उही पूर्ण चन्द्रमालाई त्यो रात
मैले जिस्क्याउने बिचार गरेँ
झन्डै मेरी प्यारी जस्ती खुलेकी छौ
भनेर थोरै झूट बोलिदिएको
तिनी रिसाएर लुकिन् र औँसी भयो
रक्तिम यौवनका पत्र निर्बाध खोलेर
फक्रिएकी फूलसँग सुटुक्क बोलेँ
के हो मेरै माया जस्ती देखिन खोजेकी?
फूल दुखित भएर ओइलाइन् र शिशिर भयो
घामको मधुर किरणले जब ढोकाबाट चियायो
मलाई तिम्रो खुल्दै गरेका ओठको याद आयो
भन्दिएँ कतै मेरी प्रेयसीको
मुस्कानको असफल नक्कल गर्दै त छैनौ?
उज्यालो क्रोधित भएर आँखा चिम्ल्यो
र रात भयो
र एक दिन त ‘हुन’ खोजिरहेको ईश्वरलाई धम्काएँ
कतै कुनै बहानामा मेरी प्रेमिका जस्तै
अस्तित्वमा आउन खोजिरहेका त छैनौ
ईश्वरलाई हठात् सत्य बोध भयो
र त्यसपछि पर्यन्त ऊ ‘भएन’!