बिर्सेको होइन आफ्नो घरलाई
तर यहाँ सम्झिने फुर्सद पनि त कहाँ छ र?
कहिले खाडी पस्दा साहुसँग काढेको
ऋणको भारीले
घरको यादलाई बिर्साइदिन्छ
कहिले आमाको फाटेको चोली फेर्ने आसले
सम्झना त जहिले आउँछ घरको
बगेको खोलाले
आफ्नो मुहान कहाँ बिर्सन सक्छ र?
तर सम्झनाले मात्रै पनि त
घर फर्कन सकेको छैन
त्यसलाई कसैले
घर बिर्सेको छैन है भन्छ र?
पल्ला घरे कान्छा दाइले
पैसा पठाइसक्यो रे घर
आएको दुई महिना भएको छैन
म आएको चार महिना भइसक्यो
मैले अझै काम पाएको छैन
काम खोज्न यताउता भौँतारिइरहँदा
घरमा कुरा गर्न पाएको छैन
फोन गरौँ त कसरी घरमा
साहुले ऋण माग्ने बेला भयो
मैले यहाँ काम पाएको छैन
आमा सोच्दी हुन् मेरै बारे
पुर्पुरोमा हात राखी
एउटै छोरो थियो
बिदेसियो धनको लोभमा
धन कमाउने आशा बोकी
कमाउँला धन, तिर्ला ऋण,
सुखमा राख्ला एक दिन
एउटा घर बनाई भनी
बुन्दी हुन कल्पनाका तानाबाना
सम्झी यहीँ परदेशीलाई।