चारैतिर सन्नाटा जस्तो लागिरहेथ्यो। घडीको टिकटक प्रस्ट थियो। कक्षामा विद्यार्थीले हल्ला गर्दा सरले 'आई नीड पिन ड्रप साइलेन्स' भन्नु हुन्थ्यो। हो, त्यो पिन र साइलेन्स आज मैले यहाँ पाए, मेरो प्राणभन्दा प्यारो कोठामा। त्यही कोठा जहाँ धेरै प्रकारका सोचाइहरूका जन्म भए होला। ती जन्मिएका सोचाइमध्ये कतिले त सार्थकता पाए होलान् तर कति मेरो दिमागमै तुहिए होला।
सामान्यतया त म सोच्ने गर्थेँ मेरो दिमागबाट तर आज केही भिन्नै हुनु हुन्थ्यो। त्यसैले सोच्न पुगेछु मनबाट, मेरो मुटुबाट। दिमागमा अनेकौँ प्रश्नहरू खेलिरहेथे। अनेकौँ प्रश्नहरू उब्जिरहेथे। यहीबिच आज सोच्न पुगेथेँ मनबाट।
मेरो मनले सोचेता पनि दिमागले भने सोच्न छोडेको थिएन। तर आज मान्य थियो त केवल मेरो मनको सोचाइ।
कक्षा १२ को परीक्षा भर्खरै सकिएको हजारौँ मानिसको लाखौँ प्रश्नहरूले घेरिएकोमा। कसैले के सोध्ने गर्थे, कसैले सोध्ने गर्थे कि विदेश जान्छस् कि नेपाल बस्छस्? कसैले सोध्थे नेपाल बसेर के गर्छस्? अनि कसैले भन्ने गर्थे- जागिर खा पैसा कमाउँछस्।
सबैको प्रश्न अलगअलग सुनिएता पनि सबै प्रश्नहरूको सार थियो, अब के गर्छस्?
मलाई लाग्थ्यो कक्षा १२ सकिएपछि त रमाइलो मात्र। तर के थाहा त्यो अबुझ केटोलाई, १२ पछि त बल्ल जीवन सुरु हुने रहेछ। अब के गर्छस् भन्ने सामान्य प्रश्नको उत्तर पनि जीवनसँग सम्बन्धित गरी दिनुपर्ने रहेछ।
त्यो रात साँच्चै गहिरो सोचाइमा थिएँ म। मैले जिनतिन अल्छी मानी मानी, गाह्रो मानी मानी पढेका फिजिक्सका डेरिभेसन, म्याथका थियोरम अनि केमेस्ट्रीका केमिकल रियाक्सन त्यस रात मलाई त्यति गाह्रो लागेन, जति अब के गर्छस् भन्ने प्रश्नको उत्तर खोज्न गाह्रो लाग्यो।
अलि सानो छँदा कति सजिलै भनी दिन्थेँ, म त आर्मी बन्छु।
फेरि त्यसको दुई तीन दिनपछि भनिदिन्थेँ, म त नेता बन्छु। देश बनाउँछु अनि मेरो देशलाई विश्वको नम्बर १ बनाउँछु।
फेरि केही दिनपछि नै सोच बदलिन्थ्यो अनि भनिदिन्थेँ, म त विदेश जान्छु। टन्न पैसा कमाउँछु अनि आनन्दको जीवन जिउँछु।
यस्ता अनेकौँ सोच अघिपछि पनि आई नै रहन्थे। तर अघिपछि सोच्दा सधैँ नै आफू अगाडि हुन्थेँ। आफू राजा हुन्थेँ। आफू सेनापति हुन्थेँ। लाग्थ्यो यो ब्रह्माण्डमा मबाहेक अरू कोही छैन। तर आजको सोचाइ केही भिन्नै थियो। आज मेरो मनले सोचिरहेको थियो मेरो परिवार। परिवारसँग हाँसी खुसी बिताएका ती पल। घरका जनहरूको त्यो मुहारमा फुल्ने सूर्यमुखी फूल जस्तै हाँसो अनि सोचिरहेको थियो, अब के गर्ने होला त मैले?
साँच्चै मन न रहेछ, कहिले फुरुक्क फुर्काइदिन्थ्यो त कहिले डङ्ग्रङ्ग बुर्जा खलिफाबाट तल झरे जस्तो गराइदिन्थ्यो।
मन न रहेछ, कहिले टेस्लाका सिइओ एलन मस्कको कुर्सीमा बसालेर आफूलाई आनन्द दिलाउँथ्यो त कहिले हजारौँ हन्डर खाएको सारा संसारको माझमा एक निकम्मा होस् भनी साबित गराई आफूलाई खिन्न बनाउँथ्यो।
साँच्चै नै मन त रहेछ, खुला छोडिदिए हँसाउनेदेखि रुवाउनेसम्म सबै कल्पना गरी भ्याउने।
मलाई लाग्थ्यो, मन जहिले उल्टो उल्टो सोच्छ। समय परिस्थिति केही पनि हेर्दै। जहाँ जे मन लाग्यो त्यही सोचिदिन्छ।
सरले पढाइरहेको बेलामा बाहिर खेलेको सोच्ने अनि बाहिर खेलिरहँदा सरले पढाएको सोच्ने। जहिले उल्टो उल्टो सोच्ने। लाग्थ्यो मेरो मन नै उल्टो छ।
तर आज मेरो मनले यस्तो उल्टो पटक्कै सोचेन, सोच्यो त केवल सुल्टो।
एकातिर आफ्नो सपनाका पहाड देखिन्थ्यो त अर्कोतिर 'अब के गर्छस्?' भन्ने प्रश्नको ठुलो तलाउ। जहाँबाट निस्कन आकाश जति मन थियो मेरो तर बादल जतिको सोचाइले म झन् त्यही अल्झिरहेँ। त्यही जेलिएँ। अब के गर्छस् भन्ने प्रश्नको उत्तरको प्यासले म तड्पिरहेँ।