यहाँ
विज्ञहरूको बिगबिगी छ
सिक्नेभन्दा सिकाउने धेरै छन्
जान्ने बनियो भने सिकाउनेको खेती खोसिएला
उनीहरूको विरोध गरे प्रतिशोध गाँसिएला
बिचराहरूको खाई खेती मासिएला
त्यसैले
तिनैले जे जे भने भनुन्, मान्ने भएको छु
अचेल धेरै कुरा नजान्ने भएको छु।
शिक्षक होइन प्रअलाई तालिम दिन्छ
राम्रो समाचार रिपोर्ट तयार नगर्नेले पत्रकारिता तालिम भन्दै हिँड्छ
लेखक, कवि होइन कविता साहित्यको दर्शन छाँट्छ
कर्मचारी होइन प्रस्तावना, माइन्यूट, प्रतिवेदन लेखनमा विज्ञ छु भनेर ढाँट्छ
मञ्चमा कतै कार्यक्रम नचलाउनेले उद्घोषण तालिम दिन्छ
एकछिन मान्छेहरू अलमल्याएर दुई चार पैसा लिन्छ
विरोध गर्ने संस्कार सिकिएन
त्यसैले राम्रो मालमा बिकिएन
तिनैले जे जे भने भनुन् मान्ने भएको छु
अचेल धेरै कुरा नजान्ने भएको छु।
दैनिक कर्मले खारिएकाहरू उनीहरूकै कुरा सुन्नु पर्ने
चित्त बुझोस् नबुझोस् तिनैलाई वरिष्ठ चुन्नु पर्ने
न उनका सीप जीवनमा प्रयोग भएका छन्
न उनका कुरा व्यवहारमा आएका छन्
सिकाउनेहरू आफ्ना कनीकुथी कुरा थोपरेर जान्छन्
सिक्नेहरू मौन बसेरै चिया खाजा खान्छन्
सिकाउनेहरू खुबै गरियो ठान्छन्
सिक्नेहरू बिस्तारै दिक्दार मान्छन्।
जान्नेले सिकाए राम्रै मान्दथे
जीवन व्यवहारका केही सीप जान्दथे
काम गर्नेहरू गरिरहेका छन्
सिकाइ, भोगाइले सीप भरिरहेका छन्
यहाँ राम्रोलाई होइन हाम्रोलाई छान्ने चलन छ
जान्नेलाई होइन मान्नेलाई तान्ने चलन छ
यस्तै अनेक विचित्र देखेको छु
अलिकति मात्र यहाँ लेखेको छु
तिनैले जे जे भने भनुन् मान्ने भएको छु
अचेल धेरै कुरा नजान्ने भएको छु।