काठमाडौं, नेपालको राजधानी, जहाँ विकासका ठूल्ठूला संरचनाहरू उभिएका छन्, तर कहिलेकाहीँ यो सहर उराठलाग्दो पनि बन्छ। विशाल भीड, धुलो र धुँवा, निरन्तर हल्ला—यी सबैले यसलाई उराठलाग्दो बनाउँछन्। यसैबीचको कथा हो, जीवनसँग संघर्ष गरिरहेको एक युवाको।
गाउँबाट काठमाडौं आएको थिएँ, धेरै पढ्छु, राम्रो जागिर गर्छु भनेर, तर सोचेजस्तो नहुनु नै जिन्दगी हो भनिन्छ। सहरका उज्याला बत्तीहरू र भव्य संरचनाहरूले मलाई मोहित बनाए पनि, वास्तविकता बिस्तारै प्रकट हुँदै थियो। म यो सहरको कोलाहलमा हराउन थालेको थिएँ। मेरो मनमा भने गाउँको शान्ति, हरियाली, र खुला आकाशको याद आइरहन्थ्यो।
मैले काठमाडौंमा जीवन सजिलो छ भनेर जति सोच्थेँ, मेरो कल्पनाभन्दा यताको विपना सयौं गुणा फरक थियो। बिहानदेखि बेलुकासम्म बसमा खचाखच भरिने भीड, सवारी साधनको धुँवा, अनि चौबिसै घण्टा बज्ने हर्नको आवाजले मेरो जीवनलाई थकित बनाइरहेको थियो। यी सपनाका गल्लीहरूमा मेरो सपनाको कोठा पनि सानो र अँध्यारो थियो, जहाँ घामको झुल्को कहिल्यै देखिँदैनथ्यो।
ती भित्तामा सझिएका अनेकौं ज्ञानका भण्डार जसलाई मैले दिनरात नभनी कोरेको थिएँ। सकिन लागेको चामलको बोरा, खित्त हाँसेको ग्यास, सहरको सुखिलो जिन्दगीमा, अस्ताएका मेरा भाँडाकुँडाहरू, लाग्छ वर्षौंदेखि माझ्न भ्याएको छैन।
कोठामा भएको सानो ऐना जसमा म आफैलाई हेर्दै भन्छु, 'सहर गएर काम गर्छु, पैसा कमाउँछु, धनी बन्छु भन्दै आएको थिइस् त, अहिले यहीँ कोठाको भाडा पनि घरको अनाज बेचेर पठाउनुपर्छ। खै, यतिका समय भइसक्यो, न त राम्रो काम भेटेसी, न त कुनै ठाउँमा नाम निकाल्न सकिस्।'
आफ्नै अन्तरात्माबाट यस्ता वाक्य स्पष्ट सुन्छु, 'हुने खानेको लागि हो सहर, हामी हुँदा खानेहरूको लागि होइन। यहाँ हरेक चिजमा व्यापार छ। कुनै दिन स्वास फेरेको पनि पैसा लाग्न सक्छ। हुन त काठमाडौंको हावा यति शुद्ध पनि छैन। बिना मास्क लगाएर बाहिर निस्किँदा साँझ कुन चाहिँ हस्पिटलमा गएर अपरेसन गराउनुपर्ने हो, सोझै अनुमान लगाउन सकिन्छ।'
काठमाडौंमा जीवन निर्वाह गर्न कि त पैसा हुनुपर्छ, कि त ठग्न जान्नुपर्छ। यहाँ कुरा बिक्छ रे मान्छेको व्यक्तित्व किन्न। खैर, मलाई अब यी कुराहरूको आदत भइसक्यो। भरोसा कसैसँग लाग्दैन, कहिलेकाहीँ त म आफैसँग पनि प्रश्न गर्छु, 'कतै यो उराठलाग्दो ठाउँले मलाई त उराठलाग्दो बनाएको छैन?'
अब म गाउँमा नयाँ भएको छु,
यो सहरमा पुरानो छाप बसेको छ।
हजारौं प्रयास गर्दा एउटा होटलमा वेटरको काम पाएको छु। दिनरात नभनी काम गर्नुपर्छ, बिहान कलेज जाँदै ठिक्क, कहिलेकाहीँ त खाना खाने समय मिलाउन पनि मुस्किल हुने गर्छ। यो सहरले मलाई आफै जस्तो बनाउँदै छ, र म बनिँदै छु।
एकदिन, होटलमा काम गरिरहेको बेला, एक जना ग्राहकले मलाई बोलाए। उनी एक प्रतिष्ठित लेखक थिए। उनले मलाई सोधे, 'के तिमी यो सहरमा नयाँ छौ?'
मैले मुस्कानसहित जबाफ दिएँ, 'नयाँ त होइन तर, यो ठाउँमा म समावेश हुन सकिराको छैन।'
'तिमीलाई साहित्यमा रूचि छ क्या हो?'
'हो, मलाई साहित्यमा धेरै रूचि छ। साहित्यले मानिसको मनोभावना, समाजका विविध पाटा, र जीवनका अनुभवहरू प्रस्तुत गर्न मद्दत गर्छ। तपाईंलाई पनि साहित्यमा रूचि छर?'
मेरो प्रश्नले उनी अलिकति झस्किए। उनको अनुहारमा एकछिनको लागि अनौठो भाव देखियो।
उनले मलाई आफ्नो सम्पर्क नम्बर दिँदै भने, 'यदि तिमीलाई सहयोग चाहिन्छ भने मलाई सम्पर्क गर्नू।'
उनी एउटा लेखक रहेछन्। उनका केही पुस्तकहरूको बारेमा थाहा पाउनेबित्तिकै मैले उहाँसँग सम्पर्क गर्ने निर्णय लिएँ।
यो घटनाले मेरो जीवनमा नयाँ मोड ल्यायो। म लेखकसँग सम्पर्कमा आएँ र उनको मार्गदर्शनमा लेख्न थालेँ। केही महिनापछि, मेरो पहिलो कथा सेतोपाटी अनलाइन मिडियामा प्रकाशित भयो। त्यो मेरो लागि गर्वको क्षण थियो। मैले थाहा पाएँ कि संघर्षको बीचमा पनि अवसरहरू लुकेका हुन्छन्।
मेरो कथा पढेर धेरैले प्रेरणा पाए। म एउटा लेखकको रूपमा स्थापित भएँ। म अहिले पनि होटलमा काम गर्छु, तर म अब सन्देश दिने एउटा माध्यम पनि छु। मेरो जीवनले नयाँ दिशा लिएको छ। मैले काठमाडौंको उराठलाग्दो वातावरणलाई जितेको छु।
मेरो कथा यहाँ समाप्त हुँदैन। यो केवल सुरूआत हो। म अझ धेरै लेख्नेछु, नयाँ नयाँ अनुभवहरू संकलन गर्नेछु। काठमाडौंको उराठलाग्दो जीवनलाई म अब सकारात्मक दृष्टिकोणले हेर्छु। यो सहरले मलाई संघर्ष गर्न सिकायो, र यही संघर्षले मलाई सफलता दिलाउने छ भन्ने आशा राखेको छु।
यो कथा यसरी नै अघि बढ्नेछ, जहाँ म आफ्नो यात्रामा अझै धेरै संघर्ष र सफलताका कथाहरू लेख्नेछु। हर दिन नयाँ उत्साहका साथ बाँच्दै, काठमाडौंको जीवनलाई स्वीकार गर्दै, म आफ्नो सपनाको बाटोमा अघि बढ्नेछु।
हारेको छैन म हराएको छैन
गन्तव्य टाढा भए पनि डराएको छैन
भर्खर त सुरू हुँदैछ जिन्दगीको पाठ
यात्रा जारी छ म सकिएको छैन