कसरी भुल्न सक्छु होला र म त्यो अन्तिम भेट! चौतारीमा पर्खिरहेकी तिमी, सधैँ झैँ ढिला पुगेको म।
लागेको थियो, मलाई देख्नासाथ कराउने छौ तिमी। रिसाएर ठुस्स, गाला रातो गराउने छौ तिमी। मैले अँगालोमा लिएपछि तिमीलाई, हामी दुईको संसारमा हराउने छौ तिमी।
तर त्यो तिन फरक थियो, फरक थियो हामी भेट्नुको उद्देश्य।
केवल भन्यौ, 'समयमा आउने बानी कहिले हुने भएन है तिम्रो?'
म बोलेँ, 'अ! हेर न, अब त पर्खिनको लागि तिमी पनि हुँदिनौ।' अनि ङिच्च हाँसिदिएँ।
संवाद जारी रह्यो।
फेरि बोल्यौ, 'त्यो बनावटी हाँसो मलाई देखाउनु पर्दैन।'
म बोलेँ, 'अब, अरूको अगाडि हाँस्ने बानी पनि त बसाल्नु पर्यो।'
मलिन अनुहार बनाएर बोल्यौ, 'मेरो लागि सजिलो छ जस्तो लाग्छ यो सब?'
जवाफ फर्काइहालेँ, 'न सजिलो तिम्रो लागि, न मेरो लागि सजिलो, अनि हामी छुट्नु किन पर्ने?'
एक छिन, सन्नाटा छायो।
एक छिनपछि सोचेर बोल्यौ, 'बुझ्ने कोसिस गर न, गन्तव्य विहीन यात्रा तय गरेर के गर्नु?'
म बोलेँ, 'यात्रा गर्दै गएपछि, गन्तव्यमा पुग्ने हौसला र उपाय पनि आउँदै गर्छ नि हैन र? प्रयास त गर्नु पर्यो नि, पहिल्यै हार मानेर कहाँ हुन्छ र?'
अलि झर्किएर बोल्यौ, 'अनि प्रयास गरेर असफल भएपछि बिच बाटोबाटै छुटिनु पर्यो भने?'
कपाल सुमसुम्याउँदै भन्यौ, 'सँगै हिँड्नु सजिलो छ, आभास। तर साथ छुटेपछि त्यो बाटोबाट न त अघि जान नै सकिन्छ न त एक्लै पछि फर्कन। म चाहन्नँ हामी दुवैको त्यो अवस्था होस्।'
एक छिन फेरि मौनता छायो। साँझ पर्न लागेको थियो।
मेरो काँधमा आफ्नो शिर राख्यौ। हात समायौ। सम्हाल्न सकिनँ मैले आफूलाई, टप्प खसिहाले आँसुका थोपाहरू।
तिमीलाई सुइँको नहोस् भनेर हत्तपत्त पुछ्न थालेँ आँखा तर थाहा भयो तिमीलाई।
म चाहन्न थिएँ हाम्रो अन्तिम भेटमा पनि तिमीले रुनु परोस् तर चाहेको हुने भए हाम्रो यो भेट पनि अन्तिम किन हुन्थ्यो र?
चाहना त हाम्रो पनि थियो, जिन्दगीभर एक अर्काको साथमा हुने, सुख दुःख सँगै कटाउने, एक अर्कालाई हेरी रमाउने।
तर केही भएन चाहेजस्तो, न त पाएँ चाहेको तिमीलाई।
म रोएको थाहा पाएपछि कसेर अङ्गालो हाल्यौ अनि रुन्चे स्वरमा भन्यौ, 'आई विल अल्वेज लभ यु आभास। तिमी मेरो लागि सधैँभरि खास रहने छौ। तिमीसँग बिताएका हरेक पलहरू मेरो जिन्दगीको अमूल्य पलका रूपमा रहनेछन्। अझ भनौँ मेरो जिउने आधार हुनेछन्। यु विल अल्वेज ह्याभ माई हार्ट।'
बोल्न सकिरहेको थिइनँ म केही। आँसु पुछिदिएँ तिम्रो, निधारमा चुम्बन गरेँ र हातले इसारा गर्दै मुस्कुराउन आग्रह गरेँ। त्यो हाँसोमा दुःख देखिए पनि मुसुक्क मुस्कुरायौ तिमी अनि भन्यौँ, 'अब हामी निस्कनुपर्छ, आभास।'
'तिमी निस्केऊ न, म एक छिनमा निस्किन्छु नि' भनेँ।
तिमीले फेरि कसेर अङ्गालो हाल्यौ अनि 'गुड बाई आभास' भनेर निस्कियौँ।
बदलामा बनावटी हाँसोमा हातले बाईको इसारा बाहेक केही बोल्न सकिनँ।
तिमी जाँदै थियौ, घाम अस्ताउँदै थियो। लाग्यो, मेरो जिन्दगीमा अब त्यो घाम कहिल्यै उदाउने छैन अनि उदाउने छैन मलाई हेरेर मुसुक्क मुस्कुराउने तिम्रो अनुहार।
बेला बेला पछि फर्केर हेर्यौ तिमीले, तिमी देखिन नछाड्दासम्म एकोहोरो टोलाएर हेरिरहेँ मैले पनि।
बिस्तारै तिमी देखिन छाड्यौ अनि अस्तायो पूर्ण रूपमा त्यो घाम र छायो अन्धकार। अब मेरो जिन्दगी त्यस्तै हुनेवाला थियो र सायद तिम्रो पनि।
चाहेको थिएँ तिमीलाई, पाउन सकिनँ। तर भगवान्ले संसारका सारा खुसी तिम्रो पाउमा राखिदिउन्, चाहे त्यसको मूल्य मेरो प्राण नै किन नहोस्।