सरकारी जागिर, जागिर नभई एक सपना हुन्छ धेरैको लागि।
अझ भनौं कसैको त प्राण नै हुन्छ।
'यो रामेले सरकारी जागिरमा नाम निकाले बल्ल मेरो प्राण सजिलै जान्थ्यो कि!' धेरै बुढा बाआमाले भनेको सुन्ने गरिन्छ।
हुन त पैसाकै हिसाबले हेर्ने हो भने त यता बीस वर्षमा हुने कमाइ जति त जापान कोरियातिर २ वर्षमै हुन्छ भन्छन्। तर धेरैको चाहना पैसाभन्दा पनि इज्जत मान प्रतिष्ठा र स्थायित्व हुने गर्दछ।
समाजमा दुई थरीका मान्छे हुन्छन्, एक जो सरकारी जागिर जाबो भन्दै हिँड्छन्, अर्को थरीका हुन्छन् सरकारी जागिर मेरो सर्वस्व हो। सरकारी जागिरको महत्त्व सहरमा सुख सयलमा हुर्केकालाई भन्दा गाउँमा दु:खमा हुर्केकालाई बढी हुन्छ।
सरकारी जागिरको प्रतिस्पर्धा दिनानुदिन बढ्दो छ। मेरो पनि एक सपना थियो सेतो सर्ट र निलो पाइन्टमा हिँड्ने।
एक संघर्षमय समय व्यतित गरी भर्खरै प्राप्त गरेको सरकारी जागिरले मेरो सेतो सर्ट अनि निलो पाइन्टको सपना पूरा गरिदिएको थियो। नयाँ नयाँ जागिर त्यसमाथि सेतो सर्ट अनि निलो पाइन्टमा म चिटिक्क परेर घरबाट निस्कन्थेँ। बिहान सर्ट पाइन्ट अझ कहिलेकाहीँ त अफिसको कार्ड नै झुन्डाएर निस्केको हुन्थेँ।
घरै अगाडि चोकमा एक जना अन्दाजी ६५/६६ वर्षको बुवा आफ्नो नातिलाई स्कुल बस चढाउन प्राय: सधैं उभिनुहुन्थ्यो। उहाँ आफ्नो आँखाले भ्याएसम्म मलाई जहिले हेर्ने गर्नुहुन्थ्यो। जब म चोक कटेर अलि पर पुगेको हुन्थेँ तब मात्र उहाँ आफ्ना आँखा झिम्काउनु हुन्छ होला जस्तो लाग्थ्यो मलाई।
बाटोमा हिँड्दा सेतो सर्ट, पाइन्टमा आँखा त सबैको जान्छ तर पनि उहाँको हेराइ अलिक भिन्न थियो।
हरेक दिन उहाँ मलाई एउटै नजरमा हेर्नु हुन्थ्यो। यतिसम्म भैसकेको थियो कि एकदिन म उहाँलाई देखिन भने के छुट्यो कि, केही पुगेन कि जस्तो भान हुन्थ्यो। उहाँको त्यो हेराइको कारण के होला भनी सधैं सोचिरहन्थेँ तर पनि उत्तर पाउन सकिरहेको थिइनँ। उहाँलाई सोध्ने प्रयत्न पनि गरेको थिएँ तर मैले सकिरहेको थिइनँ। कुनै बेला सोच्ने गर्थें कि यी बुवा मानसिक रोगी पो हुन् कि? एकोहोरोपनाले सताइराखेको छ कि?
एकदिन नजिकैको तरकारी पसले दाइलाई सोधेँ- यी बुवा को हुन्? सधैं मलाई एकोहोरो नजरले हेर्छन्? मानसिक रोगी हुन् र?
पसले दाइले हाँस्दै जबाफ दिनुभयो- कहाँ मानसिक रोगी हुनु , त्याँ अगाडि आफ्नै घर छ, यो ठाउँका समाजसेवी हुन्, समाजसेवा मै हिँडिरहेको देख्छु। अरू त त्यति जान्दिनँ। "
दाइको यो जबाफले झन् खुलदुली बढायो।
समाजसेवी जस्तो मान, किन हेरिरहन्छ त मलाई?
साँझ घर आएर निदाउन सकिनँ। अब त जसरी पनि मलाई हेर्नुको कारण थाहा पाउनु पर्यो। त्यसैले भोलि उहाँलाई नै सोध्ने योजना बनाएर सुतेँ।
सधैंजस्तै आज पनि सर्ट, पाइन्ट लगाएर म कोठाबाट अलिक ५/७ मिनेट छिटो निस्किएँ तर त्यहाँ सधैंको बुवा देखिनँ।
एकछिन त्यहीँ बसेर पर्खिएँ। केहीबेरमा सधैंझैं पुटुक्क भुडी लागेको, हल्का कपाल फुलेको उही बुवा नातिको झोला बोकेर आउनुभयो।
सधैं उहाँ बस्ने ठाउँ नजिकै म बसेको थिएँ।
उहाँ नजिकै आएर उभिएर मलाई हेरिराख्नु भयो।
मैले सोधेँ- बुवा तपाईंले मलाई चिन्नुहुन्छ र?
'नाइँ चिन्दिनँ बाबु,' भन्नुभयो।
'सधैं तपाईं मलाई हेरिरहनुहुन्छ नि, चिनेर पो हो कि भनेर सोधेको हुँ' मैले भनेँ।
उहाँ मुसुक्क मुस्कुराउनु भयो अनि भन्नुभयो 'मैले त यो बाबुको ड्रेसलाई हेरेको हुँ नि'।
'ड्रेसलाई? किन?,' प्रश्न गरेँ।
'मलाई सेतो सर्ट पाइन्टमा जसलाई देखे पनि मेरै कान्छो छोराको याद आउँछ, उसैलाई देख्छु,' बुवाले जवाफ दिनुभयो।
फेरि प्रश्न गरेँ- बुवा, आजकाल त सहरमा बसेका सबै केटाकेटी विदेश जाने भन्छन्, बाबुआमा पनि विदेश नै पठाउन चाहन्छन्, तर तपाईंले चाहिँ किन छोरा देशमै बसोस्, सेतो सर्ट पाइन्ट लगाओस् भन्ने चाहनुहुन्छ नि?
'हैन तिमी आफै सेतो सर्टमा छौ, किन यस्तो प्रश्न गरेको?,' बुवाले जवाफ फर्काउनुभयो।
'हैन बुवा, म त गाउँमा हुर्केँ, पढेँ, मेरो लागि त यो ड्रेसभन्दा ठूलो कुनै सपना थिएन,गन्तव्य थिएन,' मधुर स्वभावमा जबाफ फर्काएँ।
'म पूर्व शिक्षक हुँ, मलाई देश छाड्ने कहिल्यै सोच आएन, कहिल्यै कल्पना गरिनँ पनि। म चाहन्थेँ मेरा छोराछोरी पनि देशमै बसून्,अझ भनौं म धर्ती छाड्दा उनीहरू साथमा हुन्। विदेश एक बर्खे खोला हो, धन सम्पत्ति कमाइएला तर सम्मान, आत्म सन्तुष्टि पाउन सकिँदैन।'
उहाँको कुरामा सहमत जनाउँदै सोधेँ, 'ठीकै छ, उसोभए हजुरको कान्छो छोरालाई अब आयोगको तयारी गराउनुहोस् न!'
बुवा निराश हुँदै भन्नुभयो 'सेतो सर्टमा मेरो छोरा .. यो सम्भव छैन।'
'किन बुवा? हजुरको कान्छो छोरा अहिले..... ?' बोल्न सकिनँ।
'हैन बाबु ऊ दुनियाँको लागि त जिउँदो छ तर मेरो लागि मरिसक्यो। ऊ अहिले ड्रग्स बिना सास फेर्न सक्दैन, उसको हातमा कुनै एक सेमि एरिया खाली छैन कि जहाँ उसले सुइँ नरोपेको होस्।'
त्यसपछि उहाँको वाक्य नै फुटेन। गहभरी आँसु थियो। मेरा पनि आँसु टिलपिल गर्न थाले।
मैले केही जबाफ दिन सकिनँ।
त्यतिकैमा नातिको स्कुल बस आयो।
बुवा नातिलाई बस चढाउन लाग्नुभयो म अफिसतिर निस्किएँ।
अलि पर पुगेपछि सोधेँ- बुवा हजुरको नाम के होला?
उहाँले सजिलै जबाफ दिनुभयो- वीरबल।