कविता
अधुरा सपना र मडारिएको खैरो आकाशबीच
अझै पनि देशको र युवाहरूको भविष्य
सुख्खा बालुवा बनेर आँखामा पस्न अभिसप्त छ।
भ्रष्टाचारको तावामा
'तास' भुटेर चपाउनेहरू
देशमा, बलवान भैरहेको परिस्थितिमा
‘तावा’ को तातो ओइलाउनु पर्ने आवाजहरू
निरीह एवं निम्छरा बनि रहेका छन
जहाँ
दण्डहीनताले हरेक सुधारका मुद्दाहरूलाई छाया पार्छ,
नेताहरू शक्तिको उज्यालोमा डुब्छन्,
बदलामा,न्याय आम नजरबाट गुमनाम छ।
तै पनि
भाँचिएका सपना र थकित आत्माहरूको एक हुल पाइलटहरू
खण्डहर धुलो सडकको छातीमाथि
खाली कचौरा बोकेर
लामबद्ध हुलहरूको नेतृत्व गर्दै
सत्ता प्राप्ति र नियन्त्रणको अविछिन्न रिलेमा
पेरिस डाँडाबाट बालुवाटार
अनि,
बालकोट, कोटेश्वर र बूढानीलकण्ठ हुँदै,
कहिले मानव बेचबिखनको मण्डी माथि त
कहिले सहकारी अपचलनको दूरगन्धित फोहर माथि
ओम्नी, यती र टेरामक्सका वायु यानहरू
बेजोडको बेगमा उडाइरहे छन,
र
खोज्दै छन्, सुरक्षित अवतरणका लागि
बालुवाटार, गिरीबन्धु र टीकापुरका समथर फाँटहरू।
अपसोच!
धनी र गरिब बीच समान न्यायको प्रतिज्ञा
अझै भेटिएको छैन।
सूचना पस्कने कलम जिवीहरू
टाइकून साहुजीको मनोमानीमा
मन्द मुस्कान बिछ्याउन विवस छन।
अझै,
अन्यायले हरेक ढोका ढकढक्याउँछ
बदलामा समानता र संमृद्धि
धेरै टाढा किनारमा धमिलो आश्वासन लिएर उदाउँछ।
तै पनि
स्वर्णिम सपना र आशाका सप्त रंगी फूलहरूले
आज हामीले सहीद मञ्च सिंगार्नु छ
र, पुकार्नु छ कि,
बेथितिको धमिलो छायाका कारण
संमृद्धिको नजरबाट हराएको जे सुकै होस्
गणतन्त्र दिवसमा, हामीले धेरै गर्व गर्नु छ।
तिरङ्गा मुनि, शिर झुकाएर
आफ्ना सबै शक्ति प्रयोग गरी
अन्धकारलाई उज्यालोमा परिणत गर्न
एउटा अर्को कसम खानु छ-
एकतामा एउटा अब्बल बाटो खोजेर,
गणतन्त्र दिवस कै अवसरमा
फेरि उठ्ने कसम खाएर
न्यायका प्रतीक राम शाह
अनि,
राष्ट्र भक्तिका विभूति भीमसेन थापा
फेरि जन्माउने उद्घोष गरेर
गणतन्त्रलाई फूलाउनु छ, फलाउनु छ।
त्यसैले, समयको माग सँगै
नयाँ युगको खाका कोर्न
आज, एउटा नयाँ कविता लेख्नु छ।