घडीको सुइले १२ टेक्न लाग्यो। म सुतेको छैन, शरीर ढलेको छ। रातको शून्यतामा मडारिएका छन् विचारहरू। निस्पट्ट अन्धकार छ। अन्धकारभित्र म। म खोज्छु आफूले आफैलाई मस्तिष्कको एक कुनाबाट अर्को कुनामा। आँखा भएर पनि दृष्टि विहीन भएको छु, आवाज भएर पनि आवाज विहीन। मनका ठुला गर्जन बिलाउँछन् शून्यतामा आफैभित्र।
भावनाका अनगिन्ती भेलहरू बगेका छन्। मस्तिष्कका नसाहरूबाट भविष्यका, भवितव्यका र भुल्न नसकेका। अन्धकार रातमा अन्धकार भविष्य अझै डरलाग्दो देखिने रहेछ। शीतल रातमा दिमाग तातेको छ विचारको रापले। आत्तिएको मनले सहारा खोज्छ, खोजेको सबै कुरा पाइँदैन, समयले सानैदेखि सिकाएको छ।
हजुरबाले कुनै समय भनेको सम्झन्छु- 'बाबु, जिन्दगीमा अन्धकार आउँछ।'
कस्तो अन्धकार बा?
'निस्पट्ट अन्धकार चारै दिशा अन्धकार। तर हरेस नखानू, कहीँ कतैबाट सानो उज्याले झुल्किन्छ जुन प्रचण्ड तेजमा परिणत हुन्छ।'
सानो ज्योतिको आशामा अन्धकार छिचोल्ने प्रयास कहिल्यै रोकिएन।
नरम सिरानी बिझाएझैँ भयो। कोल्टे फेर्छु। विचारले पनि कोल्टे फेर्छ, सिरानीले जस्तै।
भोलि फेरि त्यही निरस दिनको सुरुआतका लागि उठ्नु छ। किन भन्ने प्रश्नसँग जुध्नु छ। मलाई 'किन' प्रश्नले घेरिएको भोलि पटक्कै मन पर्दैन। किन बिहे नगरेको? किन जागिर नगरेको? किन नपढेको? किन नक्कल पारेको? किन हाँसेको? किन खुसी? किन दुःखी? सबै किनको उत्तर भोलि नै दिन सकिँदैन, मान्छेले यो किन बुझ्दैन? मलाई भोलि कहिल्यै नहोस् जस्तो लाग्छ। मैले नचाहेका धेरै भोलीहरू आएका छन्। आजबाट भोलि हुनु सत्य हो सायद।
नचाहेका धेरै कुराहरू हुन्छन् र यही सत्य हो। चाहना नभएका कुरामा हाँस्न सिकेको छु। रहर नभएका कुरामा रम्न सिकेको छु। वास्तवमा म अनुभवी भएको छु, म मेरा बाजस्तै भएको छु। चोट लुकाएर हाँस्ने भएको छु, भोकभन्दा अगाडि भण्डार हेर्ने भएको छु, बोल्नु अघि सोच्ने भएको छु। साँच्चै आजकाल म मेरा बाजस्तै भएको छु।
म सानो छँदा मेरा लागि सबै चाड आए। दसैँमा नयाँ नाना आए, तिहारमा पटका आए। खेल्नका लागि खेलौना र पढ्नका लागि किताब आए। बाका लागि के कति आए मैले कहिले मेसो पाउन सकिनँ।
समयसँगै म ठुलो हुँदै गएँ अनि बा बुढो। काम गर्ने मेरा बा बुझाउने हुनु भयो। बाले समाज बुझाउनु भयो, आफन्ती बुझाउनु भयो, नाता सम्बन्ध बुझाउनु भयो र घर व्यवहार बुझाउनु भयो। बा बुढो हुनुभयो र म जवान। आजकाल चाडपर्वमा बाको मलिन अनुहार पढ्न सक्ने भएको छु। आमाको मौनता सुन्न सक्ने भएको छु। म आजकाल मेरा बाजस्तै भएको छु।
'समय बलवान छ बाबु' बाले मलाई भनेको सम्झन्छु। बलवान म पो छु, बलिया हात पाखुरा, बुद्धि, आँट, साथीभाइ छन्। म जे चाहियो त्यही गर्ने सक्छु, बलवान म पो छु जस्तो लाग्थ्यो। हाम्रा बा नि के के कुरा गर्नुहुन्छ। म पो बलियो छु नि के हो र यो समय जस्तो लाग्थ्यो। सानोमा सुनेको समयको तागत बुझ्न लामो समय त लाग्दो रहेछ। समयसँगै म बच्चाबाट वयस्क र वयस्कबाट प्रौढ भएँ। मेरा बा प्रौढबाट वृद्ध हुँदै छन्।
मलाई म बच्चै छु जस्तो लाग्छ, सायद बालाई पनि आफू जवान छु जस्तो लाग्दो होला। तर समय अनवरत छ, खोला जस्तै। समयलाई आफ्नो बनाउने लहडमा म लागिरहेँ। रोक्न खोजेका कैयौँ खुसीका पलहरू चिप्लिएका छन् समयको लहरसँगै, पीडाका असीमित चोटहरू पखालिएका छन् समयको भेलसँगै। समयले ठिकलाई बेठिक र बेठिकलाई ठिक बनाउने सामर्थ्य राख्छ। त्यसैले त समय सर्वशक्तिमान् छ।
समय मेरो, संसार मेरो, सबै थोक मेरो भन्नेहरू सबैले आफ्नो सबै कुरा यहाँ छाडेर गए। समयले हामीलाई चाहेर वा नचाहेर मृत्यु गन्तव्यतिर लम्काउँछ। तर मृत्यु गन्तव्यतिर लम्किरहेका पाइलाहरू मृत्युसँग डराउँछ। मृत्युसँग डराउनु सत्यसँग डराउनु हो। त्यसैले त कलियुगमा मान्छे सत्यसँग डराउँछन्।
तन्द्राबाट म झसङ्ग हुन्छु। अन्धकार उस्तै छ, दिमागले रातमा आरामभन्दा धेरै काम पाएको छ। निद्रा अझै पनि ढोका बाहिरै छ। शरीर चिसो र दिमाग तातो भएको छ। एक घुट चिसो पानीले निद्रालाई स्वागत गर्ने प्रयास सधैँ रहिरहन्छ।