आमा! कहाँ छ्यौ भन केही मसँग
तिमीबिना छन् सब तुच्छ रङ्ग
चाहे चढाऊँ जति जे छ सारा
हुँदैन कहिल्यै सरि दुग्ध भारा।
जन्मै थिएँ शिष्य तिम्रै सदा म
शिक्षा दियौ जे, छ खुसी यसैमा
आमा तिमी नै सबमा ठुली छ्यौ
यो सृष्टिमा उत्तम नै तिमी हौ।
भाग्यो खुसी त्यो घरबाट सारा
ढल्यो मियो भो सब बेसहारा
तिमी हुँदा पो त थियो सुवास
छोडी गयौ आज भएँ अनाथ।
बुझी कुरा ती अनि साथ दिन्थ्यौ
जस्तै विपत्मा पनि साथ हुन्थ्यौ
हाँस्थ्यौ मुसुक्क दुःख त्यो लुकाई
थियौ तिमी नै दुखकी दबाइ।
तिरूँ कसोरी गुन त्यो हजार
जन्मूँ भई सन्तति बार बार
औँसी र पुर्ने तिथि हुन् बहाना
देवी तिमी हौ सब थोक आमा।