शान्त छ, सुनसान छ
एउटा गाउँको सडक
मात्रै लमतन्न पसारिएको छ
कोही बटुवा आउलान्
चलमलाउलान्
कुनै गाउँले आउलान्
किलकिलाउलान्
पर्खिरहेछ एक तमासले
एउटा गाउँको सडक
स-साना भुरा आउँछन्
सडकभरि छरपस्ट पतिङ्गर
स्वार्र स्वार्र बजाउँदै
कहिले हिँड्छन्
कहिले दौडन्छन्
तर भारी मान्दैन
ऊ कुरिरहन्छ बलिष्ठ पाखुरा
र भुसतिघ्रे आहतहरू
पर्खिरहन्छ
एउटा गाउँको सडक
बुढा बा आमाका ट्वाक ट्वाक लौरोसँगै
सुस्त मन्द र स्वाद बिनाका पाइलाहरू
ऊ गन्छ र सोध्छ
बा! अनि भन्छ आमै
म तिम्रा आस लाग्दा
गन्तव्यका स्वाद लिन पाउँला र?
कोही पाउजु बजाउँदै
छमछम गर्दै आउला र?
गुन्जँदैन गाउँमा मादल
र घिन्ताङका भाखाहरू
बजेनन् मुर्चुङ्गा
खैँजडीका बाजाहरू
अनि अब थर्कँदैन होला रनबन
बाँसुरीका धुनमा पाखाहरू
नाच्दैनन् आँगनमा मारुनीहरू
तैपनि कुरिरहेछ
गाउँको एउटा सडक
पर्खिरहेछ परिवर्तनहरू
जवानले बुट बजार्दै
उसकै छातीमा परेड गरेका कल्पनामा
उसलाई थाहा छ
परदेशी विदेशी भइसकेको
र पनि ऊ पर्खिरहन्छ
मौनतामा रमाउँदै
एउटा गाउँको सडक।