धेरै कमाउनु छ प्रिय
आफ्नो छुट्टै संसार बनाउनु छ
सुखमा मात्र हैन प्रिय
दुःखमा पनि रमाउनु छ।
माथिका लाइनहरू छिमेकी दाइले वैदेशिक यात्रा तय गरिसकेपछि सामाजिक सञ्जालमा जानु अगि पोस्टाएका थिए। दाइका ती लाइनहरूले मलाई त्यसका अर्थहरू खोज्न बाध्य बनायो।
कहिलेकाहीँ समय मिल्दा छिमेकी दाइ-भाउजूकोमा गइरहन्थेँ। त्यहाँ जानुको कारण दाइका छोराछोरी बिविशा र ब्रिदिशसँग अलि धेरै नजिक थिएँ। उनीहरूसँग समय बितेको पत्तै हुँदैन थियो। आज अलि ढिला भएछ, उनीहरू सुतिसेका थिए। तर भाउजूलाई अरू दिनभन्दा फरक देखेँ। जाने बित्तिकै भाउजूको अनुहारमा जुन खुसी र उत्साह देख्थेँ, आज भने मैले फरक रूप देखेँ। मनमनै सोचेँ, आज पनि दाइ भाउजूको झगडा भयो भनेर।
नभन्दै दाइ बिहानै निस्केर हिँड्नु भएको रहेछ, भाउजूसँग झगडा गरेर।
म– अनि दाइ अहिलेसम्म पनि आउनु भएको छैन? कहाँ जानु भएको हो र कल गर्नु त भाउजू?
भाउजू– 'म त गर्दिनँ नानी कल सल, आए आउँछन्, नआए केही टेन्सन छैन मलाई।'
म– एक चोटि कल गर्नु भाउजू, रिसाएर हिँडेको मान्छे जे पनि हुन सक्छ।
भाउजू– 'म त दिक्क भइसकेँ नानी, कति पटक भनिसकेँ मलाई विदेश जान दिनू, नत्र आफै जानू। भनेको मान्ने नै हैन। सधैँ जान्छु जान्छु भन्दा भन्दै दुई वर्ष बितिसक्यो। अलि अलि जम्मा गरेको पैसा पनि सकिसक्यो। तपाईंको दाइलाई खै किन हो नानी विदेश जान मन नै छैन जस्तो लाग्छ हौ मलाई त। जान मन हुने मान्छेको छाँटकाँट नै भिन्नै हुन्छ। गाउँको पाखो बारीमा केही उब्जनी हैन। दिनरात काम गर्दा पनि छोराछोरीलाई पढाउन गाह्रो भएर घरमा भएको गाई र आफ्नो तिलहरी बेचेर छोराछोरीको भविष्यकै लागि काठमाडौँ आयौँ, यहाँको ताल यस्तो छ।
विदेश जानी भनेर लिएको ऋणको ब्याज, छोराछोरीको पढाइ खर्च, घर भाडा अनि खानु पनि परिहाल्यो। आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रै स्कुलमा पढाउन मन छ। ज्याला मजदुरीको काममा पनि दाइको ठेकेदारले बोलायो भने कहिलेकाहीँ काम हुन्छ नत्र त्यही पनि हुँदैन। अनि मैले अर्काको घरमा भाडा मोलेर कति दिन खानु। महँगी कस्तो छ, तपाईंलाई पनि थाहा छँदै छ। तपाईं आफै भन्नु त, म अब के गर्नु विदेश नगएर? यहाँ जस्तो मेहनत गर्यो भने त पैसा डबल हुन्छ रे, त्यही भन्छन् कि के हो आफूलाई त यस्तो कुरा धेरै थाहा छैन। तपाईं जस्तो पढेलेखेको भए अहिले कहाँ कहाँ पुग्थेँ होला। के गर्नु नानी सानैमा बिहे गर्दिहाले। बिहेपछि न त पढ्न नै पाएँ। अनि दाइको पारा यस्तो छ। नानी म त दिक्क भइसकेँ।'
म एक छिन मौन भएँ, भाउजूलाई म कसरी भनूँ मलाई पनि यो देश छोड्न मन छैन भनेर। किनकि भाउजूलाई यति थाहा छ कि पढेलेखेका र राम्रो कमाइ भएका मान्छेहरू विदेश जाँदैनन् तर हाम्रो देशको विडम्बना भनूँ या लाचारपन, सबैमा एउटै भाष्य निर्माण भएको छ, नेपालमा काम र दाम छैन। विदेश भन्ने शब्द अहिले फेन्सी नै भइसकेको छ, युवा पुस्तामा। विदेश जानु इज्जतको कुरा भएको छ। अहिलेसम्म म विदेश गएको छैन भन्नु पनि लाजको कुरा भइसक्यो। आफ्नो देशमा बस्ने अधिकार पनि छैन जस्तो।
सामान्य बुझाइमा नेपालमा केही हुँदैन, जे हुन्छ राजनीतिकमा मात्र हुन्छ। अहिलेका युवा शक्तिहरू सामान्यभन्दा सामान्य काम र पैसाको खोजीमा विदेश पलायन भइरहेका छन्। यस्ता विषयमा राज्यको ध्यानाकर्षण हुन सकेको छैन। धेरैजसो युवाहरूको गन्तव्य नै बनिसकेको छ। पढेलेखेका युवाहरू उच्च शिक्षाका लागि र ग्रामीणका युवा शक्तिहरू रोजगारीका लागि खाडी मुलुक गन्तव्य बनेको छ। प्रत्येक घरबाट एक जना अनिवार्य विदेश जानु पर्ने नियम नै बनाए जस्तो देखिन्छ, सायद विदेश नगएको घर छैन होला।
आजभोलि गाउँ रित्तिएको छ। मान्छेहरूका इच्छा र आवश्यकताहरू चुलिएका छन्। बाँकी भएका युवाहरूलाई राजनीतिक दलहरूका र नेताहरूका कार्यकर्ता बन्दै फुर्सद छैन। अझै पनि राजनीतिक नेतृत्वमा पुस्तान्तरण भइसकेको छैन। युवा सहभागिता र नेतृत्वको पक्षमा खासै ध्यान गएको छैन। अनि देशमा पछिल्लो समय विदेश जाने कस्तो मोह बस्यो कि राज्यले नै बिर्सेछ युवा शक्ति देशको अहिलेको आवश्यकता हो। युवा शक्ति राष्ट्रको महत्त्वपूर्ण सम्पत्ति हो भनेर। देशको विकास र समृद्धिका लागि युवा पुस्ताको कति महत्त्वपूर्ण भूमिका छ। यसको हामीले प्रस्टैसँग लेखाजोखा गर्न सक्छौँ।
हामी दुई जना नै कुरामा मस्त थियौँ। दाइको कल आयो, भाउजूले गाली गर्दै 'कहाँ गएको घर आउनु पर्दैन?' भनेर कल काट्दिनु भयो। दाइले फेरि कल गरेर 'आज म भान्जाको रुममा छु, तँ खाना खाएर सुत् भोलि आउँछु' भन्दै कल राखे। भाउजूलाई टेन्सन नलिनु भन्दै सम्झाएर घरतिर आएँ।
केही दिनपछि कामबाट घर फर्किँदै थिएँ। पछाडिबाट 'ए नानी! एक छिन पख्नु न' भन्दै भाउजू कराउनु भयो।
पछिल्लो समय भेटेको भन्दा आज भाउजूको अनुहार खुसी र उत्साहित देखिन्थ्यो। उहाँको अनुहारबाट मैले अनुमान गर्न सक्ने भनेको दाइ विदेश जान राजी भए होलान् तर यहाँ मेरो अनुमान गलत भयो। दाइ होइनन्, भाउजू आफैलाई जा भनेछन् दाइले।
'नानी, मैले त पासपोर्ट पनि बनाइसकेँ। अब घरमा र माइतीमा पनि भन्छु अनि पैसा पनि खोज्दिनु भन्नु पर्ला। अब त नानी दाइ होइन म आफै जान्छु विदेश छोराछोरीको भविष्य बनाउन।'
यो कुरामा मैले केही बोलिनँ, ए हो र मात्र भनिरहेँ।
एक हप्तापछि फेरि भाउजूले रुँदै कल गर्नु भयो, 'नानी मलाई घर र माइतबाट जान दिनु भएन। दुई वटा बच्चाहरूलाई छोडेर जानु हुँदैन। विदेश नै जाने भए छोरा/ज्वाइँ जान्छ। तिमी नजाऊ भन्दै गाली गर्नु भयो। बाउबिना त बस्न सक्छन् छोराछोरी तर आमाबिना छोराछोरी टुहुरा जस्तै हुन्छन्। मलाई विदेश गएर धेरै कमाएर छोराछोरीको भविष्य र ठुला मान्छे बनाउने सपना पूरा हुन दिएनन्। पढ्दा पढ्दै बाल विवाह गर्दिए। पढ्ने सपना पनि पूरा भएन, अहिले अब छोराछोरीको सपना पनि पूरा गर्न सक्दिनँ।'
त्यसको एक हप्तापछि फेरि म भाउजूको कोठामा गएँ। बच्चाहरू खाजा खाँदै गृहकार्य गर्दै थिए। म गएकाले उनीहरू खुसी हुँदै छेउमा आएर 'हाम्रो बाबा पनि अब विदेश (कतार) जाने' भन्दै रमाइरहेका थिए। 'सोहिबको बाबाले जस्तै भिडियो गेम खेल्ने मोबाइल अनि पिङ्क कलरको गुडिया ल्याइदिने है बाबा, अनि भाइलाई के ल्याइदिने बाबा' भन्दै बच्चाहरू उसका बाबासँग आ–आफ्ना आवश्यकताबारे प्रस्ट पार्दै थिए। तर दाइको धमिलो अनुहार र भाउजूको सानो आवाजले स्पष्ट पारेको थियो विदेश जानु रहर होइन बाध्यता र आवश्यकता हो।
विदेश जाने तरखरमा दाइ भाउजू नै घर, माइत, आफन्त, साथीभाइ र सहकारीतिर पैसा जम्मा गर्दा गर्दै गाउँमा भएको पाखो बारी पनि बेच्न भ्याएछन्। यस्तो अवस्था भइसकेको छ कि ऋण दिनेभन्दा पनि ऋण लिनेको सङ्ख्या धेरै छ। त्यस कारण गाउँको पाखा बेच्नु उनीहरूको बाध्यता थियो।
दाइलाई इमाडोलका पाइलापिच्छे बनेका घरका सिमेन्ट, इँटा र फलामहरूसँग काम गरेको, घरहरू शृङ्गारेको राम्रो नै अनुभव थियो। विदेश गएर पनि त्यस्तै काम होला भनेर मक्ख थिए दाइ। तर कम्पनीमा बुझ्दै जाँदा पहिले ३ महिना काम सिक्नु पर्ने रे मेसिन चलाउन अनि मात्र काममा राख्छ भनेपछि दाइ अलि चिन्तित देखिन्थे। भाउजू दाइको हौसला थिए। कहिलेकाहीँ झगडा भए पनि एक अर्काप्रति उनीहरू गहिरो माया, साथ र सहयोग थियो। दाइलाई देश, श्रीमती, छोराछोरी, घरपरिवार, आफन्त र साथीभाइहरू छोडेर जान मन थिएन तर बाध्यताको अगाडि सबैले सम्झौता गर्नु नै पर्छ। भोलिको दिन राम्रो बनाउन आज दुःख गर्नु नै पर्छ। तर भोलिका दिनहरू कस्तो हुन्छ भन्न सकिँदैन।
सबै प्रक्रियाहरू सकेर दाइ कतारका लागि उड्नु भयो, बढो भावुक र मन भारी पारेर। मजेत्राले आँसु पुछ्दै आमाले आशीर्वाद दिँदै भन्छिन्, 'बाबु म मर्नुभन्दा अगाडि आउनू है।'
बाले गहभरि आँसु लिएर लौरोको सहाराबाट हात हल्लाउँदै थिए। मुटुका टुक्राहरू छोराछोरीले चकलेट लिएर छिट्टै आउनु है बाबा भन्दै बाई बाई गरिरहेका थिए। प्राण प्यारी दही र खाँदा लिएर मेरो अगाडि सुँक्क सुँक्क गर्दै रुँदै थिइन्। साथीभाइहरू कमाएर पैसा, मोबाइल हामीहरूलाई पनि पठाउनु भन्दै थिए। उनलाई देशको माटो छोड्ने र हवाईजहाज चढ्ने रहर थिएन, यो बाध्यता थियो।
दाइ कतार राम्रोसँग पुगेको र ३ महिनासम्म आदि तलबमा तालिम लिएको कुराहरू भाउजूले मलाई सुनाउनु हुन्थ्यो। भाउजूलाई 'तालिमपछि दाइले मज्जाले पैसा कमाउनु हुन्छ चिन्ता नगर्नु' भन्दै सम्झाउँथेँ। पुरै तलब आएपछि दाइले आफूलाई थोरै खर्च राखेर भाउजूलाई ऋण तिर्न र घर खर्च पठाउँथे, दाइले तीन महिनामा नै २५ प्रतिशत ऋण तिरियो भन्दै कुरा गर्नु हुन्थ्यो।
दाइ कतार गएको सात महिना पुग्न लागेको थियो। एक दिन भाउजूले फेरि रुँदै राति कल गर्नु भयो, 'नानी, दाइको सँगै काम गर्ने बाबुले कल गर्नु भएको थियो। दाइको देब्रे खुट्टा त मेसिनले काट्यो रे।'
दाइको साथीलाई कल गरेर सबै कुरा बुझ्दा साँच्ची नै दाइलाई हस्पिटलमा राखिएको रहेछ। कम्पनीले केही क्षतिपूर्ति दिने र नेपाल नै पठाउने कुरा भयो।
कम्पनीले नेपाल पठाउन टिकट र साथीहरूको सरसल्लाहबाट ह्विलचियरमा दाइ नेपाल फर्किए। नेपाल फर्किएसँगै दाइले सपनाहरू, छोराछोरीका भविष्य र जीवनभरिको दुःख साथमा लिएर आएका थिए। दाइले कतार छोडे, भाउजूले काठमाडौँ र छोराछोरीले राम्रो स्कुल।
उनीहरू सबैले अन्तिममा गाउँ रोजे। फेरि त्यही गाउँ जहाँबाट उनीहरू पाखो बारी, गाई बेचेर सहर आएका थिए। अहिले भाउजूले गाउँमा ज्याला मजदुरको काम गर्ने, दाइले हस्त निर्मित काम गर्ने र बा–आमा बाँकी पाखो बारीमा बाली नाली लाउँदै छन् अनि छोराछोरी एक घण्टा परको स्कुलमा पढ्दै छन्।