी सम्हालेँ। उनको दराजमा राख्दै गर्दा एक पटक हेरेँ। निलो डायरी, निलो मसी, अपूरो डायरी अपूरो कथा।
हामी पश्चिम जाने तयारीको लागि सल्लाह गर्न थाल्यौँ।