दाजुले बिहानै फोन गर्नु भयो र भन्नु भयो, 'माइला, अर्को आइतबार बुबाको श्राद्ध छ है, सम्झाएको।'
त्यो कुरा पोहोर सालको थियो। म श्राद्ध गर्ने कि नगर्ने अन्योलमा परेँ। एउटा मनले श्राद्ध गर भन्यो, अर्को मनले नगर भन्यो। नगर भन्ने मनले प्रश्न गर्यो- 'सात समुद्रपारि बुबा आमाको श्राद्ध गर्ने कुरा कत्तिको सहज र स्वाभाविक हुन्छ?'
अमेरिकामा नेपाली पात्रोअनुसार श्राद्ध गर्दा एक दिन ढिलो हुन्छ। त्यसले काम गर्छ। कपाल खौरनु पर्ने हुन्छ। भोलिपल्ट काममा जाँदा देख्ने जति सबै सहकर्मीले 'यु आर बाल्ड' भन्छन्। अनि उनीहरूलाई किन कपाल खौरेको भनेर सबै कथा सुनाउनु कि या एउटा राम्रो बहाना बनाउनु र टार्नु। सबैले टारेको उत्तरमा चित्त नबुझाउन सक्छन्। कपाल नकाटी श्राद्ध गर्छु भनेर गुरुलाई भन्दा उनले के भन्लान्? मान्लान् या नमान्लान्। यदि श्राद्ध बिदाको दिन परेन भने कम्तीमा एक दिन बिदा लिएर घर बस्नु पर्ने हुन्छ, त्यो पनि बूढाबूढीले नै।
श्राद्ध नगर्दा के हुन्छ? श्राद्ध नगरेर सिदा मात्र गर्दा पनि हुन्छ जसरी बुबा आमाले नभ्याएको बेला गर्ने गर्नु हुन्थ्यो अथवा मन्दिर गएर भगवानको दर्शन गर्दा पनि हुन्छ। त्यो पनि नभए कुनै गरिब दुखीलाई खानेकुरा बाँडे पनि हुन्छ वा सामाजिक कार्य गरे हुन्छ। मरेर गएका बुबाले देख्ने होइन। आफन्तले देख्दैनन्। दाजु भाइले विदेशमा सम्भव भएन होला भन्ठान्छन्। फेरि यो अर्काको लागि गर्ने कुरा पनि त होइन।
दाजुले फोन गरेको पहिलो दिन मनमा यस्तै कुरा खेले। दिमागमा तनाव भयो। मनलाई एक प्रकारको भयले अशान्त बनायो- श्राद्ध नगरेको थाहा पाउने हो भने बुबाले के भन्नु हुन्थ्यो होला?
मेरो यो समस्यालाई कसले निकास देला? साथीभाइलाई सोध्न के जानु! के भन्ठान्लान्। बरु आफ्नै जीवनसाथीलाई सोध्छु भन्ने निधो गरेँ। जे उत्तर पाए पनि पचाउन त सजिलो हुन्छ। त्यसपछि मैले श्रीमतीसँग सोधेँ- 'म श्राद्ध गरूँ कि नगरूँ?'
'त्यो मैले जान्ने कुरा होइन। तपाईंको कुरा हो। आफ्नो अन्तरमनलाई सोध्नू,' श्रीमतीले ठाडो जवाफ फर्काइन्। जीवन साथीले मेरो दुबिधा ग्रस्त मनको समस्या समाधान गर्ने सूत्र सिकाउँछिन् कि भनेको उल्टै आफैलाई अर्को प्रश्न सोध्ने पो बनाइन्।
अर्को मनले भन्यो- श्राद्ध गर्नुपर्छ। बुबा र आमाको गरेर जम्मा वर्षको दुई पटक श्राद्ध आउँछ। यत्रो जीवन दिने आफ्ना जन्म दाताको लागि वर्षमा दुई दिन पनि छुट्टाउन नसक्ने हो भने वहाँहरूलाई सदाको लागि बिदा गरेको दिन झारेका आँसुको के अर्थ? फेसबुकको भित्तामा 'मिस यु' भन्दै फोटा टाँस्नुको के अर्थ? मरेका मान्छेसँग आशीर्वाद माग्नुको के अर्थ? बाबुआमा मरेर खरानी भएदेखि परलोकमा वहाँहरूको आत्माले चिर शान्ति पाओस् भनेर कहिल्यै नदेखेको ईश्वरसँग याचना गर्नुको के अर्थ? आफ्नै जीवन पाएकोमा गौरव गर्नुको के अर्थ?
दाजुले खबर गरेको दोस्रो दिनभरि यस्तै कुराहरू मनमा खेलिरहे।
आफूले चिने जानेका विदेशमा बस्ने मानिसहरूले के गरेका छन् भन्ने कुराको चियो गरेर अर्को दिन बिताएँ। धेरैको थाहा हुने कुरा भएन। चिने जानेकाहरूको आआफ्नै तरिका गरेका रहेछन्। कसैले तिथिको दिन सिदा गर्ने गरेको पाएँ। कोही सामाजिक कार्यमा संलग्न भएको पाएँ। धेरै जसोले केही पनि नगर्ने गरेको पाएँ। तर मनले भन्यो- 'यो अरूले के गर्छन् भनेर त्यसैको नक्कल गर्ने कुरा होइन भाइ, यो आफ्नो श्रद्धाको कुरा हो। आफ्नो आस्थाको कुरा हो। यो नितान्त आफ्नू कुरा हो।'
दुबिधामै शुक्रबार बिहान भइसकेछ। आइतबार श्राद्धको दिन। दाजुले सोधिराख्नु भएको थियो, 'श्राद्ध गर्ने भइस् भाइ?'
मसँग उत्तर थिएन। दाजुलाई भनेँ, 'सोच्दै छु।'
दाजुले भन्नु भयो, गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ।
दाजुको भनाइले भित्र छोयो। दाजुले बुबा बितेको वर्षभरि नै सेता लुगा लगाउनु भयो, घरमा पकाएको मात्र खानु भयो। सात्त्विक भोजन गर्नु भयो। दाजु जत्तिकै जिम्मेवार आफूले ती केही पनि गरिएन। आखिर दाजुका पनि बाध्यता थिए होला। अवरोधहरू थिए होला। दाजुलाई पनि थाकेर घर आएको दिन तात्तातो चिकेन रोस्ट खान मन लाग्थ्यो होला। दाजुलाई पनि मैले जस्तै घुम्न गएर कपडा फेरी फेरी फोटा खिचेर सामाजिक सञ्जाल रङ्गाउन मन थियो होला। तर वहाँले त ती सबै कुराहरू थाँती राखेर बुबाको नाममा एक वर्ष समर्पण गर्नु भयो। अब गर्नु पर्ने नियमित श्राद्धको तयारीमा जुट्नु भएको छ।
त्यति मात्र होइन, म विदेशीलाई सम्झाउन पनि भ्याउनु भएको छ। सात समुद्र पारिबाट मनमा जे लागे पनि आज दाजु मलाई श्राद्ध गर्नै पर्छ भन्न सकिराख्नु भएको छैन। मेरो विदेशी परिचयले दाजुलाई अन्तर्मनको आवाज बोल्न अवरोध गरिरहेको मैले महसुस गरेँ।
हो, हाम्रो संस्कारले गर्नु पर्छ भनेका धेरै जसो कुरामा तर्कले कुनै ठाउँ पाउँदैन। कत्ति कुरा वाहियात लाग्छन्। कति कुरा फजुल लाग्छन्। संसारका कुनै धर्म पनि तर्कले चलेका छैनन् तर दुनियाँमा धर्मले मानिसहरूलाई जीवनशैली दिएको छ। अनुशासन दिएको छ। आफ्नो पना दिएको छ। आज पनि अमेरिकामा मुस्लिम महिलाले बुर्का ओढिरहेका छन्। संसारभरिका क्रिश्चियनहरूले डिसेम्बरमा क्रिसमस ट्री सजाउन छोडेका छैनन्। आज पनि स्यान्टाले गिफ्ट लिएर आउँछन् भन्ने कुरामा प्रश्न गरिएको छैन। यी यावत कुराहरू मनमा शुक्रबार दिनभरि खेलिरहे।
शुक्रबार साँझ भएपछि मैले आफैँलाई प्रश्न गरेँ- म को हुँ? मेरो परिचय के हो? के अमेरिकन नागरिकता मेरो परिचय हो? आज म जे छु त्यो मलाई अमेरिकन संस्कारले बनाएको हो? मलाई जन्म दिने, हुर्काउने, बढाउने, फलाउने अनि फुलाउने संस्कारप्रति मेरो जिम्मेवारी छैन? आजको मलाई एकछिन बिर्सिएर अनि आजको मेरो दैनिकीलाई एकछिन थाँती राखेर मलाई हुर्काउने संस्कृतिको निम्ति एक घण्टा समय दिन मलाई केले रोकेको छ?
त्यही साँझ मैले श्राद्ध गर्ने निधो गरेँ। तर आइतबारको श्राद्ध गर्न दुई दिन अगाडि पुरेत खोज्दा पाइएला र! मलाई आत्मविश्वास भएन। श्रीमती व्यङ्ग्य गर्दै थिइन्- 'कस्तो ठिक समयमा निर्णय लिन सक्या, मान्ने पर्छ हजुरको काम गराइलाई।'
हो म बढी नै अन्योलग्रस्त मान्छे हुँ।। अन्तिम समयमा कुनै पनि काम गर्ने निर्णय गर्दा त्यसले दिने तनावको लामो समयदेखिको भुक्तभोगी तर कहिल्यै नचेतेको। मैले हतार हतार स्वामी अनन्तलाई फोन लगाएँ तर फोन उठेन। त्यसपछि एउटा टेक्स्ट मेसेज पठाएँ। अरू दुई जना गुरुहरूलाई फोन गरेँ। दुवै जनाले नभ्याउने जवाफ दिनु भयो।
मन पश्चात्तापले जलिरह्यो। दिमागमा एउटै कुरा खेलिरह्यो- मैले श्राद्ध गर्नु पर्थ्यो। समयमा निर्णय गर्न सक्नु पर्थ्यो।
राति अबेरसम्म निन्द्रा लागेन। ओछ्यानमा सुतेर बुबाले संस्कृतका श्लोक पढाएको सम्झेँ, आमाले गुण रत्न माला गुनगुनाएको सम्झेँ। व्रतबन्ध गर्दा बुबाले गायत्री मन्त्र सुनाएको क्षण भनेको सम्झेँ- ' माइला, ठुलो भएर जहाँ गए पनि आफ्नो संस्कार र संस्कृति कहिल्यै नभुल्नू।'
राति कति बेला निदाएँ थाहा भएन। बिहान उठेर पहिलो काम फोनमा गुरुको सन्देश छ कि भनेर हेरेँ। केही आएको थिएन। शनिबार बिहान भएकोले सधैँझैँ साथीहरूसँग टेनिस खेल्न निस्किएँ। मन पटक्क खेलमा जान सकेन।
एक घण्टा टेनिस खेलेर घर फिर्कँदै थिएँ। जग्लरको गोजीमा फोन बज्यो। गुरुको फोन थियो। मन प्रफुल्ल भयो। गुरुले बिहान ७ बजे गर्न सकिन्छ भने आउन सक्ने बताउनु भयो। मैले हरि सरसँग कपाल काटी मागेँ।
आइतबार स्नान गरेँ, शरीरको माथ्लो भागमा सेतो कमिज लगाएँ अनि तल्लो भागमा सेतो कछाड। जनै फेर्न भनेर खोजेँ कतै भेटिनँ। श्रीमतीले नेपालबाट आउँदा ल्याएको सुटकेसको एक कुनाबाट बल्लबल्ल एउटा पुरानो जनै फेला पारेर दिइन्। त्यति गरेपछि म श्राद्ध गर्न तयार भएँ।
जीवनमा पहिलो पटक आफैँ कर्ता भएर कुनै धार्मिक कार्य गर्न लागेको थिएँ। मनमा केही सङ्कोच थियो अनि केही उत्साह। भनेकै समयमा अनन्त गुरु आइपुग्नु भयो।
श्राद्धका विधि र प्रक्रिया अनेक थिए। कहिले सभ्य हुनु पर्ने, कहिले असभ्य हुनु पर्ने। कहिले आचमन गर्नु पर्ने, कहिले दान गर्नुपर्ने। बारम्बार फूल, अक्षता र चन्दन चढाइरहनु पर्ने। गुरुले अह्राइरहनु भयो, मैले वहाँले भनेअनुसार गरिरहेँ। कुनै कुनै कुरा गर्न नजान्दा श्रीमती छेउमा बसेर छेड छाड गरिरहन्थिन्। गुरु मुसुमुसु हाँस्दै मलाई सिकाउनु हुन्थ्यो। नजिकै सोफामा बसेर गुरु र मैले गर्दै गरेका कुराहरू नियालिरहेकी छोरीले छेउमा आएर सोधी- 'बाबा, तपाईँ मरेपछि मैले पनि यो सब गर्नुपर्छ?'
छोरीलाई फ्याट्ट उत्तर फर्काउने शब्द आएनन्। गुरुको अनुहार हेरेँ। वहाँ पनि केही बोल्नु भएन। छोरीको प्रश्नले झन् धेरै प्रश्नहरू जन्माए। एउटा सिदा उत्तर हुन सक्थ्यो, छोरीले गर्नु पर्दैन। तर उनले किन भनेर सोध्ने छिन् अनि के उत्तर दिने? उसका लागि बाबा आमा दुवै बराबर। हाम्रा लागि पनि छोरा छोरी दुवै बराबर। तर हाम्रो संस्कारले बनाएको यो विभेदपूर्ण नियम सुझाउने शब्द मसँग तुरुन्त भएन। 'श्राद्ध सके पछि म तिमीलाई भन्छु' भनेर छोरीलाई सम्झाएँ र आफ्नो काममा तल्लीन भएँ।
श्राद्ध गरिरहँदा एउटा बेग्लै अनुभूति भइरहेको थियो। म आफूले भोग्दै गरेको दैनिकीबाट बिलकुल बाहिर थिएँ। गर्नुपर्ने कुराहरू अत्यन्तै सामान्य थिए तर धेरै थिए। सम्पूर्ण ध्यान ती कार्यमा लगाउनु पर्यो। मलाई लाग्यो यो एउटा फरक खालको ध्यान रहेछ। ती कुराहरू गरिरहँदा मैले कुनै मानसिक र शारीरिक दबाबको महसुस गरिनँ। मन र दिमाग एकै ठाउँमा आएका थिए। मलाई रमाइलो लागिरहेको थियो।
एउटा यस्तो संस्कार जसमा विज्ञान र तर्कले काम गर्दैन तर कुनै पनि कुरा किन गर्ने भन्ने कुराको उत्तर छ। त्यसको आफ्नै एउटा नियम छ र गर्ने तरिका छ। त्यो श्राद्धले कमसेकम एक छाक भए पनि मलाई निराहार बस्ने बनाएको थियो र आफूलाई कर्म दिने बाबुलाई सम्झने बहाना दिएको थियो। सबैभन्दा ठुलो कुरा सात समुद्रपारि पनि मलाई मेरो संस्कार र संस्कृतिसँग जोडेको थियो।