संयोग आफ्नो घरको गेटबाट बाहिर ननिस्किएको लगभग एक साल भयो। उसले अरू कुनै मानव प्रजातिको समीपमा बसेर बातचित नगरेको पनि त्यही एक साल जति भयो। तर आज भने उसले एक घण्टा समय बिताउन भन्दै इन्टरनेट साइटबाट एक सुन्दर महिलालाई प्रेमिकाको रूपमा भाडामा लिने सम्झौता गरेको छ।
ऊ तिनै सुन्दरीको प्रतीक्षा गरिरहेको छ। उसले आज बेलुकीको खाना तिनै सुन्दरीसँग खाने छ। उसले इन्टरनेटको सहायताले खानाका थुप्रै परिकारहरू मगाइसकेको छ। उसले आफ्नो खाना खाने कोठाका सबै बत्तीहरू निभाएर सबैतिर ठुला ठुला मैनाका बत्तीहरू बालेको छ। खाना खाने टेबल कृत्रिम फूलहरूले निकै कलात्मक रूपमा सजाएको छ।
सोफामा पल्टिरहेको उसले आफ्नो नारीमा बाँधिएको पातलो यन्त्र हेरिरहेको छ। घडीमा ठिक सात बज्यो। ठिक त्यसै बेला बाहिर गेटमा कोही आइपुगेको सङ्केत पनि त्यही समय देखाइरहेको यन्त्रले दियो। उसले त्यही यन्त्रको एउटा बटन थिचेर गेट खोलिदियो।
छोटो निलो कपाल गरेकी लामो कदकी एक सुन्दरी गेटबाट भित्र छिरिन्। संयोग बाहिर निस्कियो र ती सुन्दरीलाई माथि आउने इसारा गर्यो। सुन्दरी माथि आइपुगिन् र संयोग तिर हेर्दै 'संयोग जी, आजको डिनर डेटको रूपमा मलाई छनोट गर्नु भएकोमा कृतज्ञ छु' भन्दै मुस्कुराई। संयोग मुस्कायो तर केही बोलेन।
भित्र पुगेपछि संयोगले सुन्दरीलाई बस्ने इसारा गर्दै एउटा टेबल तानिदियो। त्यो देखेपछि ‘तपाईंले छनोट गर्नु भएको योजनामा पन्ध्र पन्ध्र मिनेटको दुई वटा अङ्कमाल पनि उल्लेखित रहेछ, के हामी केही खानु अगाडि पहिलो अङ्कमाल गर्न सक्छौ?’ उसले उभिएरै प्रश्न गरी।
‘तपाईंलाई जे जसरी सहज लाग्छ त्यसै गरौँ,’ संयोगले सुन्दरीलाई सहज बनाउन खोज्दै आफू बस्ने कुर्सी तान्दै भन्यो।
‘म तपाईंलाई सेवा दिन आएकी हुँ। एक अङ्कमाल सुरुमा र अर्को अङ्कमाल अन्तमा गर्दा उचित होला कि भनेर मात्रै भनेकी हुँ।’
यो कुरा सुनेपछि संयोगले उसको हात समाउन खोज्यो तर सुन्दरीले हात पर सारी, ‘माफ गर्नु होला हात समाउने भनेर तपाईंले सहमति जानेको सम्झौता पत्रमा उल्लेखित थिएन, यसको लागि तपाईंले पहिले नै उल्लेख गर्नु पर्ने हुन्थ्यो।’
सुन्दरीको कुरा सुनेर संयोग केही झस्कियो।
उसको अवस्था थाहा पाएर ‘तर तपाईंसँगको यो भेट मलाई आनन्ददायी लाग्यो भने म तपाईं केही मिठो उपहार दिन सक्छु,’ सुन्दरीले मुस्कुराउँदै भनी।
संयोगलाई आफूले हतार गरेकोमा सङ्कोच लाग्यो। उनीहरू दुवै जना केही बेर चुप भए। त्यो असहज मौनतालाई चिर्ने प्रयास गर्दै ‘मेरो हतारे स्वभावको लागि मलाई माफ गर्नुस्, बाँकीको समयमा हामी कुराकानी त गर्न सक्छौँ नि होइन त?’ उभिएकै अवस्थामा उसले सोध्यो।
‘अवश्य तपाईं मसँग जस्तो खाले कुराकानी साझा गर्न सक्नु हुन्छ।’
सुन्दरीको कुराकानी सुनेर संयोग केही खुसी देखियो, ‘धन्यवाद त्यसको लागि, उसो हो भने यो सुन्दर साँझको हाम्रो भेट अझ सुमधुर बनाउन रेड वाइन पिउन सक्छौ?’
उसको कुरामा सहमति जनाउँदै सुन्दरीले भनी, ‘अवश्य तपाईंले हाम्रो कार्यालयको पानामा उल्लेखित गर्नु भएको छ, त्यसै गरी यो भेटघाट अगाडि बढ्ने छ।’
सहमति पाउनासाथ संयोगले टक्क आवाजका साथ वाइनको बिर्को खोल्यो र निकै मनमोहक देखिने दुई ग्लासमा आधा आधा वाइन हाल्यो। एउटा ग्लास सुन्दरी तिर सारिदियो। उनीहरूले ग्लास ठोक्काएर एकै स्वरमा 'चियर्स' भने र एक एक घुट्की पिए। संयोगले अझै केही अप्ठ्यारो मानेको जस्तो देखेपछि सुन्दरीले ‘धन्यवाद संयोग जी, धेरैपछि यति मिठो वाइनको स्वाद लिन पाएँ’ भन्दै कुराकानीको सिलसिला सुरु गरी।
संयोगले दोस्रो चुस्कीमा अलिक धेरै मात्रामा वाइन पियो र प्रश्न गर्यो, ‘के हामी सङ्गीत सुन्न सक्छौ?’
‘यो मिल्छ, मलाई सङ्गीत मन पर्छ,’ उसले वाइनको ग्लास टेबलबाट उठाउँदै भनी।
उसको प्रस्तावमा सुन्दरी सहमत भएपछि उसलाई केही सहज महसुस भयो। उसले आफ्नो यन्त्रलाई फ्रेडरिक शोपेंका सङ्गीत बजाउन अनुरोध गर्यो। सुस्तरी सुमधुर पियानोको धुनले पूरा कोठा गुञ्जायमान भयो।
‘तपाईंलाई शोपें कस्तो लाग्छ?’ संयोगले सुन्दरतिर हेर्दै प्रश्न गर्यो।
सुन्दरीले अर्को घुट्को निलेर, ‘म फ्रेडरिक शोपेंका सङ्गीतको प्रशंसक हुँ संयोग जी, तपाईं निकै रोमान्टिक हुनुहुँदो रहेछ मलाई यो देखेर निकै खुसी लाग्यो।’
उसको कुराले आनन्दित देखिएको संयोगले ‘तपाईंलाई शोपें किन मन पर्छ? म सोध्न सक्छु? भन्दै दुई ओटा प्रश्न एकै चोटि गर्यो।
‘मलाई उसका सङ्गीतहरू सुन्दा यस्तो लाग्छ कि सायद मैले यी धुनहरू मेरा अघिल्ला जन्ममा पनि सुनिसकेको छु र अहिले सुन्दा मलाई त्यतै कतै पुगेको छु जस्तो हुन्छ,’ उसले जवाफ दिई र पहिलो पेग वाइनको अन्तिम चुस्की लिई।
‘अनि तपाईंलाई?’ उसले सोधी।
‘शोपें मेरी प्रेयसीको सबैभन्दा प्रिय कम्पोजर थिए।’ उसलाई थप केही बोल्ने मन हुँदाहुँदै ऊ रोकियो।
‘अहिले कहाँ हुनुहुन्छ तपाईंको प्रेयसी?’
‘ऊ परिवर्तन भएकी छ, ऊ समयसँगै हिँडेकी छ, म पुरानै समयमा अकडिएको छु,’ संयोगले सुन्दरीको रित्तिएको ग्लासमा झन्डै झन्डै भरिभराउ हुने गरी वाइन हालिदियो।
‘भो यो कुरा नगरौँ,’ उसले आफ्नो गिलासको पनि घाँटी घाँटीसम्म वाइन हाल्यो।
‘तपाईं जे भन्नु हुन्छ संयोग जी’ भन्दै उसले वाइनको चुस्की लिई र थपी, ‘मलाई लाग्छ यो पहिलो अङ्कमालको लागि उपयुक्त समय हो।’
उसको त्यस्तो कुरा सुनेपछि संयोग उसको समीपमा गयो र ठिङ्ग उभियो सुन्दरीले उसलाई आफ्नो न्यानो आलिङ्गनमा बाँधी। उसले आलिङ्गनको न्यानोपना बिर्सिसकेको थियो। सुन्दरीको आलिङ्गनमा संयोग हरायो। ऊ कहाँ हो कहाँ पुग्यो। सुन्दरी पनि चुपचाप थिई, संयोग पनि चुपचाप थियो।
स्पिकरमा धुन रोकिएपछि उनीहरू होसमा आए। सुन्दरीले बिस्तारै आफूलाई आलिङ्गनबाट अलग गरी। आँखा चिम्लिरहेको संयोगले आँखा खोल्यो, केही बोल्न खोज्यो तर रोकियो। त्यसपछि संयोगले उसको यन्त्रको एउटा बटन थिच्यो। किचेन कोठा तिरबाट बिस्तारै दुइटा रोबटहरू हातभरि खानाका परिकारहरू लिएर आए। निकै कलात्मक तरिकाले टेबलमा खानाका प्लेटहरू सजाए र विलीन भए।
उनीहरूले खाना खान सुरु गरे। खानाको मज्जा लिँदालिँदै बिचमै रोकिएर सुन्दरी बोली, ‘संयोग जी!’
संयोगले सुन्दरीलाई हेर्यो।
‘हाम्रो कार्यालयले एक्ला पुरुषहरूलाई जीवनभरि साथ दिने महिला साथीहरूको व्यवस्था गर्ने नयाँ योजना ल्याउँदै छ, तपाईं त्यसमा सामेल हुनुहोला।’
उसको कुरा सुनिसकेपछि खान खाने क्रम भङ्ग गर्दै सानो स्वरमा भन्यो, ‘मेरो जीवन रेखाको डोरी त्यति लामो खिचिएला भन्ने लाग्दैन।’
संयोगले सुन्दरीको आँखामा हेर्यो, ‘हाम्रा शासकहरूले स्वमरणको सुविधा पैँतिसबाट परिवर्तन गरी पचासपछि मात्र लिन पाइने नियम गरेदेखि म बेचेन छु।’ त्यति भन्दै उसले बाँकी वाइन सक्कायो।
सुन्दरीले पहिरिएको यन्त्रमा समय सक्किन लागेको सङ्केत दिने बत्ती पिलपिल गर्न सुरु गर्यो। त्यो देखेपछि सुन्दरी टेबलबाट उठी र आफ्ना दुवै हात फैलाएर संयोगलाई अङ्कमाल लागि आह्वान गरी।
संयोग सुस्तरी अगाडि बढेर सुन्दरीको अँगालोमा समाहित भयो। उसले आँखा चिम्लियो। सुस्तरी सुन्दरीले सङ्गीतको सुरमा आफ्ना खुट्टाहरू चलाउन सुरु गरी, बिस्तारै संयोगले पनि सुन्दरीलाई साथ दियो। सुस्तरी सुन्दरीले संयोगको हात समाती। कसिलोसँग समाती। उनीहरू कुनै प्रेमील जोडीझैँ नाच्न थाले। एकदमै सहज रूपमा नाचिरहेका उनीहरू कोठाको यो छेउबाट ऊ छेउ पुगे, ऊ छेउबाट यो छेउ आए। उनीहरू एक अर्कामा बिलाएर मिठो सङ्गीतको धुनमा नाचिरहे।
सुन्दरीको यन्त्रको नमिठो आवाजले उनीहरूको यो भेटको समय सक्किएको घोषणा गर्यो। नृत्य रोकेर उनीहरू फेरि आलिङ्गनमा समाहित भए।
त्यही अवस्थामै संयोगले ‘तिमीले आफ्नो स्मृतिबाट मलाई मात्र किन मेटाइदियौ दिव्या?’ भन्दै सुन्दरीलाई प्रश्न गर्यो।
उसको प्रश्न सुनिसकेपछि सुन्दरी अलमलमा परी ‘तपाईं के भन्दै हुनुहुन्छ संयोगजी मलाई थाहा छैन, तर मेरो नाम दिव्या होइन, म प्रशंसा हुँ।’
उसले त्यति भनुन्जेल उनीहरू आलिङ्गनबाट अलग भइसकेका थिए। संयोगको आँखामा आँसुको समुद्र जमिरहेको थियो।
‘संयोगजी, तपाईंले पनि आफ्ना पुराना नमिठा स्मृतिहरू मेटाएको भए ठिक हुने रहिछ। स्मृतिहरू पासो हुन् संयोगजी, तिमीहरूसँग छुटिनु बेस हुन्छ।’
ठिङ्ग उभिरहेको संयोगले बिस्तारै मुख खोल्यो, ‘आज मेरो पैँतिसौँ जन्मदिन हो दिव्या। म तिमीसँग अन्तिम पल्ट भेट्न चाहन्थेँ र त्यसपछि, त्यसपछि थाहा छैन म के गर्ने वाला थिएँ।’
यति भनेर संयोगले आँखा चिम्लियो। उसका आँखामा जमेको आँसुको समुद्र बर्सिए।
संयोगका कुरा सुनेर उसका आँखामा आँसु देखेर अलमलमा परेकी सुन्दरीको यन्त्र झन् जोर जोरले कराउँदै थियो।
‘ल त संयोग जी मेरो समय सकियो, दुई घण्टा समय व्यतीत गर्नको लागि मलाई छनोट गरिदिनु भएकोमा धन्यवाद।’
त्यति भनेर सुन्दरी सरासर बाहिर निस्की।
भान्सा कोठाबाट दुई रोबट सुस्तरी आएर टेबलबाट सबै प्लेट र गिलासहरू उठाउन सुरु गरे। संयोगको यन्त्रमा घरको गेट बाहिर कोही आएको सङ्केत पिलपिलाउन थाल्यो। उसले एउटा बटन थिचेर गेट खोलिदियो र आफू सोफामा पल्टियो अनि निकै गहिरो सास फेर्यो।
सुन्दरीले सिसिटिभी क्यामेरा तिर हेर्दै हात हल्लाई र बाहिर निस्की। ऊ बाहिर निस्कँदै गर्दा एक अनौठो मास्क लगाएको बलिष्ठ पुरुष भित्र छिर्यो। सुन्दरीलाई त्यो मान्छे परिचित हो कि जस्तै लाग्यो।
गेट बन्द भयो। पुरुष सरासर घरको माथि उक्लियो। घर छेउमा अड्याएर राखेको आफ्नो वाहन चढ्न साथ सुन्दरीका कपाल र आँखा एकाएक कालो रङ्गमा बदलिए। उसको रूप एकाएक परिवर्तन भयो। उसको वाहन बिना आवाज त्यहाँबाट सुलुत्त उडेर माथि आकाश तिर लाग्यो र विलीन भयो।