'सर नमस्कार! सरको नाम त सुनेको थिएँ। भेट भएको थिएन। आज मौका मिल्यो,' उसले म फलानो भन्दै आफ्नो नाम सुनायो अनि मसँग हात मिलाउन खोज्यो।
मलाई हात मिलाउन अलिक असहज लाग्छ, मैले उसलाई नेपाली संस्कारअनुसार नमस्कार नै फर्काएँ। उसको देब्रे हात पाइन्टको गोजीमा थियो। मतिर तेर्सिएको यसको दाहिने हात उसले तल झार्यो।
'म पनि यही गाडीमा सँगै जाऔँ है सर,' उसले फेरि हात मुसार्दै अनुमति माग्यो।
मलाई सबै परिवेश थाहा थिएन। मेरो साथमा रहेकी कर्मचारीले भनिन्, 'गाडीमा अगाडि ठाउँ छैन। पछाडि झोला छन्। खै कहाँ बस्नुहुन्छ र?'
'म पछाडि नै बसिहाल्छु नि! आज आफ्नो गाडी नभएर मात्र नत्र अगाडि सिटमा बसेर एसी लाएर हिँड्न पाइन्थ्यो। गुरु पछाडि खोल्नु त,' उसका यस्ता कुरा सुनेर न हाम्रो ड्राइभर बोल्न सक्यो न हामी, ऊ हाम्रो गाडीमा लुसुक्क घुस्यो।
गाडी गुड्नासाथ उसका कुरा सुरु भए।
'हामीले त धेरै काम गरेका छौँ नि सर। पच्चिस वर्षदेखि म यस संस्थामा छु। सर आउनुभन्दा पहिलेका हाकिम साहबसँग त मैले धेरै होटेलमा सँगै बसेर खाएको छु। आज पनि सँगै बस्न पाए हुन्थ्यो! सरहरू कता बस्नुहुन्छ कुन्नि! त्यहाँ एउटा सस्तो होटेल त छ। हाम्रो त बजेटले महँगो होटेलमा बस्न सकिँदैन। कहिलेकाहीँ साथीहरूसँग महँगै होटेलमा बसेर खाइन्छ। यसरी आउँदा त धेरै जसो यतैका साथीले व्यवस्था गरिहाल्छन्। गुरु, गाडीमा पानी छ? कस्तो तिर्खा लाग्यो?'
ऊ अझै केही भन्दै थियो। गाडी अलिक उफ्रिएकाले ऐया भन्दै उसले आफ्ना कुरा रोक्यो।
ऊ को हो मैले चिनेको थिइनँ। हामीसँग जाने साथीहरूले सामान्य चिनेका रहेछन्। हामी मधेसमा बालिका शिक्षा सम्बन्धमा अन्तरक्रिया गर्न त्यता गएका थियौँ। ऊ विमानस्थलमा भेटियो र हाम्रो गाडीमा घुस्यो। हाम्रो समूहका कसैलाई पनि उसको व्यवहार त्यति ठिक लागेको थिएन। सबै चुपचाप थिए। ऊ भने आफ्ना कुरा सुनाइरहेको थियो। बुझ्दा ऊ कुनै गैरसरकारी क्षेत्रमा काम गर्ने व्यक्ति रहेछ।
एक बोतल पानी खाइसकेर डकार्दै उसले भन्यो, 'सरहरूको र हाम्रो कार्यक्रम एउटै रहेछ। मैले हिजै थाहा पाएको थिएँ। सरहरू बल्ल आउनुभयो। यहाँ त हामीले पहिलेदेखि नै काम गरेको हो। सँगै जान पाए हामीले गरेका कामकुरा पनि सुनाउन पाइन्थ्यो। सरहरूसँगै हाम्रो पनि मिसन पूरा हुन्थ्यो। दाताले पत्याएकै छन्। हाम्रो संस्था राम्ररी नै चल्दै छ। बरु मैले गाडी साडी, जलपान, होटेलको केही व्यवस्था गर्नुपर्छ कि! म तयार छु है सर! यसो भन्नुहोला। शाकाहारी, मांसाहारी के लिनुहुन्छ, तातो चिसो के चल्छ, व्यवस्था गरौँला।'
मलाई भित्रभित्र असह्य भइसकेको थियो। एउटा कुनै अपरिचित संस्थाको मानिसले आफैँ कामको बखान गरेको र अनेक थरी कुरा सुनाएको त्यति मन परेको थिएन। उसका कुरैले बुझिन्थ्यो, ऊ कामभन्दा कुरा धेर गर्छ। यस्ता संस्थाका धेरै मानिसले काम नगरी प्रतिवेदन बनाउँछन् र सम्बन्धित मानिससँग नजिकिएर आफूलाई सर्वेसर्वा हुँ भन्ने प्रमाणित गर्न खोज्छन्। समाजले पनि यस्तै मानिसलाई राम्रो ठानिदिँदा हामीले चाहेको विकास हुन सकेको छैन। ऋण र अनुदानमा विदेशीले गरेको सहयोग यस्तै मानिसका हातमा पर्दा समाजमा उन्नति हुन सकेको छैन। लाभग्राहीलाई खाना खुवाएर र पैसा बाँडेर कार्यक्रम सफल भयो भन्ने मानसिकता यस मानिसमा पनि छ कि भन्ने मलाई लागिरह्यो तर अपरिचित भएकाले मैले मेरो आक्रोशलाई दबाएर नै राखेँ। गाडी आफ्नै गतिमा गुडिरह्यो। उसले पनि आफ्नै सुरमा कुरा गरिरह्यो।
'गर्मी पनि कति धेरै! गुरु, त्यो एसी मिलाउनु न। यहाँ त आइ नै पुगेन। यसो ओर्लेर चिसो खान पाए हुन्थ्यो। नजिकमा एटिएम छ कि! मैले त आज क्यास बोक्नै बिर्सेछु। बाबुको फी तिर्न भनेर भएको क्यास श्रीमतीलाई दिइहालेँ। गर्मीले पोलिसक्यो। आज सन क्रिम पनि बोक्न बिर्सेछु। हामी दुवै जना एउटै प्रयोग गर्छौँ। म प्रायः नेपालको कुनै पनि चिज प्रयोग गर्दिनँ। पोहोर बाहिर जाँदा ल्याएको थिएँ। त्यो पनि सकिनै लागेको थियो। उनले आज आफ्नै झोलामा राखिछन्। म्याडमसँग थियो कि? अनुहार, हात डढ्ने भो।' उसले कुनै सङ्कोचबिना कुरा राख्यो।
उसको कुरा सुनेर हाम्रो समूहकी सपना मरी मरी हाँसिन् र भनिन्, 'तपाईंको त परिवारै ब्रान्डेड हो कि क्या हो? अनि हिँड्ने बेलामा म्याडमले यस्ता कुरामा ख्याल गर्नुभएन? मसँग क्रिम त होला, दाह्री काट्ने रेजर त हामीसँग हुँदैन नि। फेरि माग्नु होला।'
सपनाका कुरा उसले कति बुझ्यो थाहा छैन। ऊ आफ्नै सुरमा भन्न थाल्यो, 'उनी कतै जाँदा त म लुगा कपडा मिलाइदिन्थेँ। यसपालि हिँड्ने बेलामा उनी थिइनन्। उनको पनि स्वभाव मेरो जस्तै छ, सबै चिज ब्रान्डेड चाहिने। यति खेर बारीमा टन्न साग छ, उनलाई साग मन पर्दैन। मलमा गएर के के लिएर आउँछिन्। कुनै चिज त कसरी खाने भन्नेसम्म थाहा हुँदैन। केही भन्नुहुन्न, तपाईंको जागिरको मान राख्नुपर्दैन भनिहाल्छिन्। हुन त हो पनि नि, आफूले यस्तो संस्थामा काम गरिएको छ। बजेट त त्यस्तै हो हाम्रो संस्थामा तर फारु गरेर काम गर्दा खान लाउन राम्रै पुग्छ। चामल सामल घरैबाट आइहाल्छ। एउटा सन्तान पढाउन पुगेकै छ। एउटा मोटरसाइकल किन्ने रहर छ, त्यो पनि यसपालिका कार्यक्रम सक्दा पूरा भइहाल्छ।'
गाडीमा ऊबाहेक कोही बोलेका थिएनन्। ड्राइभर बेलाबेला मुसुमुसु हाँस्थ्यो। मलाई उसका कुरा सुन्नु नै थिएन। ऊ गैरसरकारी क्षेत्रमा र म सरकारी क्षेत्रमा काम गर्ने मानिस, हाम्रो सोच नै फरक थियो। हामी सरकारका योजना र कार्यक्रम लक्षित वर्गमा पुर्याएर प्रतिफल निकाल्न चाहन्छौँ। ऊ कार्यक्रम गरेर मोटरसाइकल किन्ने योजना सुनाउँछ। हामसँगै बसेर हामीलाई बहकाउने कुरा गर्छ। म सोच्दै थिएँ, एउटा सानो बजारमा आइपुग्यो। त्यहाँ केही पसल थिए।
'सरहरूलाई भोक लागेन? हुन त खाएर हिँड्नु भयो होला। मैले त ब्रेकफास्ट लिन पाइनँ। बसेको घरमा अलिक ढिलो उठे। चियासम्म पकाएनन्। एक गिलास पानी खाएर हिँडियो। यहाँ खाने ठाउँ रहेछ। आफूलाई चिल्लो पिरो मन पर्दैन। डेरीको दही पनि खाने गरेको छैन। हुन त म मांसाहारी नै हुँ। आज चाहिँ सरहरूसँग शाकाहारी नै खानुपर्ला,' यति बेलासम्म ऊ व्यक्ति पूजामा केन्द्रित थियो। अब उसको गफको विषय खानेकुरातिर फर्कियो।
हामीलाई पनि खाजा त खानु नै थियो। गाडीबाट ओर्लेर हामी खाजा घरमा पस्यौँ। सपनाले जेरी, पुरी, दही र तरकारी मगाइन्। हामी सबैले एउटै खाजा खायौँ। ऊ खाजा खाएर पैसा तिर्नुभन्दा अघि नै गाडीमा गएर बस्यो र एक बोतल पानी तनतनी पियो। सबैको पैसा तिरेर हामी पनि गाडीमा बस्यौँ।
'आहा, आज कति मिठो खाजा खाइयो। यहाँ मिठै खुवाउँछ। सँगै बसेर सरहरूलाई यहाँको दही चखाउन पाइयो। खुसी लाग्यो। हामी पनि कार्यक्रम गर्दा यहीँको खाजा खुवाउँछौँ, सस्तोमा दिन्छ,' उसले आफूले सबैलाई खाजा खुवाएको झैँ गरी बखान गर्यो।
मलाई उसका कुरा सुन्नभन्दा कान थुन्न मन लाग्यो। मोबाइलमा हेडसेट जोडेर गीत सुन्न थालेँ। ऊ आफ्ना कुरा सुनाइ नै रहेको थियो। उसले मधेसमा शिक्षाको स्तर उकास्न उसको संस्थाले गरेका काम, ऊ संलग्न बैठकका निर्णय र ऊ पुगेका ठाउँको विवरण लेखिएको एउटा पाना पनि मलाई देखायो। उसले यसलाई राखेर प्रतिवेदन बनाएपछि उसको दाता संस्थाले अर्को वर्षलाई पनि बजेट दिने कुरा समेत सुनायो।
उसका गन्थन र गर्मी दुवै सहँदै हामी अघि बढिरह्यौँ। गाडी केही पर पुगेपछि उसको मोबाइलमा घण्टी बज्यो। उसले बडो फुर्तीसाथ अलिक ठुलो स्वरमा भन्यो, ' ए... हो, म आइपुग्न लागेँ। म यहाँ केन्द्रबाट आएका सरहरूसँग छु। हामी सबै हाम्रै गाडीमा छौँ। उहाँहरूले हाम्रो टिमलाई भेट्ने कुरा गर्नु भएको छ। एकछिन समय मिल्छ? ए हो र... त्यसो भए उहाँहरूलाई पठाइदिऊँ त। ल ल, म उहाँहरूलाई पठाइदिएर आउँछु।'
उसले मोबाइल गोजीमा राख्दै हतार हतार गरेर भन्यो, 'गुरु, गाडी रोक्नुहोस् त। मेरो ओर्लने ठाउँ कटिसक्यो। कस्तो! ठाउँमा रोक्नुपर्छ नि! यो गर्मीमा हिँड्नुपर्ने भो उफ्!'
हाम्रो गाडी रोकियो। ऊ गाडीबाट ओर्लेर कपाल मिलाउँदै अघि बढ्यो।