कविता
सम्झन्छु, ती दिनहरू
जब म,
मन पराउँदिनँ थिएँ बुवालाई
बुवा देख्ने बित्तिकै
म आफ्नो कोठामा छिर्थें।
मेरा स–साना उपलब्धिमा
बुवाले कहिल्यै
प्रोत्साहन दिनुभएन
न त कहिल्यै
ताली बजाउनु भयो।
दस रुपैयाँ माग्दा
सधैं, पाँच मात्रै दिनु भयो
कतै जाँदा
खुट्टा दुख्यो बुवा भन्दा
सुस्ताउन लगाउनु भयो
तर
बस, ट्याक्सी केही
चढाउनु भएन।
घाममा हिँड्दा होस् वा पानीमा रूझ्दा
उहाँले सधैं
नदेखे झैं गर्नुभयो
मनमनै, मलाई रिस उठ्थ्यो बुवासँग—
खेल्दा खेल्दै म लड्थेँ
नदेखे झैं गरेर बुवा
बस्नु हुन्थ्यो अखबार पढेर
म आँसु पुछ्दै उठ्थेँ
बुवाको माया नपाएको चोटले
लड्दाको पीडाभन्दा बढी दुख्थ्यो।
तर आज,
जीवनको उत्तरार्द्धमा
बुवाको निधन पश्चात
फर्केर हेर्दा,
बल्ल बुझ्दैछु
बुवाका अर्थहीन लाग्ने,
रिस उठाउने र निरास बनाउने
ती साना—साना प्रयास त
मेरा लागि, बुवाले कोर्नु भएका
जीवन दर्शन पो रहेछन्।
थाक्दा, सुस्ताए हुन्छ यात्रामा
तर लिनु हुन्न छोटो बाटो
थाहै नपाई मैले
बुझ्न सकेको रहेछु।
संघर्ष गर्दा
घाम–पानी खेप्न सक्ने भएछु
अघि बढ्दा, लडेर पनि
उठ्न सक्ने भएछु
कमाइसँगै
बुझेको रहेछु पैसाको महत्व—
बुवाको प्रोत्साहन स्वरूप
एउटा धाप पाउने आसमा
यति धेरै परिश्रम गरेछु
त्यसैले सकेछु
जीवन यात्रामा पनि
धेरै अघि बढ्न।
म लडेको पीडासँगै
बुवाको मन कति पोल्थ्यो होला
देखेर पनि नदेखे झैं गर्दा
बुवाको आँखा
कति बिझाउँथ्यो होला
तर मलाई जीवन बुझाउन,
बाँच्ने सूत्र सिकाउन
कति कठोर हुनु भएको रहेछ बुवा।
आफ्नो मुटुमा ढुंगा राखेर
ढुंगाजस्तै बलियो
बनाउनु भएको रहेछ, मलाई
त्यो सबै बुवाले गराएको
अभ्यास पो रहेछ
जिन्दगी बाँच्नका लागि।
त्यो बेलाको मेरो
उहाँप्रतिको सारा द्वेष
उहाँको आदर र सम्मानमा
यी आँखामा टल्किरहने छ सधैं
बुवाको त्यो जीवनदर्शन
कहिल्यै तिर्न नसकिने
ऋण बनेको छ आज
झन् अब,
उहाँको अनुपस्थितिमा त
बुवाको त्यो ऋण,
कसरी तिर्ने होला।