म राजनीति हुँ
मलाई गल्ली गल्ली हुँदै सदनसम्म गरिन्छ
परिवारमा गरिन्छ, समाजमा गरिन्छ
विकासमा गरिन्छ, विनाशमा गरिन्छ
जन्तीमा गरिन्छ, मलामीमा गरिन्छ
हो, त्यही राजनीति हुँ।
अनपढदेखि विद्वानले गरे
दासदेखि मालिकले गरे
विद्यार्थीदेखि शिक्षक
किसानदेखि वैज्ञानिक
सय हुँदै हजारौँले गरे
म राजनीति
कसैले नीतिसहित गरे
कसैले मेरो मर्म भुलेर आफ्नो लागि गरे
भरसक सबैले गरे
म त्यही राजनीति हुँ।
मैले स्याबासी पाएँ
पटक पटक अपमान पाएँ
गल्ती नगर्दा पनि तिरस्कार पाएँ
म आफ्नो बचाउमा बोल्न सक्दिनँ
म लाचार छु
मेरो पहिचान फेरेका छन्
कतिले मान सम्मान फेरेका छन्
घर फेरेका छन्
जहान फेरेका छन्
तर मलाई फेर्न कोही अघि सरेनन्
यिनका हजुरबुवाले गरे
बुवाले गरे, छोरा गर्दै छन्
मलाई डर नाति पनि यसै गरी गर्ने छन्
किनकि
म लाचार, असहाय राजनीति न हुँ।
मेरो आडमा कतिले डलर कमाए
डलरकै आसमा मेरो मर्म बेचे, देश बेचे
हत्या, हिंसा, बलात्कार के के गरे
सबैमा मेरो आड लिए
त्यसैले होला सबै भन्छन्
नालायक राजनीति,
म अब भन्न सक्दिनँ लायक छु भनेर
किनकि मलाई पनि बेचिसकेका छन्
म गुलाम भएको
राजनीति हुँ
मेरो अलग पहिचान छैन।
म चाहन्थेँ राजनीति गर्नेहरू
हिट्लर नबनुन्, सबै त्यही बने
बुद्ध बन्नेहरू यति ठुलो जमातमा कोही छैन
किनकि थाहा छ
मलाई शान्तिको आभास गराउने
कोही राजनीतिज्ञ जन्मेकै छैनन्
यहाँ परेवा उडाउने भन्दा
गर्धन उडाउने दिनानुदिन बढ्दै छन्
आफ्नै आमा, दिदी, बहिनी, छोरी
लुटिरहेका छन् तर किन
जताततै मेरो मात्रै नाउँ बेचिरहेका
के न्यायालय सबै साँच्चिकै अन्धा भए
अब मलाई न्याय चाहिएको छ।
म राजनीति हुँ
मैले रुनु हुन्न
अनशन, धर्ना, बन्द, हडताल गर्नु हुन्न
म आफैँ गर्न पनि त सक्दिनँ
किनकि मेरो मर्म छ, नीति छ, विधान छ
बिन्ती म न्यायको पर्खाइमा छु
म कसैको प्रिय, कसैको अप्रिय
कसैको आफ्नो, कसैको पराई
कसैको हितैषी, कसैको शत्रु त कसैको मित्र
त्यही लाचार, पीडित
पल पल न्याय खोजिरहेको
त्यहीँ राजनीति हुँ।