म कोसिस गर्दै छु
जीवन जिउन
अभावमा मुस्कुराउन
हो म कोसिस गर्दै छु
सबै थोक रित्तिँदा
आफन्त टाढिँदा
असफलताले आफैलाई घेर्दा
आफैलाई चित्त बुझाउन
एउटा बेग्लै आशा जगाउन
हो म सिक्दै छु
जीवन जिउन।
मसँगै हुर्किएका
सँगै गुच्चा खेलेका
मेरा दौँतरीहरू
आज १२ हजार मिटर
उचाइमा पुगेर
सगरमाथा नाघेर
सात समुद्रपारि छन्
सपनाहरू पछ्याउँदै
दस नङ्ग्रा खियाउँदै छन्
म भने कोसिस मात्र गर्दै छु
आफ्नै जन्मभूमिमा
सपनाहरू देख्ने
जे पूरा हुँदैनन्
किन हुँदैनन् खोज्ने
मेरा अग्रजले दिएको
नैराश्यलाई नअङ्गाली
केही हुँदैन भन्ने भाष्यलाई नकार्दै
देश रित्तिने डरले
मातृभूमिको करले
यही गल्लीमा भौँतारिइरहेछु
म दुस्साहस गरिरहेछु
केही न केही गर्ने
स्वदेशमै जीवन जिउने।
मसँग भएको छुटलाई
देशको ब्रह्म लुटलाई
तिरस्कार गर्दै
गाली गरेर नेतालाई
हिँडेका मेरा अग्रजलाई
बेवास्ता गर्दै
असफलताले घेरिरहेको बेला
राज्यले नसम्झिएको बेला
म आफैलाई सम्झाउन
बारम्बार कोसिस गर्दै छु
जीवन जिउने
नेपाली भएरै मर्ने।