समय बद्लियो
परिस्थितिहरू बद्लिए
स्थान पनि बद्लियो
आफ्ना भनी मानेकाहरूले पनि बाटो मोडे
एक दिन नबोले मन भारी हुन्छ भनेकाहरूसम्म चुप भइदिए
अझ भनौँ तिनी त बिलाए।
आफूले ठुलो हो मान गर्नपर्छ भनी
मैले मानेकाहरू झनै ठुला बनिदिए
सङ्घर्ष गर्न सिकाउनेले नै
सफलताको बाटोमा काँडाको बार बनाइदिए
एक पाइला माथि उठ्न सघाए जस्तो गरेर
आफन्तले एक बल्ड्याङ तल खसालिदिए
बोलीले ठिक्क पार्ने नजिकका भनिनेले
कुरा काटेरै दिनहरू बरबाद बनाइदिए।
यो गर्दा ठिक भनेर सिकाउनु पर्ने
मभन्दा माथिकाले बेवास्ता गरिदिए
अरूको के कुरा गर्नु बाबै
म त आफ्नै विशेषता चिन्न नसकेर हतारिएको मान्छे
आफ्नै सपनाले लात मारेर गइदियो
आफ्नै रहरहरू पनि चिप्लेर कता कता फिँजारिए
रफ्तारमा अघि बढ्नुपर्ने पाइलाहरू घिसार्दा पनि अघि सर्न मानेनन्।
जीवनका बन्धन र बाधाहरू त तोडिए
तर जिन्दगी रफ्तारमा दौडिन अझै टेरेन
इच्छा गरिएका उडानहरू उड्न मानेनन्
तितरबितर भएका मनका चाहनाहरू एकत्रित हुन चाहेनन्
छरपस्ट फिँजिएका भावनाहरू एकमुष्ट हुन खोजेनन्।
मन र दिमाग बिचको द्वन्द्वको खेल रोकिन चाहेन
जिन्दगी कहिँकतै दिक्क भयो
मेरा जिन्दगीका आम दर्शकहरू बिचारिँदै होलान्
बल्ल यसलाई ठिक्क भयो भनेर।
म केबल दर्शक भएँ, आफ्नै जिन्दगीको
ताली पड्काउँदै छु
आफै भित्रका द्वन्द्वको रोमाञ्चक खेल देखेर।
यो अवस्था हाँस्ने कि रुने म जान्दिनँ
बस दर्शक भएँ
आफ्नै जिन्दगीको।