झरीको मौसम, बागमतीको किनारमा एउटा दुब्लो, काले अनि अग्लो केटो कपाल फिँजाएर झरीमा रुझ्दै थियो। बागमतीको किनारमा घुम्ने जोडी पनि देखिन्छन्, नाक थुन्दै छिः छिः कस्तो गनाएको भन्दै हिँडिरहेका छन्।
किरणलाई भने बागमती गनाएकी छैनन्, ऊ आरामले बागमतीको गति नियाल्दै छ। बादल मडारिँदा जस्तो कालो देखिन्छ उसको अनुहार पनि त्यस्तै छ। बागमतीलाई पनि त छिः छ्या हुन के रहर थियो होला र! कसैले ल्याएर फोहोर फालिदिन्छ, बागमतीलाई गनाउने बनाइदिन्छ, यसमा बागमतीको के नै दोष छ र?
कोही नाक थुन्दै चटपटे खाँदै छन्। खाएर त्यो प्लास्टिक पुनः बागमतीमै फ्याँकिदिन्छन्। बागमतीलाई कञ्चन भएर बग्न मन छ अनि त्यो किनारमा बस्ने किरणलाई पनि त सफा हुने रहर होला। या भनौँ विगतको बागमती जस्तै कञ्चन पो थियो कि ऊ पनि। बागमतीलाई जस्तै उसलाई पनि त कसैले माया गर्थ्यो कि। ऊ खोलाको किनारमै बसेर आफ्नो विगत सम्झिँदै ती जोडीलाई हेरेर खित्का छाडेर हाँस्दै छ।
ऊ पनि कसैको थियो या कसैसँग जोडिएको थियो। उनीहरूको रहर, सपना अनि भविष्य पनि त एउटै थियो। ऊ विगत सम्झिँदै कहिले रुन्छ, कहिले हाँस्छ। फोन झिकेर कहिले छोटो समयमा कैद गरिएका तस्बिर हेर्दै चिच्याउन थाल्छ त कहिले कसैको यादमा लेखिएका डायरी पल्टाउँछ। ऊभित्र आफूलाई खोज्दै छ। उसले लेखेका ती हरफमा पुरानो आफूलाई भेटाउँछ अनि बल्ल मुस्कुराउँछ।
लामो रातो महानगर यातायात लेखेका गाडी ऊ अझै सम्झिँदै छ। खलासीको चिच्याहट- 'ए बालाजु, वनस्थली, ढुङ्गे धारा, सितापाइला, दाइ जाने हो जाऊँ जाऊँ गुरु' यो आवाजसँगै ऊ विगत सम्झिँदै छ। माछापोखरी चोकमा आफूलाई खोज्दै छ ऊ तर कतै पाउन सकेन।
धुलोको मुस्लोले छोपेको यो सहरमा उसको आँखा सेतो पहिरनमा सजिएकी ऊभन्दा अलि होची, हल्का ज्यान हालेकी केटीतर्फ पर्न जान्छ। ऊ खुसीले गद्गद् छ आज, उत्साह उमङ्गले धेरै नै हर्षित छ। केही नबोली उसलाई नै खोज्दै छ, एक छिनमा बाटो काटेर आएकी उनलाई देखी ऊ मुर्छा पर्छ।
उनले उसको हात तानेर लग्दै थिइन्। अब ऊ उसको दुनियाँमा रम्दै थियो। उनीहरू दुवै जना त्यही रातो महानगर यातायात लेखेको गाडीमा चढ्छन्। माछापोखरी चोकबाट उनीहरू कतै जाँदै छन्।
'कता जाने हो थाहा छ?' उनले सोधेझैँ गर्छिन्। लजाएको किरण केही नबोली 'खै कता जाने हो र?' भनी उल्टै उनीमाथि नै प्रश्न खन्याइदिन्छ। उनी केही नबोली खिस्स हाँसिदिन्छिन्।
बालाजुबाट वनस्थली पुग्दै गर्दा उनले कोट्याउँदै सोध्छिन्, 'यो कुन ठाउँ हो थाहा छ?'
किरण फेरि लजाउँदै खै भनिदिन्छ। उनी हाँस्दै 'यही हो वनस्थली चोक' भनिदिन्छिन्। किरण आफूसँग भएको ह्यापिडेन्ट चुइगम झिकेर लाऊ भनी दिन्छ। उनी केही नबोली खिस्स हाँसेर त्यो चुइगम राख्छिन्।
जिन्दगीको पहिलो पटक किरण कसैसँग बसेर बसमा यात्रा गर्दै थियो। ऊ मलिन थियो आत्तिँदै पनि थियो। ऊ अप्ठ्यारोमा थियो। आफ्नो मनलाई सम्हाल्नु कि उनको त्यो सुन्दरतालाई! ऊ अलमलमा थियो।
किरण मौन थियो, केही बोलेकै थिएन। सायद उनले किरणको मुहारमा हाँसो चाहेकी थिइन्। त्यसैले हरेक चोकपिच्छे यो ठाउँको नाम यो हो भन्दै किरणलाई सुनाउँथिन्। बसमा भएका मान्छेहरूले खाउँला जस्तै गरेर हेरिरहेका थिए।
किरण आफ्नो मौनताबाट बाहिर निस्कनै सकेको थिएन। किरणले उनीसँग आँखामा आँखा मिलाएर नि हेर्ने हिम्मत गरेन। उनका ती सुन्दर नयन साउथ अफ्रिकी मुलुकमा पाइने सिक्रा किराको जस्तै थिए। किरण आफ्नो मौनताबाट बाहिर ननिस्किए पनि उनका ती मुलायम हात भने समाएर बसिरहेको थियो।
उनको सुन्दरतामा लिप्त भएको ऊ अब भने उनलाई मयुर डाँफे जस्तै देख्न थालिसकेको थियो। अब भने किरणले मौनता तोडिदिने निधो गर्छ र हतारिँदै प्रश्न सोधिहाल्छ, 'अनि पढाइ कस्तो चल्दै छ त तिम्रो?'
उनी एकै छिन किरणतिर हेरेर पूर्वी अस्ट्रेलियातिर पाइने कोकाबुरा चरा जस्तै खित्का छाडेर हाँस्न थालिन् र जवाफमा उम् ठिकै छ भनिदिइन्। उनीहरूको गन्तव्य छोटो नै रहेछ, बल्खुसम्मको यात्रा उनीहरू पुगिसकेछन्।
बल्खु परीक्षा नियन्त्रण कार्यालयमा उनीहरूको काम रहेछ। सरकारी काममा झन्झट हुन्छ भन्दै कराउँदै हात समातेर बाटो काट्दै थिए उनीहरू। उनी सेतो पहिरनमा सजिएकी थिइन्। उनको त्यो सुन्दरतालाई अब भने किरणले नजिकैबाट नियाल्न पाएको थियो।
उनीहरूबिच कुराकानी सुरु हुन्छ। यत्तिकैमा उनी किरणतिर हेर्दै भन्छिन्, 'घरमा बहिनी छे यार, थाहा पाई भने त आमैलाई भनिदिन्छे।'
किरण केही नबोली हाँसी मात्र रह्यो।
सरकारी कार्यालयमा समयमा काम हुने कुरै थिएन। उनीहरू त्यहाँबाट फर्किने तरखर गरे। टाउको दुख्यो मलाई भनेर उनी अलि झर्किँदै थिइन्। किरणले हत्तपत्त गएर सिटामोल ल्याइदी हाल्यो।
खाली पेटमा सिधै औषधि दियो कस्तो सिधा रहेछ, सायद उनी मनमनै सोच्दै थिइन्।
उनीहरू पुनः त्यही चक्रपथको बाटो फर्किन्छन्, जिस्किँदै, ठट्टा गर्दै। अब भने उनीहरू छुट्टिने बेला भइसकेको थियो। किरणतिर हेर्दै भनिन्, 'घर जाने बेला भयो।'
हतारिएको र आत्तिएको केटो एकाएक नाइँ भन्न पुगेछ।
'ए वनस्थली झर्ने आउँदै गर्नु है भाडा लिएर।'
'अनि कता जाने हो त?' किरणतिर हेर्दै भनिन्।
किरण पुनः एक पटक मौन भयो। सायद ऊ डराएको थियो। सायद उसलाई थाहा थिएन कता पुग्ने हो भनेर। एकै छिनपछि उनीहरू पशुपति जाने निधो गर्छन् र त्यही गाडीमा बस्छन्। अघि जस्तै आउँदै गरेको हरेक चोकको बयान दिँदै उनी किरणसँग नतमस्तक हुन्छिन्।
अब भने उनीहरू आफ्नो हरेक क्षणलाई अविरल अमर बनाउने तर्फमा थिए।
ठुलो हावाहुरीसहितको चट्याङ र पानी बर्सिन थाल्छ। विचलित भएको किरण अब भने जुरुक्क उठेर त्यो पुरानो डायरी आफ्नो झोलामा राख्छ र 'आई मिस यु' लेखेर पुनः एक पटक डाँको छोडेर रुन थाल्छ।