रातको १ बज्न लागेको थियो। त्यत्तिका राति हुँदा पनि आँखामा निद्रा परेको थिएन। एकान्तपनाले बेस्मारी समात्यो। कोठामा पल्टिरहन निकै पट्यार लाग्यो। त्यसैले उठेर कोठा बाहिर निस्किने निर्णय गरेँ।
मैले कोठाको ढोका बन्द गरेँ। म बाहिर निस्किँदा १ बजेर ११ मिनेट बितेको थियो। बाहिर चारैतर्फ अन्धकार छाएको थियो। अन्धकार मौन थियो। तर मौन भएर पनि ऊ शान्त भने थिएन।
दिवा समयमा निकै हलचल भइरहने बाटो पनि त्यति बेला एक्लिएको थियो। उसको छेवैमा केही पोलहरू जेलिएका तार बोकेर ठडिएका थिए। म सरासर एक्लिएको बाटोतर्फ लागेँ। अब हामी एक्ला एक्ला मिलेर दुई भयौँ। मैले केही नसोची आफ्नो शरीरको भार बाटोलाई दिएँ।
आँखा चिम्म पारेँ। समय स्थिर भएको भान भयो। मलाई अतीतका नकारात्मक पक्षहरूले एक एक गर्दै घेर्न थाले। मलाई धुलोको पातलो तहले छोपेजस्तै लाग्यो। आँखा उघार्न खोजेँ। असमर्थ भएँ। ममाथि अर्को तह पनि थपिएको भान भयो। शरीरमा झनै बढी बढी भार परेजस्तो लाग्दै गयो। आँखा अझै उघ्रिन सकिरहेका थिएनन्।
म डराएँ। डरकै बिचमा मैले कोही मेरो नजिक आउँदै गरेको आभास गरेँ। मेरा आँखा अझै उघ्रिएका थिएनन्। म रातको अन्धकारको पनि अन्धकारमा थिएँ। बन्द आँखाले जताततै कालो छाया देखिरहेको थिएँ।
त्यही कालो छायाको बिचमा कसैको आकृति बन्न थाल्यो। बन्दै गरेको आकृति कसको हो, मैले ठम्याउन सकिनँ। म समयको अभाव भोग्दै गरेको घुमन्ते जस्तै भएँ।
आकृतिको आकार बढ्दै जाँदा मेरो हृदय डर र कौतुहलताको मिश्रणले धड्किरहेको थियो। मैले मिश्रण भएर उत्पन्न भएको भावनालाई आफ्नो काबुमा पार्न खोजेँ।
'त्रिविक्रम!' कसैले बोलाएजस्तो लाग्यो। रातको समय भएर होला, आवाज भिन्न किसिमको थियो, भारी थियो, डरलाग्दो थियो।
'हजुर...' मैले निकै सङ्घर्ष गरेर भनेँ। मलाई अझै केही भन्न मन थियो, सकिनँ। मेरा आँखा अझै उघ्रिएका थिएनन्। मलाई बोलाउने मान्छे को हो, त्यो पनि थाह थिएन।
मेरो 'हजुर' को उत्तर आएन। म पुनः मौनतातर्फ प्रवेश गरेँ।
लामो लामो सास लिएँ। मन शान्त बनाउने प्रयास गरेँ। निकै प्रयास गरेपछि केही हदसम्म मन शान्त भयो। आँखा उघार्ने प्रयास गरेँ। निकै गाह्रो भयो। तर यसपालि भने आँखा उघ्रिए।
मेरो सामुन्ने आकाश फैलिएको थियो। मलाई धर्तीले आकाश देखायो। म आकाशको ताराहरूमा भुल्न थालेँ, उघ्रिएको जूनलाई नियालेँ। आकाशले मेरो धर्ती बिर्साइदियो। मैले केही बेर आफैँलाई बिर्सिएँ।
यसो घडी हेर्न खोजेँ। अन्धकारले छेक्यो।
बाटोबाट शरीर बिस्तारै उठाउन खोजेँ। निकै गाह्रो भयो। शरीर निकै थकित भएको आभास भयो। पसिनाले शरीर निथ्रुक्कै भिजेको थियो। पसिनाको भारले शरीर झनै भारी भएको थियो।
मैले केही कुरा सोच्न सकिनँ। मेरो मस्तिष्क खाली भयो। त्यहाँ अन्धकार छायो। मैले बाँकी केही कुरा सोच्न चाहिनँ। म उठेर पछाडि नफर्की सरासर आफ्नो कोठातर्फ लम्किएँ।
फर्कँदा कोठा निकै टाढा जस्तो लागेको थियो। कोठाको ढोका उघ्रिएको नै रहेछ। सरासर कोठाभित्र पसेँ। ढोका लगाउने प्रयास गरेँ। ढोका निकै साह्रो लाग्यो। निकै बल गरेर बल्ल बन्द गर्न सफल भएँ।
झुल थोरै माथि उचालेर खाटमा पस्न खोजेँ। तर कस्तो अचम्म, मलाई खाटमा कोही भएको भान भयो। म आत्तिएँ। खाट बाहिर निस्किएँ। म मुटुको धड्कनको आवाज सुन्न सक्थेँ। मुटुको ढुकढुक र घडीको टिकटिक, दुवै सँगसँगै भइरहेको थियो।
एक्कासि मेरो पछाडि कोही उभिएजस्तो लाग्यो। पछाडि फर्कने प्रयास गरेँ। मुन्टो बटारिएन। मेरो घाँटीमा कसैको हात पर्यो। म पीडामा छटपटाउन थालेँ। मेरो छटपटीले हात हटेन। बरु झन् बढी कस्सियो। म फुत्किन खोजेँ तर असमर्थ भएँ।
मेरो श्वास सुरुमा बढ्दै गयो। बिस्तारै स्थिर हुँदै घट्न लाग्यो र अन्त्यमा गएर रोकिन खोज्यो। मेरो धर्ती बास सकिन लागेको महसुस भयो। मेरो जीवनको पहिलो अध्यायको समापन हुनै लागेको महसुस भयो। म बेहोसिएँ।
अचानक मेरो घाँटीमा भएको पकड हलुका हुँदै भयो। बेहोसीले पनि छाड्दै गयो। म अघि बाटोमा पल्टिएझैँ खाटमा पल्टिएको रहेछु। मैले जीवनदान पाएको महसुस गरेँ।
आँखा उघार्ने प्रयास गरेँ। आँखा उघ्रिए। सुरुमै घडी चियाएँ। ४ बज्नै लागेको रहेछ। उठ्ने प्रयास गरेँ। असहज भएको थियो, तर पनि प्रयास विफल भएन। खाटमा बसिरहने हिम्मत भएन। सरासर बाहिर निस्किएँ। ढोका लगाएँ या लगाइन याद भएन। बाथरुम गएर हात धोएँ। गोडा धोएँ। मुख पखालेँ।
म अहिले कोठा अगाडि आएर बाटोतर्फ आँखा डुलाउँदै छु। जुनकिरी जस्तै धिपिक्क धिपिक्क गर्दै बत्ती बलिरहेको छ। म ताराहरू गन्दै छु। बेलाबेला जूनले मलाई बादलमा लुकेर हेर्दै छ। बिहानी चकमन्न छ।
मैले अहिले त्यही चकमन्नतामा आफूलाई उभ्याइरहेको छु। म बेलाबेला आफूलाई खुला भएर हेरिरहेको छु। म आफूलाई प्रेम गरिरहेको छु। म अब यहीँ आफ्नो प्रेमको सर्बत आफूलाई पिलाउनेछु। म यहीँ आफूलाई बिलाउनेछु।
म अब यहीँ हराउनेछु। आफ्नो साथमा। मस्त भएर। आफैँ भएर। आफ्नै भएर। अन्धकारको यात्रामा।
प्रिय जून,
तिमी एकै छिन आँखा चिम्म गरिदेऊ है
प्रिय बादल,
तिमी एकै छिन ताराहरू छेकिदेऊ है।